घुम्ने मेचमाथि कस्तो मान्छे ?

घुम्ने मेचमाथि कस्तो मान्छे ?


■ मातृका लामिछाने

आज बिहानैदेखि मान्छेको चहलपहल तीव्र छ । केही चिनेका केही नचिनेका मान्छेहरू म रहेको चोटामा आएर घरि मलाई त घरि टेबलहरूलाई यताउता सारिरहन्छन् । एकैछिनमा उनिहरूले कार्पेट नामको प्लाष्टिकको सुकुल ल्याएर बिच्छ्याए । मेरो अघिल्तिरको टेबलमा बास्नाविहीन नक्कली फूलको नयाँ गमला राखे । मेरो आङमा बर्सौंदेखि रहेको गन्धे टावेल हटाएर घ्यू रंगको नयाँ बास्नादार सुकोमल तौलिया राखिदिए । कोठा प्रायः गुम्सो र अँध्यारो हुन्थ्यो, दुई सय वाटका २ थान नयाँ बल्ब जोडिदिए । हावाको कृत्रिम आवतजावत गराउने एसी नामक मेसिन राखियो । बुढा भएका झ्यालहरूमा नयाँ पर्दा टाँगियो । म छक्क परेँ ।

वर्सौंसम्म उही स्थितिमा बसिरहेको मलाई दशैं आएझैँ लाग्यो । यस्तैमा मलाई र मेरी अर्धाङ्गिनी (टेबल) लाई पूर्वी कुनामा पुऱ्याइयो र म बसेको दक्षिण पश्चिम कुनामा हेर्दा पुराना देखिने तर डेन्टिङपेन्टिङ गरेका एकजोडी कुर्सी टेवल भित्र्याइयो । फेरि एकछिनमा मेरो टेबल र त्यो आएको कुर्सीको टेबललाई सट्टापट्टा गरियो । आशा र आशंका चल्न थाल्यो, किन होला यो सब ? मलाई विस्थापित गर्न लाग्या हो कि, अथवा के हो ? मनमा चिसो पस्यो ।

हेर्दाहेर्दै एकैछिनमा फूलमाला र अविरले रंगिएका महानुभाव वरिपरि दुईचार थान भुसतिघ्रे, केही जनकर्मचारी र एकथान पिएसओ लिएर भर्खरै सिंगारिएको कक्षमा छिरे अनि आएर ममाथि आसिन भए । साथमा आएका केही थान दृश्यचित्र यन्त्रधारी अखबार र अनलाइनका सूचकहरूले केही मनका बात सोधे । महोदयलाई बडो अदवका साथ आफ्नो क्रान्तिकारिता र फुलेका बेलुन जस्ता योजना सुनाए र देशलाई अग्रगामी छलाङ मार्दै सिंगापुर र खै के ल्याण्ड बनाउने जादुमन्तर (मन्त्र) सुनाए ।

नयाँ जोगीको खरानी देखेर मख्ख र तीन छक्क पर्दै आजको मिठो मन्तरवार्ताको खजाना पाएर सबै जना बाटो लागे । अब बल्ल मैले आफूमाथि सौता हालेको प्रष्ट बुझेँ । हिजोसम्म एकजना मात्र हाकिम, आज एउटै पद र कामका लागि अर्का पनि थपिएछन् । हरे ! शिव !

जेट विमान भनिने अहिलेको सत्ताधारी पार्टीमा दुई अध्यक्ष पालैपालो मलाई मादल बनाउँछन् । भर्खरै इन्गेजमेन्ट गरेको पार्टीमध्ये एउटामा ६ जना चेयरमेन थिए, केपी कमरेडको पहिलो सरकारमा सातजना सहायक मुखिया पनि एउटै कुर्सीमा विराजमान थिए । यतिबेला यिनलाई कुर्सीमा जति राखे नि भयो । हर्नुस् त कुर्सीको करामत !

