नेपाल प्रहरीका ‘अभूतपूर्व’ आईजीपी !

नेपाल प्रहरीका ‘अभूतपूर्व’ आईजीपी !


■ शिवजी श्रेष्ठ

करिव सात वर्षअगाडि मेरो फोनमा भ्वाइस मेसेज रहेछ, सुनेँ । वृद्ध, तर कमान्डिङ लवजमा ‘एइ यता सुन् । ल, मलाई फोन गर ।’

अचम्म लाग्यो । किनकि, मलाई बेलायतमा यो लवजमा बोल्ने कोही भएजस्तो लागेन । सँगै पढेका साथी अनि इन्स्पेक्टर हुँदाको ब्याचमेटको पो हो कि भनेर सम्झने प्रयास गरेँ- अहँ होइन । नेपालबाट बुबाको पो फोन हो कि ? तर, बुबाको भ्वाइस त म चिनिहाल्छु ।

धेरै सम्झिन खोजेँ, ‘मिस कल’को लिस्ट हेरेँ, त्यस्तो भ्वाइस हुनेको नामावली देखिनँ । बरु एउटा मिस कल चाहिँ ‘नो कलर आइडी’बाट आएको पाएँ ।

म असमञ्जसमा नै थिएँ, दुई दिन पछाडि ‘नो कलर आइडी’बाट मेरो मोबाइलमा फोन आयो । उठाएँ ।

उताबाट ‘ए साला, तँ ठूलो मान्छे भइस् ? मेरो कल आएको देखेपछि अनि भ्वाइस मेसेज सुनेपछि पनि कल ब्याक नगर्ने ?’

दुई दिनअगाडिको उही भ्वाइस मेसेजकै लवज र स्वर थियो । मैले चिन्न सकिनँ । तब, सतर्कता साथ सोधेँ, ‘मैले हजुरलाई चिन्न सकिन नि ?’

उताबाट जवाफ आयो– ‘एइ म आईजी बराल ।’ म झस्किएँ । नेपाल प्रहरीको आइजीपी त अहिले कुवेरसिंह राना हुनुहुन्छ । म पछि होसमा आएँ ।

धेरै किम्बदन्ती झैँ लाग्नेगरी भूतपूर्व आईजीपी खड्गजीत बराल सा’बका कथाहरू सुन्ने गरेको थिएँ ।

मैले ‘जय नेपाल’ पनि भनिसक्न नपाउँदै उहाँले भन्नुभयो ‘स्याबास ! जागिर छाडेर त्यति टाढा गइसकेपछि पनि नेपाल प्रहरीलाई नबिर्सिकन प्रहरीको अस्पतालका लागि तिमीहरूले सामान जुटाइस् ।’

भएको के थियो भने हामीले बेलायतमा बस्ने पूर्वप्रहरीहरूको संस्था पूर्वनेपाल प्रहरी परिवार मञ्च, बेलायतले नेपाल प्रहरी अस्पतालको डेन्टल डिपार्टमेन्टलाई नेपालका विभिन्न ठाउँमा मोबाइल डेन्टल क्याम्प चलाउन सजिलो होस् भनेर मोबाइल डेन्टल इक्युपमेन्ट प्रदान गरेका थियौँ ।

उहाँ अर्थात् पूर्वआईजीपी खड्गजीत बरालले भन्दै जानुभो– ‘अस्तिको पत्रिकामा तँ (तिमी) हरूले गरेको सहयोगसम्बन्धी यो समाचार पढेँ । तब त्यो मगर (तत्कालीन आइजीपी कुवेरसिंह राना) लाई तेरो नम्बर पत्ता लगाएर मलाई दे भनेर तँलाई कल गरेको । तँ नाथे डिएसपी, यहाँ आईजी डीआइजी भइसकेकाहरू रिटायर्ड भएपछि पुलिसलाई सहयोग गर्नु त कहाँ हो कहाँ उल्टै गाली गर्दै हिँड्छ । तँ (तिमी) हरू विदेशमा बसेर पनि यति सम्झिस्, त्यही भएर स्याबास् भन्नलाई कल गरेको, बुझिस् ? स्याबास !’

