सत्ता-राजनीतिको मित्र ‘कोरोना’ !

■ दीपेन्द्र पाण्डे



मेडिकल साइन्सले मान्दै आएको छ– एउटै रोग लागेको दुई बिरामीलाई एउटै औषधीले सन्चो नगर्न पनि सक्छ । यस्तो किन हुन्छ भनी अध्ययन–अनुसन्धान गर्दै जाँदा उनीहरू एउटा निचोडमा पुगेका छन् । जसलाई औषधीले काम गर्छ, त्यो व्यक्तिमा बाँच्ने चाहना तीव्र हुने गर्छ । जसले बाँच्ने चाहना त्यागेको हुन्छ, त्यस्ता बिरामीलाई औषधीले बचाउन सक्दैन । जीवनदेखि थाकेको, बाँच्ने आशा त्यागेको मानिसलाई औषधीले कुनै सकारात्मक असर गर्नै सक्दैन । उल्लिखित सन्दर्भ वा कहावत कोरोना महामारीको सवालमा अपुरो, अधुरो र अमिल्दो लाग्दै छ ।

सोभियत सङ्घको समाजवादी सत्ता ढलेको चिनियाँ मोडेलको ‘पुँजीवाद’ उठी नसकेको अवस्थामा अमेरिकी राजनीतिले विश्वलाई केवल एक ‘बजार’ मात्र देख्न थाल्यो । विज्ञान र प्रविधिमाथि एकलौटी कब्जा जमाउँदै अमेरिकी राजनीति व्यापारमुखी बन्न थाल्यो । समाजवाद ढलेको अवस्थामा लगामविहीन चम्किएको पुँजीवाद जनताप्रतिको दायित्वबाट झनै टाढा हुत्तियो । विश्व पुँजीवाद रक्षात्मक बन्दै गरेको, समाजवादी राष्ट्रवाद जाग्दै गरेको समयमा विश्वभरका पुँजीवादी सत्ताहरू ठूलो राजनीतिक आँधी आउने कल्पना गर्दै थिए । अमेरिकी पुँजीवादको कारण आउन सक्ने राजनीतिक अस्थिरताको समाधान फेला नपरेको समयमा सत्ता राजनीतिको मित्र बन्दै ‘कोरोना’ झुल्किएको छ ।

७५३ वटा स्थानीय सरकारले मुलुकको बाँझो बारी जोताउन नसक्ने, हाम्रो उपस्थिति किन र कसले गरिदियो ? अहिलेसम्म बुझ्न नसक्ने ७ प्रदेश सरकार र तिलस्मी विकासमार्फत समृद्धि ल्याउँछु भन्ने सङ्घीय सरकार कोरोना आगमनसँगै झनै प्रफुल्ल भएको छ । मेरै नेतृत्वमा जनादेश प्राप्त भएको, मेरो विकल्प खोजिए सबै भङ्ग हुन्छ भन्दै सत्तामा बस्ने राजनीतिको ‘मित्र’ कोरोनाले कसलाई सताउँदै छ ? भनिरहनु परेन । देशवासीले उत्पादन गरेका तरकारी खेतमै कुहिएर जाने, ‘मित्रराष्ट्र’बाट निर्वाध रूपमा विषादियुक्त तरकारी स्वदेश भित्रँदा पनि एउटा विषादी परीक्षण ल्याब राख्न नसक्ने सरकार मौसमी कुरा गर्न खप्पिस नै छ । देशमा लगानी सम्मेलन गर्दा पनि कुनै व्यक्ति र निकाय लगानीको निम्ति इच्छुक नभएको कारण के थियो भन्ने खोतल्न नचाहने सरकारले कोरोना युद्धसँगै थपिएको बेरोजगारी समस्या समाधान गर्ने कल्पना बालुवा पेलेर तेल निकाले जस्तै हो ।

कोरोनाले मुलुकमा मानवीय क्षति शुरु गर्नै लाग्दा करिव जर्जरतातर्फ उन्मुख अर्थतन्त्र जोगाउन राज्यको उपस्थिति अनिवार्य हुनुपर्ने क्षेत्र कृषि, स्वास्थ्य र शिक्षा नै हो । आमजनतालाई सुरक्षित राख्न राज्यले गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन काममा सरकारको गम्भीर सक्रियता हालसम्म देखापरेको पाइँदैन । अनुपयुक्त खर्च कटौती गर्न सङ्घीयता निलम्बन गर्ने, राष्ट्रिय सभा र समानुपातिक सांसदको प्रावधान हटाउन सर्वदलीय छलफल गर्दै संविधान संशोधन गर्ने, मन्त्रालयको सङ्ख्या कटौती गर्ने, केवल व्यक्ति व्यवस्थापनमा मात्र काम लागेका विभिन्न देशमा खोलिएका दूतावास बन्द गर्ने, अनुपयुक्त आयोगहरू, विषयविज्ञ र सहयोगी खारेज गर्ने, राज्यले खासै फाइदा लिन नसकेका क्षेत्रमा कार्यरत कर्मचारी कटौती गर्ने कुरा सरकारले सोचेको महसुस गर्न सकिएको छैन ।

