आमसञ्चार र स्वतन्त्र पत्रकारिताको वास्तविकता

सूचना प्रोपगाण्डाको नियन्त्रण कसले गर्छ ?

■ डिल्ली अम्माई, बेल्जियम



कलम भनेको एउटा त्यस्तो हतियार हो जसको सदुपयोग गर्न सकियो भने सानादेखि ठुल्ठुला न्यायपूर्ण लडाइँ पनि जित्न सकिन्छ । कलमको प्रयोगको सम्बन्ध समयसापेक्ष, परिवेशजन्य, कानुनी, राजनैतिक परिदृश्य, कलागाम्भ्य, दार्शनिक विचारहरूको उत्खनन तथा उपयुक्त अधिरचनाभित्रका उपयोगिताहरूसँग अभिन्न रुपले जोडिएर आउँछ ।

कलम वर्गसापेक्ष, सामाज वा समुदायको हितसापेक्ष, प्रचलित कानुनसापेक्ष, अन्तराष्ट्रिय प्रचलनका आधार–अधिरचनासापेक्ष र बहुमतसापेक्ष हुँदै आएको सर्वविदितै छ । वर्तमान राज्याधारहरूले निर्माण गरेका मान्यताका विरुद्ध गरिने पत्रकारिता, लेखन वा साहित्यिक धारलाई विद्रोही वा कानुनविरोधीको निहुँमा संसारभरी दमन गरिँदै आएको छ । यस क्रममा खगोसी जस्ता धेरै पत्रकारहरू मारिएका छन् । यसले पत्रकारहरू आलोचनात्मक हुनुपर्ने बाध्यता एकातर्फ छ, तर अर्कोतर्फ साम्राज्यवादको विश्वब्यापी सूचना नियन्त्रणका कारण पुँजीवादी आधार र अधिरचनाको विरुद्ध विकल्प खोज्न नपाउनुले लेखनमा चलिआएको प्रचलित मान्यता स्वतन्त्र, निष्पक्ष र भुइँमान्छेहरूका सूचनाको न्यायपूर्ण प्रस्तुति भन्ने कुरासँग मेल खाँदैन । विद्रोही लेखक वा पत्रकारहरूले सबै लादिएका आचारहरूलाई तोड्नुको मुख्य कारण यही विरोधाभाषपूर्ण अवस्थाले गर्दा हो । स्थापित आधारमा बनेका अधिरचनासम्मत मान्यता अर्को आधारमा बनेका मान्यतासँग मेल नखान सक्छन् । त्यसैले लेखकीय धारमा जस्तै पत्रकारितामा पनि सर्वमान्य निरपेक्ष मान्यताहरू छैनन् । वा, स्थापित मान्यताहरू लादिएका छन् भने तिनीहरूलाई समुदायको आवाज वा हितको सापेक्षतामा नापेर विवेकसंगत ढंगले तोड्न कसैको अनुमति लिइरहनु पर्दैन ।

हामीले अघिल्लो सामाजिक अधिरचनामा स्थापित भएका केही कथित सर्वमान्य मान्यताबारे यसरी मनन गर्न पनि सक्छौँ । ‘दास युगको अघि–पछि स्थापित सामान्ती ब्यवस्थाको आधारको अधिरचना र त्यससँग सम्बन्धित राजनैतिक कानुनी श्रेष्ठताको पृष्ठपोषण गर्ने हेतुले पनि कलम खुबै चले । पक्षमा चलेका राखिए विपक्षमा चलेका कलमहरू मिल्क्याइए । भक्ति गाथामा लेखिएका थुप्रै पौराणिक ग्रन्थहरू त्यसका ज्वलन्त उदाहरणहरू हुन् । त्यो बेला केही सार्वभौम मूल्यहरूको बलजफत स्थापना गरिएको थियो । धार्मिक त्रासको आडमा शासकहरूद्वारा त्यो गराइएको थियो । हरेक कालका विद्रोही चेत, प्रगतिशील गतिशीलताको चाहलाई रोक्न बनाइने यी सर्वोच्च मूल्यहरूको पुरानो नमुना मनुस्मृति पनि हो । अझैसम्म पनि समयको प्रवाहलाई रोक्ने चाहनाले केही मसी विगतको रुवावासीमा खर्च भैरहेको देखिन्छ । साम्राज्यवादको विश्वब्यापी सूचना नियन्त्रण र समाचार उत्पादनको हाहाकारले संसारभरीका मिडिया कार्पोरेट हाउसहरू प्रभावित भैरहेका छन् ।

