क्यान्सरको खतरा भन्दै दक्षिण कोरियाद्वारा मधुमेहका ३१ औषधिमा प्रतिबन्ध

दक्षिण कोरियाले बजारमा रहेका विभिन्न ३१ थरी मधुमेहका औषधि उत्पादन तथा विक्रीमा प्रतिबन्ध लगाएको छ ।



कोरियाको जनस्वास्थ्य निकायले मङ्गलबार (२६ मे) दिएको जानकारी अनुसार ‘कार्सिनोजिन’को मात्रा रहेको र यसको प्रयोगले क्यान्सरको जोखिम रहने अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा बिक्रीलाई प्रतिबन्धित गरिएको हो ।

बताइएअनुसार प्रतिबन्ध लगाइएका सबै मेटफर्मिनमा आधारित औषधि हुन् । यी सबै टाइप–२ को बिरामी तथा बयस्क बिरामीहरूका लागि सिफारिस हुने औषधि भएको प्रष्ट्याइएको छ ।

कोरियाली खाद्यय तथा औषधि सुरक्षा मन्त्रालयले मधुमेहका लागि प्रयोग हुने अन्य २५७ औषधिहरूमा पनि ‘कार्सिनोजिन’ को मात्रा भए नभएको परीक्षण भइरहेको पनि बताएको छ । “परीक्षण भएकामध्ये ३१ औषधिमा एन–नाइट्रोसोडियमथाइलामाइनको मात्रा अनुमति दिइएकोभन्दा बढी भएको पाइएको छ,” मन्त्रालयले भनेको छ ।

औषधीजन्य उक्त पदार्थको मात्रा निकै थोरै भएकोले यसका कारण विगतमा औषधि सेवन गर्ने विरामीको स्वास्थ्यमा भने समस्या नहुने बताइएको छ । प्रतिबन्धित गरिएका यी औषधिको सेवन गर्ने बिरामीको सङ्ख्या हाल कोरियामा दुई लाख ६० हजार रहेको उल्लेख गरिएको छ ।

जेडब्ल्यु फर्मा, हुटेक्स कोरिया र हान्मी फार्ममा उत्पादित ग्याडमेट, गलुलेस–एम र ग्लाइमफोल चक्कीहरूजस्ता प्रतिबन्धित औषधिहरूमा ‘कार्सिनोजिन’को मात्रा बढी भेटिएको योन्हापले जनाएको छ ।

प्रतिक्रिया