किन स्थगन गरियो नेकपाको स्थायी कमिटी बैठक ?

किन स्थगन गरियो नेकपाको स्थायी कमिटी बैठक ?


सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक एकाएक स्थगित गरिएपछि बैठक स्थगनबारे अनेक टीकाटिप्पणी शुरु भएका छन् ।

स्थायी कमिटीका सदस्यको कोरोना जाँच बाँकी रहेकोले उनीहरुको जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको नेकपा पार्टी कार्यालय सचिव ईश्वरी रिजालले औपचारिक जानकारी दिएका छन् । स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरसको परीक्षण गरेर मात्र बैठक बस्ने उनको प्रष्टोक्ति छ ।

सांसद रहेका केही स्थायी कमिटी सदस्यको कोभिड–१९ परीक्षण गरिए पनि केहीको बाँकी रहेकाले परीक्षण गरेर मात्र बैठक बस्ने भनिए पनि पूर्व गृहमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण देखिएकै कारण बैठक अन्तिम अवस्थामा आएर स्थगित गरिएको सो पार्टीका एक केन्द्रिय तहका नेताले दाबी गरे ।

सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत ती २७ वर्षीय जवान भक्तपुरको दुवाकोटका अस्थायी र रामेछापका स्थायी बासिन्दा भएको बुझिएको छ । स्रोतका अनुसार तराई बस्दै आएकी श्रीमती बिरामी परेर उनी एक महिनाको घर बिदामा गएका र फर्किएपछि कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएका कारण उनबाट उनको सम्पर्कमा रहेका व्यक्तिहरुमा संक्रमण भए–नभएको एकीन नभएसम्म नेकपाको बैठक बस्ने छैन ।

ज्ञातव्य छ, आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड–१९ र भारतद्वारा अतिक्रमित नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूची रहेको जनाइएको थियो ।