शिवपुरीमा कमाण्ड एण्ड स्टाफ तालिम शुरु

शिवपुरीमा कमाण्ड एण्ड स्टाफ तालिम शुरु


शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २७ समूहको कमाण्ड तथा स्टाफ तालिम शुरु भएको छ ।

नेपाली सेनाका बलाधिकृत रथी शरदकुमार गिरीले शुभारम्भ गर्नुभएको उक्त तालिममा सेनाका ६०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग एक–एकजना अधिकृतको सहभागिता छ ।

एक वर्ष अवधिको उक्त तालिममा श्रीलङ्का, बेलायत र संयुक्त राज्य अमेरिकाबाट एक–एकजना सैनिक अधिकृत सहभागी छन् । सैनिक कमाण्ड तथा स्टाफ तालीम मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालीम हो ।

विसं २०४९ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म नेपाली सेनाका ९१४, विदेशी ८३, नेपाल प्रहरीका ११, सशस्त्र प्रहरी बलका २४, राष्ट्रिय अनुसन्धान विभागका १४ र रक्षा मन्त्रालयका एक अधिकृतले तालीम पूरा गर्नुभएको छ । सैनिक नेतृत्वमा पुग्नका लागि उक्त तालिम अनिवार्य मानिन्छ ।

उक्त तालिम कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई दृष्टिगत गरी चिकित्सकबाट स्वास्थ्य परीक्षणका साथै क्वारेन्टिनमा राखेर सामाजिक दूरी कायम गरेर सञ्चालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।