तेश्रो विश्वका भुइँमान्छेको स्वार्थको प्रतिनिधित्व गर्ने गरी फरक आधारहरूको निर्माण रक्षा र त्यसको मर्मत आगामी दिनको सार्वभौम महत्वको कुरो हो । यो परिस्थितिको निर्माण सदैव भइरहन्छ । त्यसैअनुरुप वर्तमान विश्व व्यवस्थाको समाजवादी अधिरचानाले आफ्नो आधारको बचावमा बेग्लै आधारको निर्माण गरेको छ । साथै त्यसको आधारलाई दिर्घजीवी बनाउनको लागि विश्वमा धेरै लेखक, पत्रकार, दार्शनिक, विचारक र मनोविश्लेशकहरूको उत्पादन गरेको छ । अर्कोतर्फ विपरीत आधारको ध्रुवीकरणलाई रोक्न आधुनिक साम्राज्यवादी आधारको अधिरचानालाई आन्तरिक रुपबाट सवाल बनाउदै साहित्य सृजना, दर्शनको व्याख्या र राजनैतिक संस्कृति निर्माणको लागि समेत धेरै लेखकहरूले मसी खर्च गरेका छन् । वर्तमान समयको सत्य यही हो कि सबै वर्गले आफ्नो आधारको रक्षा चाहन्छन् । त्यसैले पत्रकारितालाई पनि सरकारी विभाग झैँ विभाजन गरेर स्वनियमनको दबाबसहित काम गर्ने अनुमति दिइन्छ ।

कृषि पत्रकारिता, कला पत्रकारिता, व्यवसाय पत्रकारिता, सेलिब्रेटी पत्रकारिता, नागरिक पत्रकारिता, सामुदायिक पत्रकारिता, अपराध पत्रकारिता, सांस्कृतिक पत्रकारिता, साइबर पत्रकारिता, मौसम पत्रकारिता, खेल पत्रकारिता, राजनीतिक पत्रकारिता, वैज्ञानिक पत्रकारिता, जीवनशैली पत्रकारिता, शिक्षा पत्रकारिता, रक्षा पत्रकारिता, फेसन पत्रकारिता, वातावरणीय पत्रकारिता, खोजी पत्रकारिता, हास्य र ग्राफिक पत्रकारिता, ट्याब्लोइड पत्रकारिता त्यसैका उपज हुन् । यी सबै पत्रकारितामा लागु हुने स्वनियम भनेको राज्यको स्वरुप, संरचना, प्रणाली र सम्प्रभुताको सम्मान हो । अनि यहीँनेर बाझिन्छ हाम्रो विवेकशील स्वतन्त्र पत्रकारिता ।

परिवर्तनको चक्रमा पत्रकार सेकेन्ड, जनता मिनेटको सुई जस्तै हुन् भने भाषा दिन जस्तै हो । यही कारणले हो पत्रकारमा विवेक चाहिने । सकारात्मक वा नकारात्मक परिवर्तनमा फरक छुट्याउन सकेन वा परिवर्तनले मानवहितको संरक्षण गर्ने अवस्था आएन भने कलमले वितण्डा मच्चाउन सक्छ । त्यसैले विद्रोह वा क्रान्तिलाई एउटा विवेकसील पत्रकारले मानवहितको मानकले परीक्षण गरिरहनु पर्दछ ।

सामान्यतया भन्ने गरिन्छ कि साहित्य, भाषा, सूचना वा पत्रकारिता स्वतन्त्रताका बिम्ब भएकोले त्यसमा राजनीतिको लेश देखिनु हुँदैन । वा, यी विषयमा राजनैतिक तटस्थता अनिवार्य हुन्छ । गतिविधि, राजनैतिक आस्था र सार्वजनिक सूचनालाई हेर्ने फरक–फरक दृष्टिकोण भएकोले हितहरू बाझिन्छन् । त्यसैले स्वतन्त्र र निश्पक्ष पत्रकारिताका तर्कहरू सामान्यतया अत्यान्त हास्यास्पद र अनुपयुक्त छन् ।

भाषा, साहित्य र सूचना प्रोपागाण्डा (पत्रकारिता) अधिरचनाबाट आधारभुत रूपले भिन्न कुरा हुन् भन्ने कुरामा ब्यापक विवाद छ । यी राज्य संरचनासँग मुलभुत रुपमा सहमतिमा चल्छन् । सम्प्रभुता अलग हुँदा रसियामा धेरै पत्रकार मारिए । कारण थिए अलग राष्ट्रियताको लागि लेखिएका लेखहरू, आवाजहरू वा एकल सम्प्रभुताविरुद्ध विद्रोह । त्यस्तै, अन्य उदाहरणको लागि नेपालमा भएका विभिन्न क्रान्ति, आन्दोलन र परिवर्तनपछिका अवस्थाहरूलाई समेत लिन सकिन्छ । यहाँ पुरानो सामान्ती राजतन्त्र समाप्त भएको छ र अर्को पुँजीवादी आधारसहितको नयाँ राजनैतिक प्रणाली निर्माण हुँदै गैरहेको छ । अर्का हिसाबले भन्दा सामान्ती अधिरचनाको ध्वस्त र रुपमा मिश्रित तर सारमा कार्पोरेटिक दलाल पुँजीवादका नयाँ मान्यताहरूको निर्माण हुँदै गैरहेको छ । फलस्वरूप पुरानो राजतन्त्रात्मनक ब्याबस्थाले स्थापित गरेका आधारहरूको स्थानलाई गणतन्त्रात्मक मान्यताहरूले बिस्थापित गरिसकेको छ । यो अवस्थामा केही लेखक, पत्रकार र राजनैतिककर्मीहरूले विद्रोहको औचित्य अझै देखेका छन् र सोअनुरुप उनीहरूले आफ्नो विद्रोही भूमिका खेल्दै छन् । कहिले यो भन्दा अघिल्लो अवस्था ठिक थियो भन्ने ढंगले पनि विचार पस्केको देखिन्छ । त्यसैले मुख्य कुरा विवेक मात्र हैन दृष्टिकोण हो । सत्य के हो भने हाम्रो पत्रकारिताका सैद्धान्तिक पक्षहरूले गुणात्मक रूपले नयाँ अधिरचनाको सेवामा समर्पित हुन सकिरहेको अवस्था अझैसम्म देखिएको छैन । यसो हुनुको एउटा कारण मानव चेतनाको अवस्थासँगै लेखन–कला रुपान्तरण हुने चरित्र दीर्घकालिक हुनु र राजनैतिक संक्रमण चरणमा रहिरहेको अवस्था पनि हो ।

