बाँकेका स्वास्थ्य सुरक्षाकर्मीमा पनि सङ्क्रमण, प्रहरीचौकी कालाफाँटा बन्द

बाँकेका स्वास्थ्य सुरक्षाकर्मीमा पनि सङ्क्रमण, प्रहरीचौकी कालाफाँटा बन्द


बाँकेमा कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि सङ्क्रमण देखिएको छ । नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत एक प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गाउँपालिकामा भेटिएका २७ सङ्क्रमितमध्ये एक प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । चौकीमा रहेका अन्य सुरक्षाकर्मीलाई क्वारेन्टिनमा आज पिसिआर परीक्षणको तयारी भएको छ ।

खजुरा गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बसेका खजुरा–५ का एक युवकमा सङ्क्रमण देखिएको भोलिपल्ट स्वास्थ्यकर्मीमा सङ्क्रमण देखापरेको खजुराका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । नरैनापुरमा शनिबार (१० जेठ) कोरोना सङ्क्रमण देखिएका प्रहरीसहित २७ जनालाई नेपालगञ्ज ल्याएर खजुरास्थित कृषि अनुसन्धान केन्द्रमा तयार गरिएको आइसोलेशन केन्द्रमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरी चौकी कालाफाँटा बन्द

प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कोरोना पोजेटिभ देखिएपछि प्रहरीचौकी कालाफाँटा बन्द गरिएको छ । बाँकेको प्रहरीचौकी कालाफाँटामा कार्यरत २३ वर्षीय एक जनालाई कोरोना सङ्क्रमण देखिएपछि प्रहरीचौकी कालाफाँटा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सिंहले जानकारी दिनुभयो । कालाफाँटा प्रहरीचौकीमा नौ जना कार्यरत छन् ।

rss