‘अरे.. अस्ति मात्र जेलबाट छुटेका यी मनुष्य कसरी यो कुर्सीमा ?’– भर्खर मेरा कोठामा आएको कुर्सीलाई सोधेँ । उसले भन्यो– ‘हामीलाई पाउन यिनले जे पनि गर्न सक्छन् । यी त खुँखार अपराधी थिए, धेरै मान्छे मार्ने–मराउने गरेका थिए रे । दुई सालअघि पनि त्यस्तै के काण्डमा परेर हो जेलजीवनमा थिए तर खै के दिवसमा यिनको कैद मिनाह भएछ । त्यसको सात दिनमै बराबर अनुपातको अंशबण्डामा ताननीय भएर उपमन्त्रीको रुपमा यो कुर्सीमा आइपुग्या हुन् ।’ सुनेर म त त्यसै भरङ्ग भएँ । यस्तो विसंगतिलाई देखेर अनि त्यस्ता खुंखार नामुद आत्मालाई बोकेर आफू कुर्सी हुन पाएकोमा न गर्व गर्न सक्छु न त आत्मालोचना । म त फगत निर्जिव न हुँ । सजिव रुखलाई काटेर बनाइएको निर्जिव बस्तु । कसरी सक्छु र आफ्नो पीडा–ब्यथा बताउन । आखिर वर्षौंदेखि नथाकी बोकिरहेको छु र बोक्नै परेको छ काट्न नसकिने ऐंजेरुजस्तो ।

माथिको विवरण कथा नभइ विचित्रताको चित्रण हो, यथार्थताको वर्णन हो । यो हाम्रो देशका सयौँ–हजारौँ असामान्य घटनाक्रममध्येको एक नमुना घटनाको मनोवाद मात्र हो । यो मनोवाद न कसैले सुन्छ न बुझ्छ, किनकि खुकुरीको चोट कस्तो हुन्छ, गर्धनलाई होईन अचानोलाई सोध्नुपर्छ । उसलाई मात्र थाहा हुन्छ । धेरथोर जे हुन्छ वर्षौंदेखिको भुक्तभोगी म अब बताउँछु ‘कुर्सीरोगी’हरूको कथा अनि मजस्ता कयौँ पीडित कुर्सीहरूको ब्यथा ।

कुर्सी हो मेरो नाम, आसन दिने र आराम दिलाउने मेरो काम । कसैले भन्छन् कुर्ची, कोही भन्छन् मेच । काँटी कब्जा लगाएर कसेपछि पेच, बन्छन् थरिथरिका मेच ! काठ, बाँस र बेतलाई कलाले कुँदेर शिपले खिपेर बन्छन् मजस्ता थरिथरिका मेच । आजकल धातु प्लाष्टिक फाइबरको बनाएर काठको हेला गर्न थालियो । कहिले कपडा, डल्लप र छालाले बेर्छन् मलाई, देखाउँछन् रंगीबिरंगी । कहिले वर्षौंसम्म आङको मैलो कटकटिँदा पनि वास्ता गरिँदैन । पहिले थिएँ चारखुट्टे अहिले एकखुट्टे बन्न थालेँ । पहिले स्थिर थिएँ, अटल थिएँ, आजकल अस्थिर, लचकदार अनि चारै दिशा फनफनी घुम्न सक्ने, खुम्चन, तन्कन र फैलन सक्ने चेयर भएको छु ।

सत्तामा छँदा मलाई पुज्दछन्, ढोक्दछन्, ममाथि बस्न सिमेभुमे देउ–देउराली भाक्छन्, जस्तै भौतिकवादी हुँ नास्तिक हुँ भन्नेले पनि मलाई पाउन र पाएपछि नगुमाउन बिचरो कालो बोकोको बलि दिने र भैंसी भाउजूको समेत पूजा गर्दछन् । मान्छे मार्ने, जिउँदै गाड्ने, जलाउने, झुण्ड्याउने, बैंक लुट्ने, हतियार धुत्ने, द्वन्द्वको खेती गर्ने, युद्धका नाममा कमाई गर्ने सबै कुकर्महरू मेरै प्राप्तिका खातिर गर्दछन् ।

