बालुवाटारमा सत्तारुढ नेकपाको सचिवालय बैठक

बालुवाटारमा सत्तारुढ नेकपाको सचिवालय बैठक


सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार र पार्टीबाट विस्थापित गर्ने अन्तिम अवसरको रुपमा नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्डको रणनीतिमा जारी रहेको खिचातानीको खेल उत्कर्षमा पुगेको छ । केपीलाई यसपटक पनि बिस्थापित तुल्याउन नसके आफू सदाको लागि साइड लाग्न सक्ने बुझाइमा रहेका प्रचण्डको रणनीतिको पक्षमा पूर्वएमालेका तीन शीर्षस्थ नेताहरु माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमसमेत उभिएको अवस्थाले प्रधानमन्त्री ओली पक्ष कमजोर बन्न पुगेको आँकलन सतही रुपमा हुँदै गर्दा सो पार्टीको सचिवालय बैठक बालुवाटारमा ६ बजे शुरु भएको छ ।

ओली र प्रचण्ड दुवैको अध्यक्षमा शुरु भएको बैठक पार्टीभित्र विकसित पछिल्लो स्थितिको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा तय बसेको बताइए पनि आजको (१७ वैशाख) बैठकको विशेष महत्व रहेको छ । नेकपाभित्र विवाद चर्कँदै जाँदा केपीइतरका समूहको दबाबमा सचिवालय बैठक बोलाइएको हुँदा प्रचण्ड पक्षले ओलीलाई अप्ठ्यारोमा पार्ने गरी बैठकलाई चर्काउन सक्ने उक्त पार्टीभित्रै चर्चा चलिरहेको छ ।

सरकारले पछिल्लो समयमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश जारी र खारेज गराएको, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएको लगायत सन्दर्भमा नेकपाभित्र देखिएको विवादले ठूलो रुप लिइसकेको छ । फलतः दुवै अध्यक्षले आ-आफ्नो शक्ति र राजनीतिक कौशल प्रदर्शनको बाध्यात्मक अवसरको रुपमा यस बैठकलाई लिएका छन् । आजको बैठकमा सहमतिको माहोल पैदा नभए नेकपाभित्रको राजनीति मात्र नभई देशकै राजनीतिले नवीन मोड लिन सक्ने ठानिएको छ ।