मेरो जवाफ पनि नकुरिकन उहाँले फोन राख्नुभयो ।

फोन राखेको एकछिनसम्म म सन्न भइरहेँ । मन अझै सिरिङ्ग भइरहे’थ्यो । अप्रत्याशित आएको त्यो फोन कल र वार्तालापबारे सोच्न थालेँ, ८६ वर्ष पुगिसक्नुभएका पूर्वआईजीपीको अरूले गरेको कामको सह्राहना गर्ने अनि प्रोत्साहन गर्ने तरिका र उत्साह ।

भनिन्छ– खड्गजीत बराल नेपाल प्रहरीमा एक मात्र त्यस्ता पूर्वआईजीपी हुनुहुन्छ, जो बहालवाला आईजीपीलाई पनि तँ (हेपेर हैन, अदव राखेर) भनेर सम्बोधन गर्ने हैसियत राख्नुहुन्छ ।

हामी भर्खर इन्स्पेक्टर भएका बेला सुनिएको थियो । विसं २०४९ सालमा आईजीपी हुनुभएपछि मोतीलाल बोहोराले ‘आशीर्वाद पाउँ सर’ भन्दै खड्गजीत बराललाई फोन गर्नुभएछ । उहाँले भर्खरै आईजीपी नियुक्त हुनुभएको मोतीलाल बोहोरालाई ‘तँ पनि आईजी भइस् नि ? ‘ (सायद अपनत्व देखाउँदै) भन्नुभएछ ।

हामी नेपाल प्रहरीमा भर्ना हुनुभन्दा १४ वर्षअगाडि (विसं २०३५ सालमा) नै आईजीपीबाट रिटायर्ड हुनुभएका बरालका बारेमा नेपाल प्रहरीभित्र धेरै नै किम्बदन्ती अनि गाथाहरू छन् । नेपाल प्रहरीलाई सरकारी युनिफर्म (त्यस अगाडि आफ्नै तलबबाट किन्नुपर्ने) र रासन (त्यसअघि नेपाली सेनालाई मात्र सरकारी रासन हुन्थ्यो) को व्यवस्था गर्ने आईजीपीको रुपमा श्रद्धा गरिन्छ ।

उहाँका पालामा नै प्रहरीका धेरै भवनहरू बने, जुन त्यसअघि प्रहरी कार्यालय अस्थायी भवन वा भाडामा बस्ने गर्द’थ्यो । त्यसैले भन्ने गरिन्छ– खड्गजीत बराललाई रासनको सिता, भवनको भित्ता अनि युनिफर्मको फित्तासम्मले सम्झिन्छ ।

उहाँका बारेमा प्रहरीभित्र धेरै नै गाथाहरू छन्, सँगसँगै निजामती अनि भारतीय प्रहरी, नेपाली सेना र राजासँगको प्रसंगहरू पनि छन् । पूर्वसचिव खेमराज नेपालले आफ्नो पुस्तक ‘समाज, संस्कार र शासन’ मा खड्गजीत बरालका बारेमा प्रसङ्ग उल्लेख गरेका छन् । जब उहाँ संखुवासभाको कामु प्रजिअ (सीडीओ) भएर हाजिर हुन जाँदै हुनुहुन्थ्यो । तत्कालीन गृहसचिव वीरबहादुर शाहीले आईजीपी बरालले भेटेर जानु भनेको छ, एकपटक भेट्नु भन्नुभएछ ।

खड्गजीत बराललाई रासनको सिता, भवनको भित्ता अनि युनिफर्मको फित्तासम्मले सम्झिन्छ ।

प्रजिअ नेपाल आईजीपी भेट्न नक्साल जानुभएछ । भेट्नेबित्तिकै उही ‘तँ’ कै शैलीमा भन्नुभएछ– ‘एइ म १९ हज्जार रुपैयाँ दिन्छु, जिल्ला प्रहरी कार्यालय भवन बनाउनु ।’