अब कुरो आउँछ कि शासकीय अधिरचनासँगै कानुनी मूल्य–मान्यताहरू फेरिइ सकेपछि हाम्रा भाषागत र लेखनका आधारहरू किन अकस्मात फेरिन सकेका छैनन् ? अघि नै भनिसकियो कि हरेक मात्राहरू गुणमा परिवर्तन हुन निकै समय लाग्छ । भाषा, लेखन वा अधिरचानाका अन्य क्षेत्रहरूको हरेक परिवर्तनले मात्रात्मक प्रभाव पार्दै सुधारकै प्रतिनिधित्व गरेको हुन्छ । तर तत्काल महसुस गर्न सकिन्न । भाषा, साहित्य वा पत्रकारिताको क्षेत्र अधिरचना (Superstructure) का आधारभित्र मूल्य–मान्यताको नाममा निकै लामो समयसम्म अल्झिरहेको हुन्छ । यी देखिने गरी अकस्मात परिवर्तन हुने विषय पनि हैनन् । त्यै पनि अहिले भैरहेको प्रविधिको गुणात्मक विकासले हाम्रो चेतना र त्यसको व्याबहारिक प्रयोगमा पूर्ण परिवर्तन हुँदै गइरहेको छ । त्यसको प्रभाव पत्रकारिता क्षेत्रमा झन् घनिभूत रुपले परेको महसुस गर्न सकिन्छ ।

भाषा रुपान्तरण हुने विषय नभएर समृद्ध हुँदै जाने विषय हो । जसरि मानव समुदायलाई भाषाले सेवा गर्दछ त्यसरी नै प्रत्येक सानाठूला परिवर्तनले भाषालाई सेवा गरिरहेको हुन्छ । ०६२–६३ सालको दोश्रो जनाअन्दोलनले राजतन्त्र मिल्क्याएपछि नेपाली शब्दकोषमा केही नयाँ शब्दहरूले प्रवेश पाए । जस्तो कि ‘नयाँ नेपाल, मिश्रित अर्थतंत्र, स्वतन्त्र पत्रकारिता, वाक स्वतन्त्रता, दलाल, नोकरशाही तथा सुधारवादी पुँजीवाद, ग्लोबल समाज, गैरआवासीय नेपाली, नेपाली डायस्पोरा, संघीय गणतन्त्र, समावेशी लोकतन्त्र, उत्पीडन, वर्ग घृणा, जातीय स्वायत्तता, आत्मनिर्णयको अधिकार, जनयुद्ध, जनविद्रोह, गुरिल्ला, जन सरकार सांस्कृतिक रुपान्तरण आदि । यी भाषाका अधिरचनाभित्रबाट हालसालै प्रयोगमा आएका केही उदाहरण हुन् । हाम्रो भाषाको अधिरचनाभित्र यी शब्दहरूको थपौतिको आधार परिवर्तित नयाँ राजनैतिक परिदृश्य नै हो । भाषामा थपिएका नयाँ शब्दहरूको सबैभन्दा बढी लाभ कसैले लिएको छ भने त्यो पत्रकार हो । त्यसैले परिवर्तनको चक्रमा पत्रकार सेकेन्ड, जनता मिनेटको सुई जस्तै हुन् भने भाषा दिन जस्तै हो । यही कारणले हो पत्रकारमा विवेक चाहिने । सकारात्मक वा नकारात्मक परिवर्तनमा फरक छुट्याउन सकेन वा परिवर्तनले मानवहितको संरक्षण गर्ने अवस्था आएन भने कलमले वितण्डा मच्चाउन सक्छ । त्यसैले विद्रोह वा क्रान्तिलाई एउटा विवेकसील पत्रकारले मानवहितको मानकले परीक्षण गरिरहनु पर्दछ । बहुमत मानव कुन अवस्थामा छ र त्यसको जिबनयापनलाई के-कस्ता उपायद्वारा रुपान्तरण गर्न सकिन्छ ? लेखन त्यहि दिशामा केन्द्रित हुनु पर्दछ ।

