दूतावासअगाडि विरोध प्रदर्शन गर्दा पहाडी प्रहरी नियन्त्रणमा

दूतावासअगाडि विरोध प्रदर्शन गर्दा पहाडी प्रहरी नियन्त्रणमा


लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको भन्दै भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएर नगर प्रहरीमा राखिएको प्रहरीले जनाएको छ ।

पहाडीसहित लकडाउन उल्लङ्घन गर्ने ५१ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए । उनीहरुलाई दिनभर हिरासतमा राखेर छाडिने जनाइएको छ । केही दिनअघि भारतले सीमा अतिक्रमण गरेको विरोधमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी नेतासहित ३३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

यतिबेला मुलुकका विभिन्न क्षेत्रमा सीमा अतिक्रमणको विरोध भइरहेको छ । सरकारले सडक बनाएको विषयमा कूटनीतिक नोट पठाउँदै शान्तिपूर्ण रुपमा विवाद समाधानका लागि भारतलाई आह्वान गरेको छ भने उक्त क्षेत्र नेपालको भूमि भएको सरकारी धारणा अघिसारेको छ ।

file photo