देशवासीले उत्पादन गरेका तरकारी खेतमै कुहिएर जाने, ‘मित्रराष्ट्र’बाट निर्वाध रूपमा विषादियुक्त तरकारी स्वदेश भित्रँदा पनि एउटा विषादी परीक्षण ल्याब राख्न नसक्ने सरकार मौसमी कुरा गर्न खप्पिस नै छ । देशमा लगानी सम्मेलन गर्दा पनि कुनै व्यक्ति र निकाय लगानीको निम्ति इच्छुक नहुनुको कारण खोतल्न नचाहने सरकारले कोरोना युद्धसँगै थपिएको बेरोजगारी समस्या समाधान गर्ने कल्पना बालुवा पेलेर तेल निकाले जस्तै हो ।

कोरोना महामारीको सरकारी उपचार विधि ‘लकडाउन’ हाबी हुँदै गर्दा सर्वसाधारणले पेट कसरी भर्ने ? भन्नेबाहेक थप सोच्ने अवस्था रहेन । श्रम बेच्न नपाउने, राहत कुर्दै घरमै थुनिनु पर्ने अवस्थामा तत्काल क्रान्तिकारी बनाइहाल्ने अवस्था पनि देखिएन । विश्वभरकै सत्ताले जनतालाई घरमा थुनेर आफ्नो योग्यता, औकात र नियत देखाएको यस घडीमा सिंहदरबारको मन अमेरिकी व्यापारीसँग प्रभावित भएको महसुस हुँदै छ ।

निजी प्रयोजनको निम्ति एक अमेरिकन करोडपति व्यापारीले नयाँ घर निर्माण गरेछन् । नवनिर्मित भवनमा व्यापारीले विश्वको चर्चित चित्रकार पिकासोको उत्कृष्ट दुई चित्र राख्ने विचार गरेछन् । करोडपति व्यापारी पिकासोको चित्र लिन स्पेनको मालागा पुग्दै पिकासोसँग दुई चित्र मागेछन् । भर्खरै पेरिसमा चित्र प्रदर्शनी सकेर स्पेन फर्किएका चित्रकार पिकासोले कोठामा रहेका चित्रहरू हेर्दा केवल एउटा मात्र चित्र फेला पारेछन् । उनले त्यही चित्रलाई बीचबाट काटेर दुई वटा बनाउँदै व्यापारीलाई दिएछन् र दुई चित्रको मूल्य लिएछन् ।

उल्लेखित सन्दर्भ राम्रोसँग बुझेको बालुवाटारले नीति तथा कार्यक्रममार्फत आफ्नो प्राथमिकता परिवर्तन गरेको छ । आयात ‘कर’मार्फत प्राप्त हुने आम्दानी र रेमिट्यान्समा आधारित मुलुकको ढुकुटी रित्तिए पनि ‘आश्वासनको बैंक’ नरित्तिएको सन्देश दिएको छ । मुर्छित सपनाको व्यापार र वितरण गर्ने सोच र शैलीमा किमार्थ परिवर्तन गर्न नरुचाएको सिंहदरबारले राष्ट्रपतिलाई १५३ मिनेट कथा वाचन गराउँदै सत्ताको मनसाय उजागर गरिदिएको छ । हुँदै नभएको ढुकुटीबाट सबै काम सम्पन्न गरिनेछ भन्ने तागत पिकासोले एउटै चित्रलाई दुई वटा बनाउँदै पैसा लिएको जस्तै हुन पुगेको छ ।

भगवान् बुद्ध भन्ने गर्थे, जीवनमा दुःख छ । दुःखको कारण छ अनि समाधान पनि छ । त्यो तिमीमै छ । तिम्रै मनमा छ । विचारक फ्रायडलाई सोध्दा उनी भन्ने गर्थे– मानिसको स्वभाव नै त्यस्तै छ, उ कहिल्यै सुखी हुन सक्दैन । त्यसैले सुख मानवजातिको लागि असम्भव छ । दार्शनिक कार्ल मार्क्स भन्ने गर्थे– विश्व–राजनीतिले अपनाएको सामाजिक, आर्थिक ढाँचा नै गलत छ । उत्पादनको साधनमाथि धनीहरूको पकड छ, असमानता छ, यसैले मानव–जीवनमा दुःख सिर्जना भएको छ । विश्व राजनीतिले आममानिसको दुःख मेट्न अनेक उपाय अपनाइरह्यो, तर दुःख मेटिएन ।

