‘अष्ट्रेलियाले ‘नेवानि’लाई अष्ट्रेलिया उडान भर्न सघाउने’

‘अष्ट्रेलियाले ‘नेवानि’लाई अष्ट्रेलिया उडान भर्न सघाउने’


अष्ट्रेलियाले आफ्नो भूमिमा रहेका नेपालीलाई बिचल्लीमा पर्न नदिने र उनीहरूको उपयुक्त हेरविचार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सोमबार (२४ चैत) बिहान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भएको टेलिफोन वार्तामा अष्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले नेपालीहरूलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारीबाट अष्ट्रेलियामा पनि प्रभावित भएको र त्यसबाट त्यहाँ रहेका नेपालीलाई पर्नसक्ने कठिनाइप्रति मन्त्री ज्ञवालीले ध्यानाकृष्ट गराउँदा समकक्षी पेनले सबैले रुचाएको नेपाली समुदायको हित र सुरक्षालाई अष्ट्रेलियाले ध्यान दिने बताउनुभएको मन्त्री ज्ञवालीलाई उद्धृत गर्दै राससले सम्प्रेषण गरेको छ ।

टेलिफोनवार्ताबारे जानकारी दिँदै मन्त्री ज्ञवालीले भन्नुभएको छ– ‘अष्ट्रेलियाली पर्यटकहरूको हालैको स्वदेश फिर्ती, अष्टे«लियामा रहेका नेपाली विद्यार्थीको हित र सुरक्षा, नेपाल र अष्ट्रेलियाबीच भावी दिनमा नेपाल वायु सेवा निगमले गर्ने सिधा सेवा, नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षका सन्दर्भमा आपसी सहकार्य र साझेदारीबारे विचार विमर्श भयो ।’

आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले निर्वाह गरेको भूमिकाको सराहना गर्दै अष्ट्रेलियन मन्त्री पेनले नेपाल वायु सेवा निगमलाई भविष्यमा अष्ट्रेलिया उडान भर्न सघाउने समेत बताउनुभएको मन्त्री ज्ञवालीको भनाई छ ।