प्रजिअलाई चित्त बुझेनछ र त्यति पैसाले प्रहरी कार्यालय भवन पनि बन्दैन, इन्स्पेक्टरलाई नै भन्नुस् भनेर पैसा नलिकन फर्केछन् । पछि इन्स्पेक्टरले त्यहि १९ हज्जार बोकेर जिल्ला गएछन् । स्थानीय श्रोत, जनता, ठेकेदारको सहयोग लिएर ९५ हज्जारमा कार्यालय भवन बन्यो । पछि एउटा कार्यक्रममा आईजीपी बराल र ती प्रजिअको भेट हुँदा प्रजिअले ‘के गर्नु आईजीपी साब, तपाईंको इन्स्पेक्टरले ल्याएको त्यही १९ हज्जारमा भवन त बनायौँ, ९५ हज्जार लाग्यो, तर इन्स्पेक्टरले मलाई नै ज्यादा प्रयोग गरे ।’

तब आईजीपीले भन्नुभएछ– ‘मलाई थाहा थियो, मैले ९५ हज्जार दिएको भए पनि यहि १९ हज्जार खर्च गर्थ्यो र यसरी नै भवन बनाउँथ्यो, बाँकी चप्काउँथ्यो, त्यही भएर १९ हज्जार दिएँ । तर, ९५ हज्जारको काम लिएँ । मैले बुझेको छु नि पुलिसको मनोवृत्ति ।’

जब उहाँ नेपालगञ्जमा डीआईजी हुनुहुन्थ्यो, एकपटक छिमेकी भारतका आफ्ना समकक्षी काउन्टर पार्ट (डीआइजी)सँग मिटिङ गर्न जाँदै हुनुहुँदोरहेछ । भारतको सडकमा बसेको एकजना भारतीय पुलिसको सिपाहीले बुट बजारेर अदवका साथ सलाम गरेछन् ।

उहाँलाई त्यो सिपाहीको सलामले प्रभाव पारेछ । तब आफ्नो गाडी रोकेर सिसा खोल्दै ‘एइ हवल्दार, स्याबास्, तेरो सलाम मलाई मन पऱ्यो बुझिस् ?’ भन्नुभएछ ।

बिचरा त्यो सिपाहीले हिन्दीमा भनेछ, ‘म त हवल्दार हैन, साहबजी, सिपाही मात्र हुँ ।’

तब डीआईजी बरालले भन्नुभएछ ‘ल, मैले बोलिहालें, तँ अब हवल्दार नै होस् ।’

त्यो भारतीय सिपाही चलाख रहेछ । उसले साहबले मेरो बडे साहबलाई बोलिदिए त हुन्छ भनेर आफ्नो नाम र आईडी नम्बर टिपेर दिएछ ।

जब भारतीय डीआईजीसँग बरालको भेट भयो । तब, अघिको टिपोट दिँदै भन्नुभएछ– ‘यो केटोको प्रमोसन हुने बेला भएको हो ?’

डीआईजीले आफ्ना स्टाफलाई डोसियर चेक गर्न लगाएछ र भनेछन्– ‘यो त धेरै जुनियर हो, यसको बेला त ४–५ वर्षपछि मात्रै आउँछ ।’

तब डीआईजी बरालले भन्नुभएछ– ‘अरे पार्टनर, हम ने तो बोल दिया, क्या करोगे अब ? सिपाही के नजरमे डीआईजीका वचन मिट्टीमे मिलाओगे ?’

तब, त्यो सिपाही हवल्दार भएछ ।

नेपालगञ्जको सीमानामा खटिएका ती भारतीय प्रहरीका हवल्दारले आफ्नो बिल्ला देखाउँदै बेलाबखत भन्ने गर्थे रे ‘ये बिल्ला हमे नेपालके बडे साहबले दिया है ।’

यस्तो अदव धेरै कममा मात्रै हुन्छ ।

उहाँको त्यो ‘नो कलर आईडी वाला’ फोन कलपछि म उहाँसँग निरन्तर सम्पर्कमा रहेँ । उहाँ नेपाल प्रहरीको जिउँदो इतिहास, त्यसैले उहाँको मुखबाट ती कथाहरू सुन्न एकदम मन लाग्ने । अहिलेको परिस्थितिमा प्रहरीका आईजीपीलाई निरीह अवस्थामा राखेको देखिँदा उहाँले भन्नुभएको एउटा प्रसङ्ग उल्लेख गर्न मन लाग्यो–