हरेक देशको परिवर्तनलाई संस्थागत गर्ने आधार भनेको मुख्य रूपले त्यो देशको राज्य प्रणाली नै हो । नयाँ राजनैतिक प्रणालीका हरेक अवयवहरूलाई अग्रगामी दिशा दिन, समय र गतिका विविध दिशाहरूलाई विषयान्तर नगरीकन क्रमश र अविछिन्नरुपमा सम्बन्ध स्थापित गर्दै भाषा, साहित्य, पत्रकारिता वा सांस्कृतिक कर्मिहरूको कर्मले आधारको नै सेवा गरिरहेको छर्लंग देखिन्छ । र पत्रकारिता पनि चलिरहेको राज्य प्रणालीले स्थापित गर्दै लगेका मान्यताहरूभित्र स्वनियमन गर्दै आफूलाई गतिशील बनाउँछ । खासमा पत्रकारितालाई तात्कालिक अधिरचनाको एक भाग नै मान्नु पर्दछ । सायद त्यसैले पनि ब्यवस्थापिका, कार्यपालिका, न्यायपालिकापछिको चौथो अंग मानिएको होला ।

स्वतन्त्र पत्रकारिता, भाषा, साहित्य वा कानुन, आधार (राज्य प्रणाली)सँग यी कहिल्यै निरपेक्ष हुन सक्दैनन् । राज्यको कानुन र पत्रकारिता त झन् तटस्थ हुनै सक्दैन । पत्रकारिता अधिरचना (बृहद संरचना) र आधारको एक अंग हो । यो कदापि आफैमा सम्पूर्ण हैन । यसले कसैको सेवा गरिरहेको हुन्छ । त्यो मालिकको नाम हो अधिरचनाको आधार अर्थात बृहद संरचना, राज्य प्रणाली र त्यसले स्थापना गरेका मूल्य मान्यता । ती सवालमा अधिकार मौन हुन्छ र स्वनियमन हाबी हुन्छ । दुवैको सन्तुलन बिग्रे पत्रकार, लेखक वा कर्मीको दुर्घटना हुन सक्छ । स्वतन्त्र पत्रकारिता, सामाजिक मूल्य–मान्यता भन्दा तल बस्दछन् । पत्रकारिताले कुनै विशाल अधिरचनाको एक अंगको रुपमा काम गरिरहेको हुन्छ वा गर्न बाध्य बनाइन्छ । त्यसमा राजनैतिक प्रणालीबारेको दार्शनिक प्रभावले बाँचिरहेको मानव चेतना शुुन्य बिन्दुमा बस्छ भन्नु महा झुट हो ।

लेखकीय विधाहरूमा स्वतन्त्र लेखकीय शैली र पत्रकारिताको गफ गर्नेहरूले बुझ्दा हुन्छ कि प्रणालीसापेक्ष सूचनाको गतिलाई सम्मोहन गर्दै मुख्य रूपमा समुदायको राजनैतिक प्रणालीलाई दिशानिर्देश गर्ने कार्य सम्पादकको हो । पत्रकारिता समुच्च राजनैतिक आधारको सम्बाहन र सम्मोहन कर्म हो । तर त्यसको अर्थ यसले खाली आधारलाई मात्र प्रतिविम्वित गर्दछ भन्नेचाहिँ हैन । पत्रकारिताले आधारको यात्रामा जनताको भाग्य र अधिकार प्रणालीको चरित्रप्रति सक्रिय, आलोचनात्मक र सम्वेगात्मक उत्खनन गरिरहन्छ । यो प्रणाली अन्तर्गतको सक्रिय शक्ति पनि हो र त्यसले आधारलाई रुपान्तरण गर्न र सुदृढ पार्न सक्रिय सहयोग गर्छ । यसको साथै पुराना आधार तथा अवशेषहरू निर्मुल पार्न आधार (प्रणाली)लाई हरदम सहयोग पनि गर्दछ ।

अहिलेसम्म पत्रकारिताको सूचना इमान्दारिता र समुदायप्रतिको जिम्मेवारीलाई छोडेर अन्य कुरामा न सम्पादकीय स्वतन्त्र हुन्छ अथवा लेख । राष्ट्रियतामा खलल, साम्प्रदायिकता, राज्य विप्लब वा सम्प्रभुताको कुरामा सूचना खुलाउन कुनै पनि आधारमा बनेका अधिरचानाले अनुमति दिँदैंन । पत्रकारितामा सम्प्रभुता अविचलित मान्नु, राष्ट्रियता अविछिन्न मान्नु, राज्यको प्रणालीलाई दीर्घायु मान्नु र अधिकारका कुरामा संविधानका बाधाहरूलाई स्वनियमनले किचिदिनु आधारसापेक्ष पत्रकारिताका बाध्यता हुन् । त्यसैले पत्रकारिता कुनै अधिरचनाभित्रको मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो  ।

