जोखिममा वैदेशिक रोजगारी : नेपाललाई अवसर

■ लक्ष्मण प्रसाद खतिवडा



विश्वको कुनै एक मुलुकमा भएको श्रमशक्ति रोजगारीका लागि अन्य मुलुकमा गई श्रम गर्ने कार्यलाई वैदेशिक रोजगारी भनिन्छ । वैदेशिक रोजगार ऐन २०६४ मा कामदारले विदेशमा पाउने रोजगारीलाई वैदेशिक रोजगार भनी परिभाषित गरेको छ ।

वैदेशिक रोजगारीको इतिहास हेर्दा सर्वप्रथम नेपाली कला संस्कृति अनुसारको संरचना निर्माण गर्न अरनिको चीन गएका देखिन्छन् । औपचारिक रुपमा भने सन् १८१६ मा गोरखा रेजिमेन्टको स्थापनापश्चात् नेपालीहरू ब्रिटिस तथा भारतीय सेनामा भर्ती भै सैनिक सेवाका माध्यमबाट वैदेशिक रोजगार सुरु गरेको देखिन्छ । सुरुका दिनहरूमा भारत, बर्मा, भुटान, तिव्वत लगायतका मुलुकहरू नै नेपालीहरूका लागि वैदेशिक रोजगारीको क्षेत्र भए पनि हाल नेपालीहरू विश्वका अधिकांश मुलुकहरूमा रोजगारीको लागि गएको पाइन्छ ।

नेपालका युवाहरू कुनै न कुनै रुपमा विदेशमा रोजगारीका लागि गएका छन् । २०४८ सालपछि वैदेशिक रोजगारमा गरिएको खुलापनले बेरोजगारी युवालाई रोजगारी प्राप्त गर्न सजिलो भएको छ । वैदेशिक रोजगारीबाट प्राप्त रकमले घरपरिवारको भरणपोषण मात्र होइन देशको गरिबी घटाउन समेत मद्धत मिलेको देखिन्छ । हुन पनि खाडी मुलुकहरूले नेपालीको लागि ०५२/५३ देखि रोजगारीको ढोका खोलेसँगै सशस्त्र द्वन्द्व तथा गरिबीको कारण युवाहरू रोजगारीको लागि खाडी मुलुकमा प्रशस्त गएका छन् । यसका अतिरिक्त अन्य देशहरूसँग पनि श्रम स्वीकृति भएकोले रोजगारीको लागि युवाहरू गएका छन् । हाल औपचारिक माध्यमबाट नेपालबाट रोजगारीको लागि विदेशमा जानेको संख्या ५० लाख भन्दा बढी रहेको पाइन्छ भने अन्य माध्यमबाट समेत वैदेशिक रोजगारीमा जाने गरेकोले त्यो संख्या अझै धेरै हुनसक्ने देखिन्छ ।

वैदेशिक रोजगारबाट आएको रकमले रोजीरोटीको समस्या टार्दै आएका कतिपय नेपालीलाई कोरोना महामारीको कारण समस्या पर्न सुरु भइसकेको छ । कतिपय देशहरूका रोजगारदाता कम्पनीहरू बन्द हुदा अधिकांश नेपालीहरूको रोजगारी गुम्दै गएको छ । हाम्रो देशमा समेत कोरोनाकै कारण कल कारखानाहरू बन्द हुँदा बेरोजगारी समस्या बढेको देखिन्छ । विश्व बैंक, आईएमएफ जस्ता संस्थाले विश्वव्यापी मन्दिको घोषणा गरिसकेका छन् । यदि विदेशमा रोजगारीको लागि गएका नेपालीहरू रोजगारी गुमाएर एकैपटक फर्किए भने देशमा ठूलै हलचल पैदा हुने देखिन्छ । त्यसैले समृद्धिको आधार युवाहरूलाई उनीहरूले विदेशमा सिकेको ज्ञान तथा सिपलाई स्वदेशमा नै सदुपयोग गर्ने गरी रोजगारी सृजना गर्न राज्यले ध्यान दिन जरुरी छ ।

अब जसरी भएपनि विदेश जानुपर्छ वा जागिर खानुपर्छ भन्ने धारणालाई परिवर्तन गरी उपेक्षा गरिँदै आएको कृषिलाई एक सम्मानित पेशा बनाउनुपर्दछ । यसको साथै देशको लागि आवश्यक पर्ने कृषि औजारको कारखाना, जडीबुटीजन्य औषधि उत्पादनलगायतका उद्योग खोल्न सकेमा नेपाली युवालाई रोजगारी पनि दिन सकिन्छ ।

