कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने

कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने


कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबार (२६ मे)देखि मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियमानुसार ट्रेन, बस र ट्याक्सीमामा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।

मास्क प्रयोग नगरी यात्रा गरे/गराएमा कारवाही हुने त्यहाँको रोग नियन्त्रण महाशाखा केसिडीसीले बताएको छ । नियम उल्लङ्घन गर्ने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाइ कानूनअनुसार कारवाहीसमेत गरिने नियममा उल्लेख छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा यात्रा गर्ने यात्रुलाई भने आज (२७ मे) देखि यो नियम लागू हुने जनाइएको छ । सार्वजनिक यातायातबाट कोरोना सङ्क्रमण फैलिने जोखिमदर उच्च हुने भएकाले सङ्क्रमण नफैलियोस् भनेर यो नियम जारी गरिएको बताइएको छ । नियमानुसार मास्क नलगाइ यात्रा गर्न चाहने यात्रुलाई बस वा ट्याक्सी चालकले यात्रामा रोक लगाउनसमेत सक्ने छन् ।

यससँगै केही अघि मात्र इथेवन शहरको एक रात्रि क्लबबाट सङ्क्रमण फैलिएपछि दक्षिण कोरियाका क्लब तथा बारहरु पनि बन्द गरिएका छन् । कोरियामा ११ हजार २२५ कोरोना सङ्क्रमित छन् भने १० हजार २७५ बढी निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरियामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६९ रहेको राससले जनाएको छ ।