तर यो कति ब्यसवसायिक हो त ? भन्ने कुरामा कानुनव्यवसायीले गर्ने वकालतजस्तो पत्रकारिता व्यवसाय होइन  । उद्योगी व्यवसायीले गरेजस्तो उद्योग व्यवसाय पनि होइन  । पत्रकारिता त उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धतासँग चल्ने पेशा हो,  भनिन्छ । तर केही मुलभुत कुराहरूमा आचारसंहिता मान्नु र आफूले आफैलाई स्वनियमन गर्नुपर्ने वैधानिक कानुनी बाध्यता छ । साहित्यमा पनि अवस्था झण्डै उस्तै छ । यो आधार र अधिरचनाको दीर्घजीवनको लागि समाजवादी, पुँजीवादी, सामन्तवादी वा सैनिक सासकहरूले फरक–फरक शैलीमा लागु गर्छन् ।

पत्रकारितालाई परिवर्तनको साधन मान्दा

विशेष अवस्थामा पत्रकारिताले एक कुनै अधिरचनाभित्रका आधारहरूलाई चुनौती दिन्छ । जनयुद्धकालमा कृष्ण सेन इच्छुकहरूले विद्रोहको लागि पत्रकारिता गरे । विपरीत आधार भत्काउनको लागि लेखे । त्रासले गर्दा पुरानो राज्यले उनलाई मारिदियो । हिंसा–प्रतिहिंसामा अरु पत्रकारहरू पनि मरे । यो अवस्था राष्ट्रिय स्वतन्त्रताको युद्ध, पुँजीवादी दासता वा सामान्तवादी दासताको विरुद्धका तमाम क्रान्तिहरूमा समेत देखियो ।

‘म अझै विश्वस्त छु कि यदि तपाईंको चाहना संसार परिवर्तन गर्नेछ भने सबैभन्दा छिटो हतियार पत्रकारिता हो’ भन्ने विश्वविख्यात बेलायती नाटककार टोम स्टोपार्डको भनाइले प्रष्ट पारेको छ । उपरोक्त भनाइले अन्यायको विरुद्ध, सामाजिक कुरुतिका विरुद्ध संसार बदल्ने हतियारको रुपमा पत्रकारिता र त्यसको कुशल सिपाहीको रुपमा पत्रकारलाई अर्थ्याएको छ  । त्यसैले पत्रकारितालाई सामाजिक कुरीतिहरूको व्याख्या गर्ने, घटना बताउने र वर्तमान सामाजिक तस्बिर जस्ताको तस्तै देखाउने भन्दा पनि समाजको रुग्णतालाई यथास्थितिबाट बदल्ने माध्याम बनाउनु आजको आवश्यकता हो ।

स्वतन्त्र पत्रकारिताबारेको बुझाई

पत्रकार महासंघले आवद्ध सदस्यहरूलाई आचारसंहिताबारे निम्नानुशार ब्यवस्था गरेको छ । जस्तै, ‘पत्रकारले सूचनाको हक सम्बन्धमा आचारसंहिताको परिधिमा आफूलाई अडिग र इमान्दार राख्न सक्नुपर्छ । आफ्नो राजनीतिक आस्था पत्रकारिता गर्दा लेखाइ, बोलाइ वा अन्य व्यवहारमार्फत छचल्किन वा प्रतिविम्बित हुनु भएन । राजनीतिक संगठनका आडमा पत्रकारिताका सीमाहरूलाई उल्लंघन गर्नु भएन । पत्रकारितालाई राजनीतिको भऱ्याङ चढ्ने साधनको रुपमा प्रयोग गर्नु भएन ।’ हामीकहाँ धेरै सिद्धहस्त लेखक वा पत्रकारहरू छन्, जसले समाचार वा राजनीति दुबैको मिसावट गरिदिन्छन् । तर आचारसंहिता अनुसार भन्ने हो भने महासंघमा आबद्ध पत्रकारलाई कुनै राजनीतिक दलको मौन समर्थन गर्न र गोप्य मतदानमा भाग लिन मात्रै छुट हुन्छ । तर हामीकहाँ पत्रकारितालाई राजनीतिक आस्थासँग जोडेर स्वतन्त्र कित्तामा उभ्याउन खोजिएको छ । यो सम्भव नै देखिन्न ।