जब नेपाली कांग्रेसले सशस्त्र क्रान्तिका क्रममा विसं २०३१ साल पुषमा ओखलढुङ्गा कब्जा गर्न क्याप्टेन यज्ञबहादुर थापा एवं राम–लक्ष्मण उपाध्यायको नेतृत्वमा नेपाली कांग्रेसको लडाकु दस्ता पठाएको खबर प्रहरी र सेनाले पायो । तब तत्कालीन राजा वीरेन्द्रले नेपाली सेनाका प्रधान सेनापति, नेपाल प्रहरीका आईजीपीसहित सुरक्षा निकायका नेतृत्वको आपतकालीन बैठक बोलाएछन् ।

नेपाली कांग्रेसको लडाकु दस्ता सोलुको पत्ताले जंगलमा पुगेर आक्रमणको तयारी गर्दै गरेको ब्रिफिङ भएपछि राजाले नेपाली सेनाको प्रधानसेनापति सिंहबहादुर बस्न्याततिर नजर लगाउनु भएछ । प्रधान सेनापतिले ‘नेपाल प्रहरीको टोली पहिले गएर उनीहरू भएको ठाउँ घेराबन्दी गरोस् अनि सेनाको टोली जान्छ’ भनेर भन्नुभएछ ।

तत्कालै आईजीपी बरालले ‘अँ, थ्री नट थ्री बोकेको प्रहरीचाहिँ उनीहरूसँग आमुन्ने सामुन्ने हुन जाने अनि आधुनिक हतियार बोकेको तालिमप्राप्त सेनाचाहिँ पछि आउने ?’ राजा मुसुमुसु हाँस्नुभएछ । तब सेना र प्रहरीको संयुक्त टोली जाने निर्णय भएछ ।

यस्तो साहस अहिले त असम्भव नै हुँदै गएको छ । नेपाल प्रहरीमा पहिलो एमए गरेका आईजीपी बराललाई राजा वीरेन्द्रले एकदम मन पराउँथे रे । त्यसैले उहाँ प्रहरीको जागिरमा १६ वर्ष नपुग्दै आईजीपी हुनुभयो । ४ वर्षे आईजीपीको पदावधि सकेर रिटायर्ड हुने बेलामा पनि सेवावधि २० वर्ष नपुगेकाले पेन्सन नहुने भएकाले पछि राजा वीरेन्द्रले पुनः दुई वर्ष म्याद थपेर ६ वर्ष आईजीपी चलाउनुभयो । अवकाशपछि पनि बर्माको लागि शाही नेपाली राजदूत त्यसपछि राष्ट्रिय पञ्चायतको सदस्यमा मनोनित हुनुभयो ।

गत वर्षको भेटमा उहाँले मलाई सोध्नुभयो– ‘तँ प्रहरीलाई यति माया गर्छस् यार, किन छाडिस् जागिर ?’

मैले जागिर छाड्ने क्रममा तत्कालीन आईजीपी श्यामभक्त थापासँग परेको आफ्नो तात्तातात्ती एवं गुनासोको प्रसङ्ग सुनाएँ ।

उहाँ मज्जाले हाँस्नुभयो, ‘ए त्यो बिचराको के कुरा गर्नु ?’

मैले सोधेको थिएँ– ‘उहाँ त सरकै पालामा भर्ना भएको होइन र ?’

उहाँले श्यामभक्तबारे कहानी सुनाउन थाल्नु’भो ।

उहाँ आईजीपीबाट रिटायर्ड भएको चार दशक बितिसक्दा पनि अझै पनि बाहिर सडकमा निस्किँदा कुनै प्रहरीले राम्रो ड्युटी गरेको नभेटे गाडी रोकेर कराउने गर्नुहुँदोरहेछ ।

उहाँको यो स्वाभाव बुझेको उहाँको ड्राइभर (सई) ले बाटोमा कुनै प्रहरीले ड्युटीमा उभिँदा ठीकसँग उभिएको नदेखे उहाँलाई देखाउँदै भन्दारहेछन्, ‘सर हेर्नु त, त्यो पुलिसको पारा !’

