विज्ञप्तिमा सीमित नहुन सरकारलाई देउवाको सुझाव

विज्ञप्तिमा सीमित नहुन सरकारलाई देउवाको सुझाव


लिपुलेक बारेको पछिल्लो गम्भीर प्रकरणमा समस्या सुल्झाउनको लागि सरकारले उच्च स्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर केवल वक्तव्य मात्रै जारी गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार (२८ वैशाख) एक विज्ञप्ति जारी गर्दै कुटनैतिक तथा राजनैतिक रूपमा उच्च स्तरीय पहलकदमी गर्न सार्वजनिक अपील गरेका छन् ।

‘भारतीय अतिक्रमण र नेपाल सरकारको अकर्मण्यता बारे’ शीर्षकका साथ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका भूभाग नेपालका हुन् भन्दै सरकारमा रहेका बेला होस् या प्रतिपक्षमा छँदा यी भूभाग बारे नेपाली कांग्रेसले सदैब प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको दाबी गरिएको छ ।

तीनबुँदे विज्ञप्तिमा उल्लेख गरिएअनुसार सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेक बारे बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको थियो ।

यसैगरी, सन् २०१९ नोभेम्बरमा भारत सरकारले आफ्नो देशको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका नेपाली भू–भाग समाविष्ट गरेर प्रकाशित गरेपछि तत्कालै नेपाली कांग्रेसले कडा प्रतिक्रिया जनाएको थियो भने प्रधानमन्त्रीद्वारा आयोजित सर्वदलीय बैठकमा ‘भारतीय सेना रहेको कालापानी लगायतका भूमी नेपालको हो, त्यहाँबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ र सिमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भू–भाग फिर्ता गर्न सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्छ’ प्रष्ट धारणा साथ ‘त्यसका लागि नेपाली कांग्रेसको पूर्ण साथ सरकारलाई रहने’ घोषणा गरेको थियो ।

कांग्रेस सभापति देउवाको विज्ञप्तिको तेस्रो बुँदामा भनिएको छ- लिपुलेक बारेको पछिल्लो प्रकरण सार्वजनिक भए लगत्तै “चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा’ माग गर्दै ‘उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न’, नेपाली कांग्रेसले सरकारको दायित्व पुनः स्मरण गराएको थियो ।

देउवाले भनेका छन्- ‘यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्च स्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको सभापति एवं प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कुटनैतिक र राजनैतिक रूपमा उच्च स्तरीय पहलकदमी गर्न सार्वजनिक रुपले अपील गर्दछु ।’

यस्तै, नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सीमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद छ भन्दै विज्ञप्तिमा ‘राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विगतदेखि नै निरन्तर प्रष्ट छ’ भनिएको छ । नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमीमार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस् भन्दै सभापति देउवाले राष्ट्रियताको प्रश्नमा नेपाली कांग्रेसको सम्पूर्ण साथ सरकारको साथमा रहने बताएका छन् ।