‘काङ्ग्रेसको पहिलो प्राथमिकता नै शान्ति’ : नेका सभापति देउवा

‘काङ्ग्रेसको पहिलो प्राथमिकता नै शान्ति’ : नेका सभापति देउवा


नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको पहिलो प्राथमिकता नै शान्ति भएको बताएका छन् ।

बुद्ध जयन्तीको अवसरमा आज (२५ वैशाख) शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गरेका छन् ।

दिगो शान्तिबिना मुलुकको समग्र विकास सम्भव नहुने भन्दै शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसर रहेको सभापति देउवाले औंल्याएका छन् । हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकारविरोधी क्रियाकलाप अब सदाका लागि बन्द गर्नुपर्ने उनको धारणा छ ।

नेपाललगायत विश्वका सबै देश अहिले कोभिड–१९ बाट प्रताडित रहेको बताउँदै सभापति देउवाले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दूरी कायम गरेर यो विश्वव्यापी महामारीलाई परास्त गर्नु आजको आवश्यकता भएकामा जोड दिएका छन् ।

उच्च मनोबलका साथ आपसी सहकार्य र एकता बिना यो कार्य सम्भव नहुने र यसमा सबै सचेत छौँ भन्नेमा सभापति देउवाले विश्वास व्यक्त गरेका छन् । शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतमबुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गर्न र अशान्ति, हत्या तथा हिंसाको विरोध गरौँ भन्दै उनले बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।