रक्सौलमा धादिङका २५ जना अलपत्र

रक्सौलमा धादिङका २५ जना अलपत्र



विकास रौनियार

नेपालको सीमा क्षेत्र रक्सौल (भारत)मा धादिङका २५ जना अलपत्र परेका छन् । लकडाउन भएपछि धादिङ आउन लागेका उनीहरु रक्सौल भारतको दर्शननगरस्थित रक्सौल सेन्टरल स्कुल र सिटीसी कलेजमा अलपत्र अवस्थामा रहिआएका छन् । अलपत्र परेका २५ जना नीलकण्ठ नगरपालिका र नेत्रावती डबजोङ गाउँपालिकाका नागरिकहरु हुन् ।

१४ दिन क्वारेन्टिनमा बस्दा पनि अहिलेसम्म कुनै परिक्षण नभएको भन्दै उनीहरुले घर फर्किन पहल गरीदिनको लागि आग्रह गरेका छन् । भारतीय बस्ने क्वारेन्टिनमा रहेकोले आफूहरुले असुरक्षित महसुस गरिरहेको उनीहरुको भनाई छ । स्थानीय भारतीयहरुलाई भेट्न बाहिरबाट मानिस आउने र भिडभाड बढी हुने भएकाले कोरोना संक्रमणको डर भएको भन्दै तत्काल उद्धार गर्नको लागि उनीहरुले आग्रह गरेका हुन् ।

शौचालय र खानेपानी संयुक्त रुपमा प्रयोग गर्नुपर्ने भएको कारणले पनि जोखीम बढेको जानकारी दिँदै उनीहरुले भनेका छन्, ‘हामी आफ्नै खर्चमा आउँला, हामीलाई बसको व्यावस्था गरिदिन पऱ्यो ।’

स्वदेश पुग्न पाए आफुहरुलाई धेरै सहज हुने भन्दै उनीहरुले स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा आफूहरु बस्न तयार रहेको बताए । पराया देशमा सहज नभएको भन्दै छिटोभन्दा छिटो उद्धार गर्नको लागि उनीहरुले आग्रह गरेका छन् ।