पछिल्लो समयमा थुप्रै आचारसंहिता उल्लंघनका घटना सार्वजनिक भएका पनि छन् । सकृय राजनीतिमा रहेका संघीय समाजवादी फोरम नेपालका प्रदेश २ का मुख्यसचिव शम्भु झाले पनि सप्तरी शाखाबाटै पत्रकारहरूको निर्वाचनमा मतदान गरेका छन् । झा यसअघि नेपाल पत्रकार महासंघ सप्तरी शाखाको अध्यक्ष र केन्द्रीय सदस्य थिए । यस्तै राजपा नेपालका केन्द्रीय सदस्य अमरनाथ मण्डलले पनि सप्तरी शाखाबाटै नेपाल पत्रकार महासंघको प्रादेशिक निर्वाचनमा मतदान गरेका छन् । एमाले नेता सुखराम यादवले पनि पत्रकारहरूको निर्वाचनमा मतदान गरेका छन् । मण्डल र यादव धेरै पहिलादेखि नै सप्तरी शाखाको सदस्य रही राजनीतिक पार्टीमा लागेर राजनीति पनि गर्दै आएका छन् । यस्ता उदाहरणहरू नेपालमा मात्र नभएर संसारमा बग्रेल्ती छन् । निरपेक्ष स्वतन्त्र पत्रकारिताका पक्षधरहरूले भन्ने गरेको स्वतन्त्र सूचनाको हकलाई नोक्सान पुऱ्याउने हदमा उपरोक्त कुरा गलत होलान् तर अधिरचनाको सापेक्षताबाट हेर्ने हो भने नेपालको परिप्रेक्षमा त्यो प्रवृत्ति पुरानै आधार सेवाको निरन्तरता हो ।

निष्पक्षता को कुरो के हो ?

निष्पक्षता भन्नु कुनै वा कसैको समर्थन वा विरोधमा नरहनु हो । पीडक वा पीडित कुनै पनि पक्षको वकालत नगर्नु हो । घटना जे–जस्तो छ र जसरी भएको छ, त्यसलाई जस्ताको त्यस्तै सञ्चारमाध्यमबाट प्रस्तुत गर्नु हो । उक्त घटनाबारे समाचार सामग्रीमै पत्रकाररसञ्चारकर्मीले आफ्ना मत वा धारणा नदिनु हो । तर ब्यवहारतः यसमा विरोधाभास देखिन्छ । त्यो पक्षबारे पत्रकारहरूको ध्यान खासै पुगेको देखिन्न । पत्रकार, सम्पादक, सञ्चारकर्मी आफैँमा अमूर्त र निर्विवेकी वस्तु होइन । ऊ यही समाजको अंग हो, उत्पादन हो । ऊसँग सामाजिक चेतना हुन्छ, मानवीय संवेदना हुन्छ, उसका व्यक्तिगत विचार र दर्शन हुन्छन् । सत्य र असत्य छुट्याउने, विश्लेषण गर्ने खुबी हुन्छ । त्यसैले सम्पादकीय लेखेर भए पनि उसले आफ्नी निर्णय नसुनाई रहन सक्दैन ।

यसर्थ एउटा सञ्चारकर्मी, सम्पादक, पत्रकार कहिल्यै पनि निष्पक्ष रहन सक्दैन । घटना वा विषयको पक्ष वा विपक्षमा घोषित–अघोषित रूपमा ऊ रहेकै हुन्छ । हरेकजसो मिडिया (विशेषगरी छापा र अनलाइन)मा पत्रकार–सम्पादकले कुनै तात्कालिक विषय वा सन्दर्भमा लेख वा सम्पादकीयमार्फत् आफ्ना विचार र दृष्टिकोण दिइरहेका हुन्छन् । समाज सुधार वा परिवर्तनको लागि लेखिएका लेख र सम्पादकीय सूचना समाचारभन्दा फरक कुरा हुन् । सूचना वा समाचारमा पत्रकारले विभेद गर्नु जायज मानिदैन । त्यसमा दोहोरा तर्क, भनाई राखिदिनेसम्म गरिन्छ तर निर्णय गर्ने जिम्मा अदालतको हुन्छ ।

विवादित घटनामा समेत अहिले पत्रिकामा सम्पादकीय लेखेर निर्णय सुनाउने चलन अहिले ह्वात्तै बढेको छ । ती लेख र सम्पादकीय पत्रकार वा सम्पादकले नै लेख्ने हुन् । त्यसमा उनीहरूले समाचारमा जस्तो ‘निष्पक्षता’ देखाउन जरुरी छैन । तर अगाडी नै भनि सकियो कि सूचनासमेत सापेक्ष (कुनै देखाउनु पर्ने र लुकाउनु पर्ने) हुन्छन् । वित्तीय पुँजीवादले अन्तराष्ट्रिय अधिरचनाको सेवाको लागि, आधारको रक्षाका लागि बनाएका कर्पोरेट (Corporate journalism)
पत्रकारिताका सबै सीमाहरूको सम्मान गर्न जरुरी छैन । त्यसमा विवेकसम्मत निर्णय लिने आफैले हो । (Corporate media is mass media production, distribution, ownership, and funding dominated by corporations and their CEOs. Characterizations of mainstream media as ‘corporate’ may be pejorative insinuations that such media systems do not serve the public interest.)