दुई किलो होस् या दुई बिसौली, दुई मन होस् या दुई मुरी जति तौल र पिण्ड भएकालाई नि बोक्नुपर्छ मैले । कसैको लागि पेवा हो कुर्सी कसैको लागि पाकेको मेवा हो । एक्लै बस्नलाई मेच धेरै बस्नलाई बेन्च । कुर्सीको मोलमोलाई हुन्छ, अंशबन्डा हुन्छ र एउटै कुर्सीमाथि सात जनासम्म पनि बस्ने चाहना हुन्छ । कुनै बेला मन्त्रिपरिषद्मा दुई उपाध्यक्ष एउटै कुर्सीमा आसिन भए, ऊबेला सडकमा रहेका दलहरूले तथानाम सत्तोसराप गरे दुई–दुई जना उपाध्यक्ष एउटै कुर्सीमा छिःछिःछिःछिः ! जब तिनीहरू सडकबाट सत्ता (कुर्सी) मा पुगे तब एउटै थाप्लोमा दुई–तीनवटा नाम्लो भिर्ने तिनै भए । जेट विमान भनिने अहिलेको सत्ताधारी पार्टीमा दुई अध्यक्ष पालैपालो मलाई मादल बनाउँछन् । भर्खरै इन्गेजमेन्ट गरेको पार्टीमध्ये एउटामा ६ जना चेयरमेन थिए, केपी कमरेडको पहिलो सरकारमा सातजना सहायक मुखिया पनि एउटै कुर्सीमा विराजमान थिए । यतिबेला यिनलाई कुर्सीमा जति राखे नि भयो । हर्नुस् त कुर्सीको करामत !

‘म’ माथि बस्ने मान्छेलाई नसा हुँदो रैछ । पिण्ड खाने बेलामा पनि अन्तिम पटक भन्दै बस्ने लालसा हुँदो रै’छ । म (कुर्सी)माथि बस्नेलाई भरसक कानुन लाग्दैन । लागिहाले नि दैवले नि नजान्ने कानुनको फेरो समातेर वैतर्णी तर्दछ वा तारिन्छ । अनि भन्छन्– कानुन मान्नका लागि होइन तोड्नका लागि बनाइएको हो ! मेरामाथि उपरखुट्टी लाएर बस्ने मनुवा सबैभन्दा ठूलो र सबभन्दा माथि आफैं हुँ भन्ठान्छ । सडकमा छउञ्जेल या त मकहाँ नआइपुग्दासम्म मान्छे सफा, शुद्ध र निश्कलंक मानिन्छ जब ममाथि आसिन हुन्छ उसको क्षयीकरण सुरु हुन्छ, दिनदशा बिग्रँदै जान्छ र ऊ हरेक काण्डको नायक ठानिन्छ । थाहा छैन ममाथि जो छ, दोषी ऊ हो या त म । तर दोष मलाई लगाउँछन् र कहिलेकाँही त ममाथि बसेको दुईचार दिनमै कालोमोसो पोतेर भगाउँछन् । भन्छन्– मान्छे त राम्रै हो त्यो कुर्सीमा पुगेपछि बिग्रियो । दोष मैमाथि !

कहिले मलाई सिंहासन बनाउँछन् कहिले आसन, यही आसनरुपी कुर्सीमा बसेर मान्छे शानका साथ चलाउँछन् शासन । कहिले दोषी बनाएर मलाई तोड्छन्, फोड्छन्, फाल्छन्, मेरा अंगभंग हुनेगरी भाँच्छन्–जलाउँछन् कहिले सिङ्गै ज्यान पोल्दछन् । अरुको रिस म माथि पोख्छन् । अस्पतालमा कैफियतले मान्छे मर्छन् मैलाई जलाउँछन्, कलेजमा चिफले कैफियत गर्छन् मैलाई जलाउँछन्, उद्योगपति हाकिमले मजदुरलाई तनाखा दिन्नन् मैलाई जलाउँछन्, गाउँ–नगरका हाकिमले नकाम गर्छन् मैलाई आगो लाउँछन्, पुलिसले दोषी समात्दैनन् मलाई जलाउँछन्, समाए पनि हाम्रो गल्लीको मान्छे किन समाएको भन्दै मैलाई जलाउँछन् । चियाबारीका मजदुर उखुबारीका किसान सबैको आँखाको तारो मै हुन्छु । मकैमा घोगा लाग्दैन त्यो मेरै दोष हुन्छ ।

