एनआरएनए हङकङको पहलमा फर्कंदै हङकङवासी नेपाली

एनआरएनए हङकङको पहलमा फर्कंदै हङकङवासी नेपाली


  • राजन घिमिरे

लकडाउनका कारण स्वदेशमा अड्किएका ९ सय २५ जना हङकङवासी नेपालीहरू अन्ततः कर्मभूमि (हङकङ) फर्कने भएका छन् । उनीहरूलाई हङकङ फर्कन नेपाल सरकारले अनुमति दिएको छ ।

कोरोना भाइरसको महामारी फैलिँदै गएको र जारी लकडाउन पनि बढिरहेको अवस्थाका कारण हङकङ फर्कन नसकेका यी नेपालीहरू विगत दुई महिनादेखि नेपालमै रहन बाध्य थिए । गैरआवासीय नेपाली संघ हङकङको पहलमा उनीरूले हङकङ फर्कने अवसर पाएका हुन । हिमालयन एअरलाइन्समार्फत् उनीहरू हङकङ पुग्दै छन् ।

काठमाडौंबाट हिमालयन एअरलाइन्समार्फत ९ सय २५ जना हङकङवासी नेपालीहरू फर्कन लागेका गैरआवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरूङ (टीका) ले जानकारी दिइन् । उनका अनुसार मे २२ मा दुई फ्लाइट र त्यसपछि २३, २४ र २५ तारिकमा एक–एक फ्लाइट उडानको तयारी गरिएको छ ।

‘हङकङमा कोरोनाको अवस्था सामान्य हुँदै जानु र त्यहाँ लकडाउन खुकुलो गरिन थालिएपछि नेपालमा अड्किएका हङकङवासी नेपालीलाई फर्काउन सजिलो भएको गुरूङले बताइन् । ‘यो कार्यमा साथ–सहयोग दिनुहुने हङकङवासी नेपाली, नेपाल सरकार, एअरलाइन्स र सम्बन्धित सबैमा धन्यबाद दिन चाहन्छु’– उनले भनिन् ।