नेपाली दूतावासद्वारा नेपाल फर्कन चाहनेहरुको विवरण संकलन शुरु

नेपाली दूतावासद्वारा नेपाल फर्कन चाहनेहरुको विवरण संकलन शुरु


विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानबाट नेपाल फर्कन चाहाने नेपाली नागरिकका लागि नेपाली राजदूतावास जापानले विवरण संकलन सुरु गरेको छ । कोरोना भाइरसको विश्वब्यापी महामारीपश्चात नेपालमा गरिएको लकडाउन र यात्रा प्रतिबन्धका कारण जापानमै रोकिएका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने प्रकृयाका लागि अनलाइनमार्फत विवरण संकलन सुरु गरिएको हो ।

नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालका अनुसार अनलाइबाट प्राप्त विवरणका आधारमा नेपालका लागि हवाई उडानको प्रकृया अगाडि बढाइनेछ । नेपाल फर्कन इच्छुक व्यक्तिले राजदूतावासको वेवसाइटमा रहेको फारम भरि आफ्नो विवरण बुझाउनुपर्नेछ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७ साल ०२ महिना १२ गतेको निर्णय अनुसार स्वीकृत ‘कोभिड–१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश २०७७’ बमोजिम कोभिड–१९ को महामारीको परिणामस्वरूप नेपालमा बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने बाध्यता भएका जापानवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्ने प्रयोजनका लागि विवरण चाहिएको हुँदा आफ्नो यथार्थ विवरण ०५ जुन २०२० सम्ममा उपलब्ध गराइदिनुहुन सादर अनुरोध गरिन्छ भन्ने ब्यहोरा दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विवरण प्राप्त भएपश्चात् नेपालको यात्रा सुनिश्चित गर्न र नेपाल पुगेपछि क्वारेन्टाइनलगायत अन्य व्यवस्थापनलाई सुव्यवस्थित गर्नका लागि यथार्थ र सही विवरण उलब्ध गराउन समेत दूतावासले अनुरोध गरेको छ ।

अनलाइन फारम भर्दा तत्काल नेपाल जानुपरेको कारण सहित अन्य विभिन्न विवरणहरु उपलब्ध गराउनुपर्नेछ ।

नेपाल पुगेपछि अनिवार्य रूपमा १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यसैले विवरण भर्दा होटल क्वारेन्टिनमा बस्ने वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्ने भन्ने व्यहोरा खुलाउनु पर्नेछ भने ३ नेपाल फर्कंदा लागेको हवाइ उडान खर्च र होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्नेछ ।

नेपाल फर्कने व्यक्तिले उडान गर्नुअगावै कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पिसिआर वा आरडिटी अथवा अन्य) भएको प्रमाण साथमा राख्नुपर्ने र उक्त प्रमाणपत्र नेपाल आगमनपश्चात् विमानस्थलमा समेत देखाउनुपर्ने बताइएको छ ।

१४ दिनसम्म क्वारेन्टिनमा बस्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सुरक्षा प्रोटोकल अनिवार्य रूपमा पालना गर्नुपर्नेछ र आदेशको उल्लङ्घन गर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारबाही हुने समेत विज्ञप्तिमा उल्लेख छ ।