नेकपा अध्यक्ष केपी ओली र प्रचण्डसहित शीर्ष नेताहरूले गरे आत्मालोचना

नेकपा अध्यक्ष केपी ओली र प्रचण्डसहित शीर्ष नेताहरूले गरे आत्मालोचना


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले यही वैशाख २५ गते बिहीबार बिहान ११ः०० बजे पार्टी स्थायी कमिटीको बैठक गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको केन्द्रीय सचिवालय बैठकले बुधबार अपराह्न ३ः०० बजे केन्द्रीय सचिवालयको बैठक गर्ने निर्णय गरेको छ । बताइएअनुसार स्थायी कमिटीको बैठकको तयारीका निम्ति उक्त बैठक हुनेछ । साथै, शनिबारकै सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपालाई एकताबद्ध राख्ने, पार्टीलाई विधि पद्धति र कम्युनिष्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताका पक्षमा समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय बैठकले गरेको नेता श्रेष्ठले बताए ।

बैठकमा पार्टी र सरकारबाट भएका कमी–कमजोरीको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अध्यक्ष प्रचण्ड र अन्य नेताहरुले आत्मालोचना गरेका उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले पार्टीलाई फुटउन्मुख गराउने कुनै पनि किसिमका क्रियाकलापमा कोही पनि सहभागी नहुने प्रण गर्दै अन्य नेता कार्यकर्तालाई पनि त्यसैअनुरुप निर्देशनसमेत दिइएको जानकारी गराए ।

पार्टी र सरकारसँग जोडिएर उठेका समग्र विषयवस्तुको समीक्षा गरी पार्टीलाई सुदृढ र मजबुद तुल्याउने तथा सरकारलाई थप प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी कोरोना महामारीबाट जोगिन सरकारले चालेका कदमलाई कार्यान्वयन गर्न पार्टी एकताबद्ध भएर परिचालन हुने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले चाँडै नै संसद्को बैठक बोलाउने तयारी भइरहेको जानकारी दिँदै सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सामाजिक–आर्थिक रुपान्तरणका कार्यक्रमलाई अघि बढाइने बताएका थिए । कोरोनाका कारण उत्पन्न आर्थिक सङ्कटलाई समेत सम्बोधन गर्ने गरी जनमुखी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको जानकारी पनि प्रधानमन्त्रीले दिएका प्रवक्ता श्रेष्ठलाई उद्धृत गर्दै राससले जनाएको छ ।