घरभाडा मिनाहा गर भन्नेले भ्रष्ट क्रियाकलाप त्याग्ने हो कि ?

■ मोहनप्रसाद खतिवडा, टोकियो (जापान)



सेवा नै धर्म हो– यसमा दुईमत हुन सक्दैन । सामाजिक सेवाको सन्दर्भमा समय अलिक फरक देखिएको छ वर्तमानमा । पहिलेभन्दा अहिले सेवा गर्नेहरू दिन दुगुना रात चौगुनाले बढिरहेका छन्, तर बिल्कुल फरक तरिकाले ।

हिजो निःस्वार्थ सेवा गर्थे मानिसहरू, एकअर्कामा पवित्र भावना थियो मानिसबीच । आजकालचाहिँ केही प्राप्तिको लागि केही गुमाउने प्रचलन हुर्किरहेको छ । यो समाजका हर–कोहीलाई आफ्नो बढाइचढाइ विज्ञापन चाहिएको छ । नाम चाहिएको छ जसरी पनि, गुमनाम बस्न रूचाउने खासै भेटिन्नन् । आफूलाई ‘समाजसेवी’ भनाउन अनेक उपाय अवलम्बन गर्छन् । कैयनले त अत्यन्त हास्यास्पद क्रियाकलाप पनि गरेका हुन्छन्, ‘सेवा’मार्फत् नाम कमाउने धुनमा । अनुभवी उमेरका हुन् वा अल्लारे, सबलाई नाम चाहिएको छ । सम्पन्न हुन् या विपन्न, सक्षम हुन् या अक्षम, सब नामका पछि दौडिरहेका छन् ।

कोही एक पातो ‘प्रशंसापत्र’को लोभमा त कोही विभिन्न मिडियामा आफ्नो नामसहित तस्बिर प्रकाशित हुने लालसामा कथित समाजसेवामा होमिने प्रतिष्पर्धा चलेको परिवेशमा जिज्ञासा जाग्छ कि दिनलाई त दाता पनि योग्य हुनुपर्छ, अनि मात्र दान दिनुको पनि सार्थकता रहन्छ, होइन र ? चार किलो चामल र चार पोका चाउचाउ, त्यो पनि कुनै स्पोन्सरमार्फत् हात पारेर पीडितलाई प्रदान गरेको नौटङ्की मञ्चन गर्दै तस्बिर खिचाउनुको के तुक रहला ? दिनलाई त आफैसँग हुनुपर्यो, मन खोलेर दिनुपर्यो । अनि पो दिनुमा सन्तोष प्राप्त हुन्छ र पाउनेले पनि राहत महसुस गर्छ । हालै पूर्वराजाले दुई करोड दान दिए, चौधरी घरानाका वसन्त चौधरीले पनि शुरुमै करोड दान दिएको खबर सुनियो । यी दानलाई खासमा दान मान्न सकिन्छ । तर, एक प्याकेट चामल दिएर सामाजिक सञ्जालमा ङिच्च हाँस्दै फोटो टाँसेर के–के न गरेँ भनिठान्नु ब्यर्थ हो । आज यदि सामाजिक सञ्जालहरूको प्रयोग हुने थिएन भने सायद यो वा त्यो नाममा सहयोग हुन्थ्यो भन्नेमा शङ्कै छ ।

आजकाल नेपाली समाजमा विभिन्न नाममा धार्मिक यज्ञहरू लगाइएका हुन्छन्, जसको उद्देश्य नै आर्थिक संकलन रहेको हुन्छ । परम्परागत यस्तो पवित्र धर्म–संस्कारलाई अर्थ संकलन गर्ने हतियार बनाउनु कति जायज हो, त्यो त धार्मिक वेत्ताहरूले नै प्रमाणित गर्लान्, तर पवित्र संस्कारलाई यसरी आर्थिक हतियार बनाउनु धर्म संस्कारमाथिको प्रहार नै हो, घोर विकृति हो ।

यस्तै, आफ्नो परिवार पाल्न घरबास छोडी प्रवास पुगेकाहरूलेसामाजिक सञ्जाल एवम् मिडियामा देखाइएका इमोशनल भिडियोहरू हेर्दै मन बहकाएर आफ्नो गाँसै कटाई गर्नेगरेका तथाकथित सहयोगहरू कत्तिको स्वच्छ होलान् ? यसरी आफूखुशी रकम संकलन गर्नु कानूनसम्मत छ ? अनि के यसको नियमन गर्ने कुनै निकाय छ त सरकारसँग ?

एकातिर सर्वसाधारण नागरिकहरूबाट यसरी रकम संकलित गर्दै धेरै या थोरै रूपमा समाजमा केही राम्रा कार्यहरूको थालनी हुँदैछ भने अर्कातिर फेरि सरकार सम्पूर्ण घरधनीहरूलाई एक महिना घरबहाल छुट दिनु भनेर भ्रामक सूचना जारी गरिरहेछ । विश्व नै सङ्कटमा रहेको यो घडीमा सक्नेले या आफ्नो आर्थिक हैसियत बलियो हुनेले सहयोग गर्नु मानवताको उच्चतम् नमूना हुन सक्ला । तर, वर्षौं पसिना बगाई मेहनतको कमाईले कुनै नागरिकले एउटा घर बनाउँछ अनि आफ्नो दैनिकी केही सहजता ल्याउनको लागि त्यहि घर बहालमा लगाउँछ भने यसभित्रको ब्यथा बुझ्ने कोशिस नै नगरी हचुवा शैलीमा सरकारले यस्ता सूचना जारी गरेर समाजमा वैमनष्यता पैदा गराउने हर्कत गर्नु कहाँसम्म उचित मान्न सकिएला ?

राष्ट्र र जनताका नाममा कसम खाएका सरकारका प्रतिनिधिहरू जनसरोकारका विषयमा खेलबाड गर्दै जनताले तिरेका करको दुरूपयोग गरेर यो वा त्यो बहानामा अर्बौं भ्रष्टाचारमा निर्लिप्त भएका समाचार व्याप्त छ । तिनै सरकारका प्रतिनिधिहरूले जनताको ब्यक्तिगत सम्पतिको अधिकारमाथि हस्तक्षेप गर्न खोज्छन् भने यो असैह्य मात्र नभई निन्दनीय नै हो । ठूलालाई चैन सानालाई ऐन किन सरकार ?

जनताको ब्यक्तिगत सम्पत्ति प्रयोग गरे बापत राज्यले केही छुट दिइरहेको पाइन्छ संसारका कैयन देशमा, तर हाम्रोमा यस्तो केही देखिँदैन आजसम्म पनि । यसरी जनतालाई एक महिना घरबहालमा छुट दिलाउने बाध्यात्मक स्थिति सृजना गर्नुभन्दा सरकारका प्रतिनिधिहरूले केही महिना भ्रष्टाचार नगरिदिँदा बरु देशले दीर्घकालीन काँचुली फेर्थ्यो कि ?

प्रतिक्रिया