सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक अनिश्चित

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक अनिश्चित


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टीको स्थायी कमिटी बैठकको टुंगो नलागी सम्पन्न भएको छ । स्थायी कमिटीका २० सदस्यले बैठक बोलाउन माग गरेपछि यसअघि बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको भनिए पनि अब कहिले बस्ने भन्ने निश्चित नभई बुधबार (२४ वैशाख)को सचिवालय बैठक टुंगिएको हो ।

२६ गते बस्ने भनिएको बैठकको कार्यसूचीलगायत आवश्यक तयारीका लागि बसेको सचिवालय बैठकमा कुनै निर्णय हुन नसकेपछि अर्को बैठकको मिति तोक्नेदेखि त्यसको कार्यसूची तय गर्नेसम्मको जिम्मा अध्यक्षद्वयलाई दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आवश्यक तयारी नपुगेपछि अर्को बैठक कहिले बस्ने भन्ने निश्चित हुन नसकेको बताइएको छ ।

सचिवालयको वैशाख २० गतेको निष्कर्षको मर्मअनुरुप उक्त बैठकको कार्यसूची र प्रस्ताव तयार पार्ने प्रक्रियाका सम्बन्धमा दुई अध्यक्षद्वयले अझै गृहकार्य गर्न बाँकी रहेको बैठकलाई जानकारी गराइएको प्रवक्ता श्रेष्ठको भनाई छ ।

दुवै अध्यक्ष छलफलमै रहेकाले दुई जनाले सल्लाह गरेर स्थायी कमिटी बैठक र त्यसको कार्यसूचीका बारेमा निर्णय गर्ने भएका छन् ।

यसैबीच प्रचण्डका निकट एक नेताले अध्यक्ष ओलीले अस्वस्थता र व्यस्तता देखाएर बैठक टार्न खोजेको आरोप लगाएका छन् । मिति तोकिसकिएको बैठकलाई कार्यसूची तय नभएको भन्दै अल्झाएर बैठक नै अनिश्चित तुल्याइदिएको उनको आरोप छ । यता केपीपक्षीय नेताहरुको भनाई चाहिँ प्रधानमन्त्री अत्यन्त व्यस्त रहनुभएकोले बैठकको मिति तोक्न नसकिएको भन्ने छ । दुई अध्यक्षले आपसमा सल्लाह गरेर स्थायी कमटी बैठकको तिथि टुंगो लगाउने भएकाले यसबारे धेरै माथापच्ची गरिरहनु आवश्यक नरहेको बालुवाटारसम्बद्ध श्रोतले बतायो ।