राजनीतिक आयु लामो बनाउन जसले लोभ, क्रोध, वासनालाई त्याग्न सक्छ त्यति नै राजनीति पवित्र हुन्छ । अन्यथा सत्तासीनहरूले त्याग्न नसकेको तमाम दुर्गुणले उनीहरूलाई अवश्य त्याग्ने छ । शास्त्र, सिद्धान्त र अनुभवले त्यही बताउँदै आएको छ । कोरोनापछि यो सन्दर्भ झनै स्थापित हुनेछ ।

सामन्तवाद, पुँजीवाद, समाजवादलगायत अनेक वादहरू मानव दुःख निवारण गर्न लागिरहे । कहीँ–कतै धनी–गरिब मेटियो तर दुःख मेटिएन । दुःख मेट्ने नाममा सिर्जना गरिएका वाद र विचारले नयाँ–नयाँ वर्ग जन्माउन थाल्यो । तर दुःखको समापन भएन । एउटा वर्ग मासियो । त्यस ठाउँमा अर्को वर्ग जन्मियो । फेरि पनि सङ्घर्ष जहाँको त्यहीँ देखियो । मुलुकमा आमूल परिवर्तन गर्ने भन्दै जेल–नेल खाएका, कठोर यातना सहेका, अकल्पनीय दुःख झेलेका मानिसहरू आज आफ्नै सहयोद्धालाई दुःख दिन तयार भएको घटना खुला किताब जस्तै छन् । बिरामी बदलिएको रोग जस्ताको तस्तै रहेको वर्तमान अवस्थापछि कोरोना सत्ताको मित्र बनेर उदाएको छ । जनताको मुक्तिको नाममा जन्मिएको राजनीति असफल हुनासाथ नयाँ कपडा लगाउँदै आफूलाई नयाँ ठान्ने रोग क्रान्तिका नायकले सहर्ष स्वीकार गरेको अवस्था छ ।

नीतिगत भ्रष्टाचार झनै बढेको, अयोग्य मानिसहरूको राज्यसँग पहुँच बढेको, तमाम शक्ति केन्द्रीकृत गर्दा समेत प्रधानमन्त्रीलाई आवश्यक सूचना लुकाइएको, राज्यका निकाय झनै निकम्मा बनाइएको, कर्मचारी संयन्त्र बदलिन राजी नभएको, सरकारको क्षमता र कार्य कुशलतामा खासै भिन्नता नआएको अवस्थामा सरकारले देखाएका तमाम सपना बेवारिसे बन्नु स्वाभाविक नै हो । विगत बिर्सेर वर्तमान खेर फाल्दै भविष्यको निम्ति अलौकिक शक्ति प्राप्त गर्ने लालसामा सम्पन्न गरिएका गडबडीमा राष्ट्रवाद, मुर्छित सपना, सुशासन र समृद्धि थला पर्नु अनिवार्य र स्वाभाविक मानिएको छ । समयमा काम नगर्ने, गरेका काम पनि तयारीबिना गर्ने, हरेक काम देशको स्वार्थको सट्टा अमुक व्यक्ति र गुटतर्फ लक्षित हुँदै गएको पछिल्लो शासनबाट कोरोना–आतङ्क नियन्त्रण र मुलुकको कायाकल्प गरिने हवाई कल्पना अवश्यमेव ‘भाइ कोरोना’ मानिने छ ।

तमाम अयोग्यता छोप्न कोरोनालाई साथ लिनुपर्ने अवस्थामा पुगेको सिंहदरबारले आजकल शास्त्र पढ्दैन । उपनिषदले भन्छ– ‘जसले भोग्छ, उसैले त्याग्छ ।’ वास्तवमा जनताले सरकारलाई भोग्छ र जनताले नै त्याग्छ । यसलाई सुल्टो ढङ्गले बुझ्ने हो भने राजनीतिले जसलाई भोग्छ त्यसलाई नै राजनीतिले त्याग्ने हो । राजनीतिक आयु लामो बनाउन जसले लोभ, क्रोध, वासनालाई त्याग्न सक्छ त्यति नै राजनीति पवित्र हुन्छ । अन्यथा सत्तासीनहरूले त्याग्न नसकेको तमाम दुर्गुणले उनीहरूलाई अवश्य त्याग्ने छ । शास्त्र, सिद्धान्त र अनुभवले त्यही बताउँदै आएको छ । कोरोनापछि यो सन्दर्भ झनै स्थापित हुनेछ ।

प्रतिक्रिया