एचआईभी सङ्क्रमित बालबालिकालाई राहत सहयोग प्रदान

एचआईभी सङ्क्रमित बालबालिकालाई राहत सहयोग प्रदान


मूल कार्यालय ताइवानमा रहेको ‘साउण्ड अफ हिमालय’ नामक संस्थाले एचआइभी सङ्क्रमित ३५ जना बालबालिकालाई राहत उपलब्ध गराएको छ । काठमाडौंको रामकोट (सीतापाइला, स्वयम्भू) स्थित ‘पुनर्बल प्लस’मा आश्रय लिइरहेका बालबालिकालाई साउण्ड अफ हिमालयका मनकारी समाजसेवी कर्मा धीनभुपबाट प्राप्त राहत सहयोग उपलब्ध गराइएको हो ।

‘पुनर्बल प्लस’ यस्तो संस्था हो जहाँ आफ्ना अभिभावकबाट एचआईभी सङ्क्रमित हुन पुगेका बालबालिकाहरूले आश्रय पाइरहेका छन् । ५ देखि १८ वर्षसम्मका ३५ जना बालबालिका हाल संस्थामा रहेका छन् ।

२० बालिका र १५ जना बालकहरू मध्ये ३१ जनाले स्थानीय जनउदार माविमा र चार जनाले कामना कलेजमा अध्ययन गरिरहेका छन् ।

लकडाउनको अवस्थामा उनीहरू खानेकुराको अभाव झेलिरहेका थिए । उनीहरूको यस पीडालाई मध्यनजर गर्दै नेपाल ताइवान एसोसिएशनको तर्फबाट नेपालका लागि संयोजक समेत रहेका सुवोध प्रधान, समाजसेवी केदारमान सिङ तथा अन्य सहकर्मी अभियन्ताहरू प्रवीन श्रेष्ठ, किशोर राणा, निर्मल श्रेष्ठ, नेमेन्द्र प्रधानाङ्ग, अमृत तुलाधरहरूको अग्रसरतामा एचआईभी सङ्क्रमित बालबालिकालाई राहत वितरण गरिएको हो ।