हिजो देशमा पर्याप्त रोजगारीका अवसर नहुँदा युवाहरू वैदेशिक रोजगारीमा आकर्षित हुनु स्वाभाविक थियो । तर अब रोजगारी तथा स्वरोजगारीका अवसर देशमा नै सिर्जना गर्नुपर्दछ । नेपालमा उत्पादनमूलक, पर्यटन तथा निर्माण क्षेत्रमा तत्काल रोजगारी सम्भव नहुने हुनाले कृषिक्षेत्रमा रोजगारी सृजना गरी युवावर्गलाई लगाउँनुपर्दछ । आज गाउँहरू हिजोजस्तो दुर्गम, यातायात र सञ्चारविहीन छैनन् । त्यसैले गाउँअनुसार विभिन्न विशिष्टीकृत खेती गर्न सकिन्छ । त्यसलाई सम्बोधन गर्न सरकारले सामुहिक कृषि प्रणालीलाई प्रोत्साहन गरी कृषि क्षेत्रमा रोजगारीको सृजना गर्न सक्नुपर्छ । केही वर्ष अघिसम्म कृषि उपज विक्री गर्ने हाम्रो देश आज आयात गर्नुपर्ने अवस्थामा पुगिसकेको वास्तविकतालाई बुझी कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनु जरुरी छ ।

वैदेशिक रोजगारी सुन्दा जति सरल छ त्यहाँ चर्को घाममा पसिना पोखी कमाई घर ल्याउने कुरा सयौँ गुणा कठिन छ । अझै घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा गएकाहरूको त कहालीलाग्दो अवस्था नै छ । उनीहरूले पाएका दुःख एकातिर छ भने अर्का्तिर पारिवारिक बिखण्डन पनि बढाएको छ । वैदेशिक रोजगारीले कतिपय परिवारलाई विरक्त पारिदिएको छ । सन्तानहरूको उचित रेखदेख हुन पाएको छैन । बृद्ध बाबुआमाहरूले सहारा पाएका छैनन् । अतः पारिवारिक रेखदेखको साथ युवाहरूलाई देशको आर्थिक, सामाजिक र भौतिक विकासमा उपयोग गर्न रोजगारी सिर्जना गर्नुपर्छ ।

देशमै काम गरेर खाने अवस्था र सबै कामको सम्मान गर्ने धारणा अब जनमानसमा विकास गर्नुपर्दछ । अब कृषिमा आधारित उद्योगको विकास गरी रोजगारी र आम्दानी बृद्धि गर्न जरुरी छ । यसको साथै युवाहरूले विदेशमा सिकेका ज्ञान र सिपलाई समाजको आर्थिक प्रगतिमा लगाउन सके पक्कै देशले काँचुली फेर्नेछ ।

यहाँ कृषिजन्य उत्पादनककका साथै पशुपालन, तरकारी, फलफूल उत्पादन गर्न सकिन्छ । यसका साथै यार्सागुम्बा, चिराइतो, जटामसी, पाँचऔंले जस्ता जडिबुटीहरू उत्पादन गरी संसारभरी पुऱ्याउन सकिन्छ । तरपनि यहाँ व्यवसायिक खेती, पशुपंक्षी पालन र जडिबुटी खेती गर्न सकिएको छैन । कृषि उत्पादनमा वृद्धिको साथसाथै बजारीकरण अनि उपयोगमा विविधिकरण हुन सकेको छैन । त्यसैले प्रकृतिले अनुपम उपहार दिए पनि हामीले नचिनेर विदेशमा लाहुरे हुन जानु परेको छ ।

दुबइ, मलेसिया, अरब, जस्ता मुलुकहरूमा प्रचण्ड गर्मीमा पसिना बगाउनु परेको छ । अब जसरी भएपनि विदेश जानुपर्छ वा जागिर खानुपर्छ भन्ने धारणालाई परिवर्तन गरी उपेक्षा गरिँदै आएको कृषिलाई एक सम्मानित पेशा बनाउनुपर्दछ । यसको साथै देशको लागि आवश्यक पर्ने कृषि औजारको कारखाना, जडीबुटीजन्य औषधि उत्पादनलगायतका उद्योग खोल्न सकेमा नेपाली युवालाई रोजगारी पनि दिन सकिन्छ । सबैलाई चेतना भया…!

प्रतिक्रिया