प्रधानमन्त्री ओलीसँग दोहोरो भनाभन नभएको वामदेवको प्रष्टोक्ति

प्रधानमन्त्री ओलीसँग दोहोरो भनाभन नभएको वामदेवको प्रष्टोक्ति


आफू र प्रधानमन्त्री ओलीबीच शनिबार दोहोरो भनाभन भएको भनी कतिपय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेको प्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आश्चर्य प्रकट गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै नेता गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार कुराकानी भएको र पछिल्लो कुराकानीका क्रममा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको उनले जनाएका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि पनि उत्पन्न अनेक समस्या समाधान गर्न पार्टीका कमिटीलाई बाइपास नगरी प्रत्यक्ष छलफल गरेर तथा अरुका सुझाव र विचारलाई सम्मान गर्दै समाधान गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिएको उपाध्यक्ष गौतमले स्पष्ट पारेका छन् ।

आफू र प्रधानमन्त्री ओलीबीच शनिबार दोहोरो भनाभन नभएको गौतमको भनाई छ । उनले पार्टीको सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउन सुझाव दिएको स्पष्ट पार्दै भनेका छन्- ‘प्रधानन्त्रीले धैर्यपूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।’