पाकिस्तानमा तीव्र गतिमा बढ्दै कोरोना भाइरसका सङ्क्रमित

पाकिस्तानमा तीव्र गतिमा बढ्दै कोरोना भाइरसका सङ्क्रमित


पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या ४५ हजार ८९८ पुगेको पाकिस्तानी अधिकारीले बताएका छन् । मंगलबारदेखि बुधबार (१९–२० मे) सम्ममा पाकिस्तानमा दुई हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् ।

पाकिस्तानमा सङ्क्रमितमध्येका ९ सय ८५ व्यक्तिको अहिलेसम्म मृत्यु भएको छ । वल्र्डओमिटरले जनाएअनुसार पाकिस्तनमा बुधबार मात्र ४६ जना सङ्क्रमितको ज्यान गएको छ भने दुई हजार जना भन्दा बढी सङ्क्रमित थपिएका छन् ।

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । सो राज्यमा १७ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका छन् । त्यसैगरी पञ्जावमा १६ हजार, खैबर पाख्तुनख्वामा छ हजार ३२५, बलुचिस्तानमा दुई हजार ८२० गिलगित बाल्टिस्तानमा ५५०, इस्लामावादमा एक हजार ३४ र पाकिस्तान प्रशासित काश्मिरमा ११५ जना सङ्क्रमित रहेका छन् ।

सङ्क्रमितमध्ये १३ हजार १०१ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीले यहाँका विभिन्न अस्पतालमा ३१ ह्जार ८१२ जना सङ्क्रमितले उपचार गराइरहेको जनाएका छन् ।

भारतमा अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट मंगल र बुधबारको अवधिमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा पाँच हजार ६११ जना सङ्क्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार योसहित भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या एक लाख ६ हजार ७५० पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४० जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म तीन हजार ३०३ जनाको मृत्यु भएको पनि अधिकारीले जनाएका छन् ।

यहाँ कोरोना भाइरसबाट सङ्क्रमित कूल व्यक्तिमध्ये ४२ हजार २९८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ६१ हजार १४९ जना उपचारका क्रममा रहेका छन् ।