उत्पादन शुरु भो पङ्गास जातका माछाको भुरा

उत्पादन शुरु भो पङ्गास जातका माछाको भुरा


सनिउल्ला धोबी, कपिलवस्तु

पङ्गास (बैखी) जातको माछाको भुरा उत्पादन कार्य सफल भएको छ । कपिलवस्तुको शिवराज–२ मा रहेको खान एकीकृत मत्स्य फार्म तथा ह्याचरीले नेपालमा पहिलोपटक सो जातका भुरा उत्पादन गरेको हो । नेपालमा सर्वाधिक माग रहेको ती जातका भुरा उत्पादन नहुँदा भारत र बङगलादेशबाट आयात हुँदै आएको थियो ।

पहिलो पटकमा ५/६ लाख भुरा उत्पादन भएको सो ह्याचरीका सञ्चालक फरहान अकबाल खाँनले जानकारी दिनुभयो । माछा उत्पादक ह्याचरी व्यवसायीले धैरेपटक प्रयास गर्दासमेत सफलता हासिल गर्न नसकेपछि बङ्गलादेशबाट चिकित्सक झिकाइ उत्पादन गरिएको उहाँ बताउनुभयो ।

भारत र बङ्गलादेशबाट ल्याइने एक किलो माछाको भुरामा एक हजार ३०० हुन्छ भने नेपालमै उत्पादन गरेको भुरा एक किलोमा ८०० हुन्छ । बङ्गलादेशका माछा चिकित्सक सपनले ६ महिनाको मेहेनतले ह्याचरीमा भुरा उत्पादन भएको जानकारी दिनुभयो । नेपालमा सिलभर, विगहट, कामन, ग्रास, रोहुु, नैनी जातको भुरा उत्पादन हुँदै आए पनि सो जातको माछाका भुरा पहिलोपटक ६ लाख तयार हुने चिकित्सक सपनले बताउनुभयो । बजारको मागअनुसार अरु भुरा उत्पादन गरिने उहाँले जानकारी दिनुभयो ।

अत्यधिक खपत हुने माछाका भुरा यहाँ उत्पादन नहुँदा वार्षिक रूपमा नेपालबाट करिब पाँच करोडको भुरा भारत र बङ्गलादेशबाट आयात हुँदै आएको थियो । खानामा स्वादिलो, कडा नहुने, कम समयमा उत्पादन हुने, जाडोमा समेत उत्पादन गर्न सकिने र करिब सात महिनामा एक किलोको हुने भएकाले सो जातका माछाको माग बढेको बताइएको छ ।

पङ्गास माछा

यो जातको माछाको शरीर लामो, कत्लाविहीन हुन्छ । टाउको केही सानो, मुख चौडा र गिजामा स–साना तिखा दाँत हुन्छन् । आँखा केही ठूलो, ओठमा दुई जोडी जुङ्गा, पखेटा केही खैरा हुन्छन् । ल्याटरल लाइनसँगै माछा सानो छँदा कालो धर्सा र ठूलो भएपछि सेता लामा धर्सा देखिन्छन् । पङ्गास माछाको प्रमुख आहारा भनेको प्लेटदाना हो । यसलाई शारीरिक तौलको आधारमा दुई–तीन किलोका दरले दैनिक रूपमा दाना दिनुपर्छ ।

पङ्गासियसका माछाको पालन प्रविधि एक जातीय माछापालन मनोकल्चरको रूपमा गरिन्छ । प्रोटिन भएको प्लेटदाना र अन्य व्यवस्थापन राम्रो मिलाउन सक्दा करिब सात महिनाको अवधिमा बिक्रीयोग्य साइज एकदेखि सवा किलोको माछा बनाउन सकिने बताइएको छ ।