सूचना साम्राज्यवादबारे बुझ्नैपर्ने कुरा

अहिलेको सूचना तथा सञ्चार कसरी स्वतन्त्र र निस्पक्ष छैन भन्ने कुरा हामीले संचारमा संसारलाई नियन्त्रण गरिरहेको अमेरिकाको आमसंचार नीति हेरेर सहजै अनुमान गर्न सक्छौँ । अमेरिकालगायत पश्चिमाहरूले अहिले संसारका अधिकांश देशमा समाचार उत्पादनको अन्यायपूर्ण शैली पैठारी गरिरहेका छन् । साम्राज्यवाद नियन्त्रित सूचना–सञ्चारको आधुनिक प्रविधि नै सूचना साम्राज्यवादको ज्यावल हो । साम्राज्यवादीहरूले सूचना र सञ्चारमा संसारका सबै नागरिकहरूलाई समान पहुँच दिएका छैनन् ।

यस्तै मिसनमा साम्राज्यवादी समाचार उत्पादनकै कारण मध्यपूर्वमा विपत्ति निम्तियो । जुडिथ मिलरजस्ता अमेरिकी पत्रकारहरूलाई सन्देहास्पद पात्रहरूले इराकमा आमविनाशकारी हतियार भएको समाचार बनाउन लगाए । सिङ्गो सान्त देश मानव कंकालले भरियो । हामी अझैसम्म त्यही आधारले उत्पादन गरेका न्युजहरूको भ्रमले बाँचिरहेका छौँ । यस्तै प्रोपोगन्डा सुनेर देखेर हामीले आफ्ना धारणा बनाउन त सकौँला, तर त्यसैको सहारामा उनीहरूले मच्चाइरहेका उपद्रव, लुट र नरसंहारहरूका तथ्य बदल्न सक्ने छैनौँ ।

त्यसैकारण सूचना र सञ्चार क्षेत्रमा सूचना साम्राज्यवादी बाधा पन्छाउन विकासशील देशहरूले नयाँ विश्व सूचना तथा सञ्चार व्यवस्था (एनडब्ल्युआईसीओ) स्थापना गर्नुपर्ने विषयमा बहस थालनी गरेका थिए । परिणामतः संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान र संस्कृति सङ्गठन (युनेस्को)अन्तर्गत सन् १९८० मा मेकब्रिड आयोग गठन भएको थियो । सञ्चारजगतमा निश्चित समूहको एकाधिकार हटाउन सो आयोगले विभिन्न सिफारिस गरेको थियो ।

मेकब्रिड आयोगका सिफारिसलाई आफ्नो संचार प्रभुत्व खुम्चाउन खोजेको ठानेर संरा अमेरिका र बेलायतले प्रेस स्वतन्त्रतामाथि हमला भएको हवाला दिँंदै युनेस्कोबाट हात झिकेका थिए । संरा अमेरिकाद्वारा नियन्त्रित सूचना स्रामाज्यवादले संसारभरी आफ्नो स्वार्थअनुशार प्रोपागान्डा मच्चाउनको लागि सूचना नीति निर्माण गर्छ । प्राथमिकताका तहहरूलाई क्रमबद्ध रूपमा लागु गर्नको लागि संसारभरिका कठपुतली सरकारद्वारा नियन्त्रित संचार साधन, मिडियाहाउसका लगानीकर्ता र आफूद्वारा परिचालित पत्रकारहरूलाई आदेश दिन्छ । थाहा भएकै कुरा हो कि उसले विकासशील देशका मुद्दालाई सधैँ ओझेलमा राख्छ । त्यसको परिणामस्वरुप विश्व मामिलाको समाचार सम्प्रेषणमा मूलधारमा साम्राज्यवादद्वारा नियन्त्रित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पक्षपात गर्नु सामान्य हो । साम्राज्यवादीले आफूलाई हेर्ने तेस्रो विश्वको धारणा समेत पश्चिमा कोणले निर्धारण गर्ने गरेको छ । हामीलाई पुँजीवादी व्यवस्थाका सकारात्मक पक्षबारे सुनेर नथाक्ने खालका बखान सुनाइन्छ । क्रमशः हाम्रो मनोविज्ञान उनीहरूको स्वार्थअनुकुल बनाउँदै लगी मान्छेलाई रोबर्टमा रुपान्तरण गरिन्छ ।

जबकि अरू कुनै पनि अर्थप्रणाली जस्तै पुँजीवादी अधिरचना समाजवाद जस्तो न्यायपूर्ण व्यवस्था कदापि होइन ।सूचना साम्राज्यवादको सबभन्दा ठूलो समस्या भनेको यसले लक्षित क्षेत्रमा आर्थिक र राजनीतिक दबाब दिने प्रयास गरिरहन्छ । त्यसले कुनै निश्चित विकासको ढाँचालाई जबर्जस्ती अब्बल प्रमाणित गर्न खोज्छ र त्यही व्यवस्था अन्य देशमाथि थोपर्ने प्रयास गर्छ । उसको प्रहार, हत्या, लाखौँको आमहत्यालाई समेत सही कारवाहीको रुपमा व्याख्या गरिरहन्छ । कोभिड–१९ को महामारी नियन्त्रणमा आफ्नो असफलतालाई ढाकछोप गर्न ट्रम्पले चीनलाई लगाएको आरोप त्यसैको परिणाम हो ।