गर्नुपर्ने काम बिर्सन्छन् नगर्ने काम सम्झी–सम्झी गर्छन् अनि मलाई दिक्क लगाउँछन् । घुसखोरी, भ्रष्टाचारीहरू लाख, करोड र अर्बमा कमिसन डिल गर्छन्, आफ्नो भुँडी भर्छन् तर म मुकदर्शक हुन्छु । ममाथि बसेर गरेका जति कुकृत्य छन् तिनको साक्षी हुनुपर्दा मेरो आत्मा पोल्छ भतभती ।

सत्तामा छँदा मलाई पुज्दछन्, ढोक्दछन्, ममाथि बस्न सिमेभुमे देउ–देउराली भाक्छन्, जस्तै भौतिकवादी हुँ नास्तिक हुँ भन्नेले पनि मलाई पाउन र पाएपछि नगुमाउन बिचरो कालो बोकोको बलि दिने र भैंसी भाउजूको समेत पूजा गर्दछन् । मान्छे मार्ने, जिउँदै गाड्ने, जलाउने, झुण्ड्याउने, बैंक लुट्ने, हतियार धुत्ने, द्वन्द्वको खेती गर्ने, युद्धका नाममा कमाई गर्ने सबै कुकर्महरू मेरै प्राप्तिका खातिर गर्दछन् । आफ्नो लागि अरुको बली चढाउँछन् । मलाई पाउन कानुनको हाँगा बंग्याउँछन् एकले अर्कालाई नंग्याउँछन्, सडकमा बसी दंग्याउँछन् । मठ–मन्दिर धाउने, धुपधमार गर्ने, स्वघोषित मातादेखि मसान मामा, तान्त्रिक काकादेखि अघोरी बाबासम्म धाउँछन् । आजकल त परदेशी दुतावासमा खुलेआम मालिकका जोर चरणकमलमा लम्पसार परेर भक्तिभाव गर्दछन्, सँगै लञ्च–डिनर ज्यूनार गरी कुर्सीको भीख माग्दछन् । लाग्छ तिनीहरू नै हुन् कुर्सी निर्माता तिनीहरू नै हुन् यिनका भाग्य विधाता । कुर्सी पाएसी बडो फूर्तिका साथ आफ्नो रिमोर्ट प्रभुका हातमा छ भन्दै गर्वले छाती चौडा गर्छन् । ‘त्यसैले शक्ति मान्छेमा हैन कुर्सीमा हुन्छ, जब मान्छे कुर्सीमा छ मान्छे पावरफूल भो, जब कुर्सीविहीन भो ऊ बेसहरा भो कुखुरीको फुल भो ।’

