कोरोना परीक्षणको दायरा बढाउन कांग्रेसको माग

कोरोना परीक्षणको दायरा बढाउन कांग्रेसको माग


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको सन्दर्भमा कोरोना परीक्षणको दायरा व्यापक रुपमा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोनमार्फत उक्त स्थानमा व्यापक रुपमा परीक्षणको दायरा बढाउन ध्यानाकर्षण गराउनुभएको संसदीय दलले जनाएको छ ।

कुराकानीका क्रममा प्रमुख सचेतक खाणले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने तथा आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ट व्यवस्था र विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

सङ्क्रमित व्यक्तिहरु अरु थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भएको हुँदा त्यसलाई मध्यनजर गरी सम्पर्कमा आएका व्यक्तिको तत्काल खोजी गरी परीक्षण गर्नुपर्ने र थप सङ्क्रमण फैलन नदिन सावधानी अपनाउन नेता खाणले आग्रह गरे ।

त्यसैगरी, रुपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ का भारतबाट आएका युवकलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको हुँदा निजको सम्पर्कमा आएको व्यक्तिमा पनि सङ्क्रमणको उच्च जोखिम भएकाले उनीहरुको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिनुपर्ने बारेमा प्रमुख सचेतक खाणले जोड दिए ।

यस्तै, स्वास्थ्य सामग्रीको अभाव रहेको जानकारी गराउँदै उनले तत्काल आवश्यक सामग्री व्यवस्थाका लागि आग्रह समेत गरेका र जवाफमा मन्त्री ढकालले स्वास्थ्य सामग्री कमी भएका स्थानमा यथाशीघ्र आवश्यक सामग्री पठाइने जवाफ दिएका बताइएको छ ।