सूचना साम्राज्यवादका यस्ता धेरै उदाहरणहरूमध्ये तिब्बत, हङकङ, ताइवान, सिन्च्याङ, इरान, इराक, उत्तरकोरिया लगायतको समाचार उत्पादनलाई नियाल्न सकिन्छ । पश्चिमा सञ्चारमाध्यमहरूले हङकङमा कसरी शासन चलाउनु पर्छ भनी आदेश दिन खोजिरहेका छन् । सिन्च्याङका अतिवादीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरू सिकाउन खोजिरहेका छन् । तिब्बतमा कुन संस्कृतिलाई प्राथमिकता दिनुपर्छ भन्ने विषयमा उपदेश दिन खोजिरहेका छन् । तर आफ्नो देशको रंगभेदमा मारिएका जर्ज फ्लोयडको बारेमा केही बोलेका छैनन् । रंगभेदी घृणागत तथ्यहरू लुकाउन ट्रम्प प्रशासन लागिरहेको छ । इराकमा आमविनाशकारी हातहतियार भएको भनी संरा अमेरिकी सञ्चारमाध्यमले दिएका बयानलाई हामीले सबभन्दा पछिल्लोपटक विश्वास गरेका थियौँ । यस्तै मिसनमा साम्राज्यवादी समाचार उत्पादनकै कारण मध्यपूर्वमा विपत्ति निम्तियो । जुडिथ मिलरजस्ता अमेरिकी पत्रकारहरूलाई सन्देहास्पद पात्रहरूले इराकमा आमविनाशकारी हतियार भएको समाचार बनाउन लगाए । सिङ्गो सान्त देश मानव कंकालले भरियो । हामी अझैसम्म त्यही आधारले उत्पादन गरेका न्युजहरूको भ्रमले बाँचिरहेका छौँ । यस्तै प्रोपोगन्डा सुनेर देखेर हामीले आफ्ना धारणा बनाउन त सकौँला, तर त्यसैको सहारामा उनीहरूले मच्चाइरहेका उपद्रव, लुट र नरसंहारहरूका तथ्य बदल्न सक्ने छैनौँ ।

अन्त्यमा पत्रकार, लेखक, साहित्यकार वा दार्शनिकले आफूलाई ठोस रुपमा लिन र सुदृढ पार्न सक्रिय बन्नु, पुरानो आधिरचना सहित मरणोन्मुख आधारको उन्मुलनको निम्ति जोखिम मोल्दै कलमलाई सक्रिय बनाउनु पनि पत्रकारको कर्तव्य हो भन्ने मान्यता स्थापित हुँदै गएको छ । हामीले बुझ्नुपर्ने कुरा हो कि आधारले आफ्नो लागि अधिरचनाको सृजना गरेको हो । हामी आधारभन्दा कोशौँ पछाडि रहने कोशिस गर्दछौँ भने दुर्घटनामा पर्ने खतरा बढी रहन्छ । अगाडि छलाङ मार्न पनि मात्रात्मक परिवर्तनको जोडलाई जाँचेर पारख गर्नुपर्ने हुन्छ । पत्रकार, लेखक वा विश्लेषकको सही लेखकीय सीप, सन्तुलन, विवेकी विश्लेषणको कुरा यहीँनेर आउँछ ।

यदि आधिरचानाका अंगहरूले आधारको सहायक भूमिका निभाउन छाडे भने, यदि अधिरचानाले आफ्नो आधारका प्रत्येक जोर्नीहरूलाई कस्न छोडे भने अधिरचनाको स्वरुपले अर्को प्रणालीको माग गरिरहेको हुन्छ वा नयाँ प्रणालीको लागि राज्य विप्लबको । त्यतिबेला सही सूचना र दिशानिर्देशको महत्वपुर्ण भूमिका हुन्छ । त्यतिबेला अग्रगामी परिवर्तनको लागि कलमले अघिल्लो आधारको सेवा छोड्छ र रुपान्तरणको लागि जोखिमपूर्ण भूमिका खेल्न थाल्दछ । त्यतिबेला कलम, आस्थामा रुपान्तरित हुन्छ र समाजको नेतृत्व गर्न थाल्दछ । वर्गीय सत्ताको सुपर स्टक्चरभित्रको पुँजीवादी गणतन्त्र एक आधार हो । यसको अन्त पनि यसभित्रकै आन्तरिक कारणहरूले गर्दा हुन्छ । तिनै कारणहरूको समिष्टिलाई पहिचान गरी देश वा विश्वको वैचारिक नेतृत्व गर्नु पत्रकार, लेखक वा साहित्यकारहरूको कर्तब्य हो ।

प्रतिक्रिया