जो ममाथि बसेर फैसला गर्दछन्, निर्णय गर्दछन्, हुकुम बक्सन्छन् उनिहरू नै मलाई गाली गर्छन् सत्तोसराप गर्छन् । भन्छन् कुर्सीको लडाईं । अरे मेरो त कसैसँग लडाईं छैन दुस्मनी छैन । तर सबै मेरो नाम भजाएर आफू–आफू लडाईं गर्छन् मान्छे मार्छन् मलाई सत्ता नाम दिएर हिंशा गर्छन् आतंक मच्चाउँछन्, बम बारुद गोला पड्काउँछन् निर्दोष र निर्धालाई बलि चढाउँछन् तर फेरि मलाई पाएसी संसार सबथोक बिर्सन्छन् । गरिबका नाममा सत्तामा आउँछन्, यहाँ आएर आफैंलाई गरिव देखाउँछन् र सरकारी सम्पति आफ्ना नाममा लेखाउँछन् । यिनको इरादा के हो ? इच्छा र आवश्यकता के हो ? गर्नुपर्ने काम बिर्सन्छन् नगर्ने काम सम्झी–सम्झी गर्छन् अनि मलाई दिक्क लगाउँछन् । घुसखोरी, भ्रष्टाचारीहरू लाख, करोड र अर्बमा कमिसन डिल गर्छन्, आफ्नो भुँडी भर्छन् तर म मुकदर्शक हुन्छु । ममाथि बसेर गरेका जति कुकृत्य छन् तिनको साक्षी हुनुपर्दा मेरो आत्मा पोल्छ भतभती । छाती चर्किन्छ चरचरी । यिनले खोलानाला बेचे, असमान सन्धि–सम्झौता गरे, सार्वजानिक सम्पति निजीकरण गरे, राजयकोष दोहन गरे यी सबै कुरालाई नजिकबाट नियालेँ । ममाथि बस्ने सवैको हैसियत र असलियत थाहा छ मलाई तर असल नियत एकदम कमको मात्र थाहा छ ।

सत्तामा बसेर सित्तैमा भत्ता खाएर मैमत्ता भएका अधिकारी (थर होइन)हरूको अजीर्ण गजभुँडे पेटमा हुने जलबायु परिवर्तनले घरिघरि मलाई दुर्गन्धित र आतङ्कित बनाउँदछ र म बेहोस झैँ हुन्छु । भन्ठान्छु म कुन दिनमा कुर्सी हुन आइपुगेंछु । म त जंगलमै ठीक थिएँ । बनेकै भए पनि किन म टेवल बनिनँ, किन दराज बनिनँ ? सँगैका रुख साथीहरू डेस्क भए दराज भए टेबल भए तर म कुर्सी । धत् मेरो भाग्य । ‘म’ (कुर्सी) भने पछि मान्छेनामक प्राणी कोही आरिस गर्छन्, आशक्ति गर्छन्, कोहि मरिहत्ते गर्छन्, मारामार र हानाहान गर्छन् कोही छिःछि र दुर–दुर गर्छन् । राजादेखि रैतीसम्म सरदारदेखि सरकारसम्म, पाले, पुलिस, हाकिम, अभियुक्तदेखि नायक–खलनायकसम्मका फोहोरी पिँध थाम्ने अभागी कुर्सी भएँ म । एकान्तमा सम्झिएर आफ्नो भाग्यलाई रुने गर्छु म ।

रोपाइँमा चेलीबेटी समाउनेदेखि परस्त्रीमा रमाउनेसम्म, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद भन्दै उर्लने, सुरुङयुद्ध लड्ने भन्दै कुर्लने, आफू दक्षिणतिरकै ओतप्रोतमा हुर्कने अनि आफ्नो घरमा बिग्रहको मट्टितेल छर्कने सबै खालका मनुष्य चोलाहरू बिना रोकटोक बोकेको छु । भूमिगतमै चुनाऊ लड्ने, उम्मेद्वार देख्नै नपाई सांसद् बन्ने, सभामा बम पड्काएर, मास्टरजीलाई रुखमा लट्काएर, घाँटी काटेर हिरो बन्ने सबैखाले आकृतिलाई म राम्रोसँग चिन्दछु, जान्दछु किनकि ती सबैलाई लाज, डर, घिन, शरम नमानी काखमा बोकेको छु ।

