रुसमा एकै दिनमा नौ हजार सङ्क्रमित, ९२ को मृत्यु

रुसमा एकै दिनमा नौ हजार सङ्क्रमित, ९२ को मृत्यु


रुसमा कोरोना भाइरसका कारण सोमबार एकैदिनमा नौ हजार व्यक्ति सङ्क्रमित भएका छन् । योसँगै रुसभरी अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ५० हजारभन्दा बढी भएको छ ।

त्यसैगरी कोरोनाभाइरसका कारण रुसमा अहिलेसम्म तीन हजार ६३३ जनाको मृत्यु भएको छ । तीमध्ये ९२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै एपीले जनाएको छ । सङ्क्रमितहरुको सङ्ख्याको वृद्धिको तुलनामा मृत्यु हुनेहरुको सङ्ख्या अन्य देशमाभन्दा कम रहेको बताइएको छ ।

तर कतिपयले भने सरकारले तथ्याङ्कमा गडबडी गरेको आरोप पनि लगाउँदै आएका छन् । उनीहरुले सङ्क्रमित हुने र मृत्यु हुनेहरुको वास्तविक सङ्ख्या अहिले सार्वजनिक गरिएभन्दा फरक रहेको हुनसक्ने बताउने गरेका छन् ।

विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार

विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार ८२ पुगेको छ । डिसेम्बरदेखि सोमबार (२५ मे) साँझसम्ममा विश्वभर २३ लाख १८ हजार ७०० पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्यमन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म विश्वभर तीनलाख ४७ हजार १७६ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घण्टामा विश्वभर ७४२ व्यक्तिको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १६ लाख ८८ हजार ७०९ रहेका छन् भने ब्राजिलमा तीन लाख ६५ हजार २१३, रूसमा तीन लाख ५३ हजार ४२७, स्पेनमा दुई लाख ८२ हजार ८५२, बेलायतमा दुई लाख ५९ हजार ५५९ र इटलीमा दुई लाख २९ हजार ८५८ सङ्क्रमित रहेका छन् ।

सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ९९ हजार ३४८ रहेको छ । त्यसैगरी बेलायतमा ३६ हजार ७९३, इटलीमा ३२ हजार ७८५, स्पेनमा २८ हजार ७५२, फ्रान्समा २८ हजार ३६७ र ब्राजिलमा २२ हजार ७४६ सङ्क्रमितको मृत्यु भएको छ ।

सङ्क्रमित धेरै भएर पनि कम मृत्यु भएका देशहरूमा रूस अग्रस्थानमा रहेको छ भने जर्मनी, टर्की, भारत, इरान र पेरू रहेका छन् । यी मुलुकबाहेकका देशमा सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ ।

एशियामा टर्की, भारत, इरानमा एक लाखभन्दा बढी सङ्क्रमित भएका मुलुकहरू हुन् । चीन, साउदी अरब, पाकिस्तान, कतार, बङ्गलादेश सिङ्गापुर, संयुक्त राज्य इमिरेट्स, इन्डोनेसिया र कुबेतमा सङ्क्रमणका कारण बढी प्रभावित मुलुक हुन् ।