एकदिन पूर्वआईजीपी बरालले ती ड्राइभर (सई) लाई हकार्नुभएछ, ‘तँ नै बन्न त आईजीपी, बढ्ता जान्ने हुन्छस् ?’ (त्यसबखत श्यामभक्त थापा आईजीपी रहेछन् ।)

ड्राइभरले भनेछन्, ‘आईजीपी बनायो भने त मज्जाले चलाइदिन्छु नि ।’

बराल– ‘‘चलाइस् तैँले ।’

ड्राइभरले भनेछन्– ‘श्यामभक्त थापाले चलाउन सक्छ भने म नसकुँला ?’

त्यतिखेर पूर्वआइजीपी बरालले भन्नुहुन्थ्यो, ‘यसरी एउटा सईले समेत अन्डरमाइन्ड गर्ने अवस्थाको आईजीपीले हाँकेको प्रहरीको मनोबल कसरी उच्च हुन सक्छ ? घरमुली हेरेर घरको बच्चा अगाडि बढ्छ ।’

गत वर्षको अगस्टमा यसरी नै फेरि उहाँको मेसेन्जर कल आयो ।

‘एइ शिव तँ एनआरएनमा छस् क्या रे, एनआरएनको सम्मेलनमा आउँछस् होला नि ? आइस् भने मलाई बेलायती पियर्स (नासपाती) ल्याइदे है, त्यो स्वादिलो र नरम हुन्छ ।’

त्यस क्षण म खुसीले एकदम पुलकित भएको थिएँ । उहाँले एउटा आफ्नो नजिकको आफन्त ठानेर मलाई ती कुरा भनिरहनुभएको थियो । म नेपाल जाने बेला अरू कुरा लैजान बिर्से पनि उहाँले मगाउनुभएको बेलायती नासपाती चाहिँ नबिर्सिन सजग बनिरहेको थिएँ ।

उहाँ समयको कति पक्का भने, उहाँले भेट्नका लागि मलाई दिउँसो ४ बजेको समय दिनुभएको थियो । तर, यताउता गर्दा म १९ मिनेट ढिलो उहाँको घर पुगेछु ।

उहाँ त बाहिर अर्को कार्यक्रममा जान गाडी पो चढिसक्नुभएको रहेछ । मलाई देख्ने बित्तिकै भन्नुभयो– ‘एइ बेलायती, यही हो तेरो पङ्चुयालिटी ? तँ १९ मिनेट ढिलो आइस्, मैले अर्को कार्यक्रममा जानुछ, ल गाडी चढ, म तेरो घरमा पुऱ्याइदिन्छु ।

म लाजले ‘पानी पानी’ भएँ ।

९३ वर्षको उमेरमा पनि उही जोश अनि समयको ख्याल गर्ने नेपाल प्रहरीका यस्ता अग्रज व्यक्तित्व अहिले ग्रान्डी अस्पतालको आइसीयूमा उपचारार्थ भर्ना हुनुभएको खबरले मन उकुसमुकुस भइरहेको छ ।

प्रत्येकजसो आईजीपीहरूले आफू आईजीपी भएपछि उहाँलाई भेटेर आशीर्वाद र निर्देशन लिने गर्छन् ।

यस्तो गौरव बोकेका पूर्वआईजीपी बराल भन्ने गर्नुहुन्छ, ‘मलाई बेलाबखत पुलिस हेडक्वाटरबाट निम्ताहरू आइरहन्छन, सँगै फोन पनि, अनि फोनमा सोध्ने गर्छन्, हजुर यो भूतपूर्व आईजीपी सा’बको घर पऱ्यो ? म भन्ने गर्छु, अहँ हैन, यो अभूतपूर्व आईजीपीको घर पऱ्यो ।’

यस्ता अभूतपूर्व आईजीपीबाट नेपाल प्रहरीले अझै धेरै वर्ष आशीर्वाद र मार्ग निर्देशन पाइरहोस् । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना ।

२०७७ वैशाख ३०

(हाल बेलायत प्रवासमा रहेका लेखक पूर्वडीएसपी हुन् ।)