सँगैका साथी दराज, टेबलहरू भन्छन्, साथी तिमी त कति भाग्यमानी रहेछौ त्यस्ता महान्, शक्तिशाली, विद्वान्हरूलाई बोक्न पाउँछौ । मैले जवाफ दिएँ, हेर साथी हो म भाग्यमानी हुने दिन आउला जस्तो छैन । मैले आजसम्म जो–जसलाई बोक्ने मौका पाएँ ती नायकभन्दा नि नाइके जस्ता रहे । ती सबको चित्र र चरित्र मात्र होइन तीनपुस्ते जन्मकुण्डली समेत थाहा छ मलाई । केही अपवादका पात्रहरू आए तिनलाई लामो समय बस्नै दिएनन् । बाँकी जो–जो आए सबै मौकामा चौका हान्ने लौकाहरू मात्र आए । मैले एकदमै साधु, सन्त, महन्त, इमानदार, सरल, ज्ञानी, विद्वान्, कर्तब्यपरायण, देशभक्त, जनसेवक, राष्ट्रसेवकलाई नि बोकेको छु, हातमा सुराई र छाता मात्र हुनेदेखि साथमा दुई तीन थान सादा मोबाइल मात्र हुनेलाई पनि बोकेको छु ।

लुटाहा, फटाहा, चोर, गद्दार, दलाल, भ्रष्ट, पतीत, सन्ड, मुण्ड, कर्मचारीका हाकिमदेखि ब्रम्हचारीका नायिकेसम्म, घुस खानेदेखि भुस खानेसम्म, कोशीदेखि गण्डकीसम्म, टनकपुर हुँदै महाकालीसम्म, धमिजादेखि लाउडासम्म, चाइना साउदर्नदेखि वाइडबडीसम्म, सुडानदेखि उडानकाण्ड, त्रिपालदेखि त्रिसुलकाण्ड, सरकारी उद्योग बेच्नेदेखि वैदेशिक रोजगार भन्दै पौरखी बहादुरहरू बेच्नेसम्म, देश बेचेर शेष बनाउन खोज्ने, बाख्राको मष्तक देखाएर बाँदरको मांसपिण्ड बेच्नेसम्म, सुनदेखि नुन काण्डसम्मका प्रवर्तकहरूलाई पालैपालो बोकेको छु । रोपाइँमा चेलीबेटी समाउनेदेखि परस्त्रीमा रमाउनेसम्म, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद भन्दै उर्लने, सुरुङयुद्ध लड्ने भन्दै कुर्लने, आफू दक्षिणतिरकै ओतप्रोतमा हुर्कने अनि आफ्नो घरमा बिग्रहको मट्टितेल छर्कने सबै खालका मनुष्य चोलाहरू बिना रोकटोक बोकेको छु । भूमिगतमै चुनाऊ लड्ने, उम्मेद्वार देख्नै नपाई सांसद् बन्ने, सभामा बम पड्काएर, मास्टरजीलाई रुखमा लट्काएर, घाँटी काटेर हिरो बन्ने सबैखाले आकृतिलाई म राम्रोसँग चिन्दछु, जान्दछु किनकि ती सबैलाई लाज, डर, घिन, शरम नमानी काखमा बोकेको छु ।

अहिले त म घुम्ने कुर्सी भएको छु, किनकि कहिले मलाई यता लान्छन् कहिले उता । आफ्नो अक्ष र कक्ष दुवैतिर घुमिरहन्छु म । मन्त्रालय, विभाग, परिषद्, शाखा सबतिर घुमिरहन्छु । तर पनि केही दिनदेखि म खाली छु, फाजिलमा थन्क्याइएको कर्मचारीजस्तो । अस्ति मात्र शानका साथ नियुक्ति पाई मकहाँ आएका हाकिमसाब अभियुक्त ठहरिएकाले बर्खास्तीमा परेछन् । धेरै पहिले भूपीले भनेथे, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ ! तर, भनिसाध्यै छैन आजकल कस्ता कस्ता बस्छन् घुमाउने कुर्सीमा । आजको मनुष्य पुस्ताले सोध्ने गर्दछन्– ‘घुम्ने मेचमाथि कस्तो मान्छे ?’ जवाफ असरल्ल छन् तर सरल छैनन् । कस्तो–कस्तो ? ‘घुम्ने मेचमाथि कस्तो मान्छे ?’