स्वार्थ, व्यापार र प्रेमको भ्रम !

स्वार्थ, व्यापार र प्रेमको भ्रम !


■ देवप्रकाश त्रिपाठी

उकालो ठूलो थिएन ।

एक घन्टामा आरोहण गर्न सकिने ‘त्यस’ पहाडको टुप्पोमा पुग्न उनीहरूलाई दुई घन्टा लाग्यो । जीवन र सृष्टिका प्रति जिज्ञाशु दुवैजना ब्रह्माण्ड रहस्यको अनेकौँ पाटोमा कुरा गर्दै जाँदा ढिलै भए पनि शिखरमा पुगेको उनीहरूलाई पत्तै भएन ।

एकतिर नीलो सगरमा चाँदीको फूलझैँ हिमालय शृङ्खला, अर्कोतिर सहश्र पहाडका तरेली, घामको उज्यालोमा टलक्क टल्किएका नदीहरू र नदीको दुवैतिर हरिया फाँट, जता दृष्टि पुऱ्यायो त्यतैपट्टि मोहक आनन्दमय दृश्यभूमि । सरिना दृश्यमदमा लट्ठिइन् र रोमाञ्चित हुँदै नाचौँलाझैँ गर्न थालिन् ।

यो त्यस भेककै सबैभन्दा अग्लो र रमणीय टाकुरो थियो । त्यहाँ पुगिसकेपछि वर्जित प्रतिक्रियाविहीनझैँ देखिए ।

वर्जितको मौनता सरिनालाई प्रिय लागेन ।

उनले वर्जितको चिउँडो च्याप्प समातेर दायाँबायाँ हल्लाउँदै सोधिन्– ‘किन बोल्दैनौ ? कि यो सुन्दरताले तिम्रो हृदयमा स्पर्श गरेन ?’

‘सुनेको मात्र थिएँ यहाँको रमणीयताको बारेमा, अहिले महसूस गर्न पाइएको छ, तर…’

वर्जितको वाक्य पूरा हुन नपाउँदै सरिनाले रोकिन्– ‘के को तर ? तर–सर लगाएर यो स्वर्गमाथि कुनै आक्षेप लगाउने कोसिस नगर है ।’

‘मैले कुनै आक्षेप लगाउन खोजेको होइन सरिना ।’

‘नभए ‘तर’ किन ल्यायौ त बीचमा ?’

‘म ‘कन्फ्युज्ड’ भएँ ।’

‘किन ? के कुराले ‘कन्फ्युजन’मा पाऱ्यो तिमीलाई ?’– छक्क पर्दै सरिनाले सोधिन् ।

‘म पहाडको शिखरमा आइपुगेँ, यहाँबाट जस्तो दृश्य देखिँदै छ यसले मलाई आनन्दविभोर तुल्याएको छ । ‘कन्फ्युजन’ केमा मात्र भएको हो भने म यहाँबाट जहाँ देखिरहेको छु त्यो ठाउँ सुन्दर हो या म जहाँ उभिएको छु यो स्थानचाहिँ सुन्दर हो, मैले ठम्याउन सकिनँ,’ वर्जितले आफू ‘कन्फ्युजन’मा पर्नुको कारण खोले ।

‘तिमी दार्शनिक भयौ वर्जित, भ्रममुक्त होऊ र तिम्रा नयनले जे देखेर आनन्दानुभूति समेट्दै छ त्यसैमा सीमित भएर खुसी हुन सिक’, सरिनाले सुझाइन् ।

‘त्यो म बुझ्छु सरिना, सत्य बुझेर भन्दा भ्रममा बाँचेको जिन्दगी नै बढी आनन्दमयी हुन्छ । सत्य बुझ्न या बुझेर व्यवहार गर्न चाहनेहरूको जिन्दगी जति जटिल र तनावयुक्त हुन्छ, अबुझ या बुझ्न नचाहनेहरूको त्यति नै सरल र सहज किसिमबाट चलिरहेको हुन्छ । सत्य नबुझ्ने र सत्य स्वीकार गर्न नसक्ने मानिसले आफ्नो जीवन साँच्चिकै रमाइलोसँग बिताइरहेका हुन्छन्, वर्जितले आफ्नो अनुभूति पोखे ।

‘प्रवचन अलिक लम्बिन खोज्यो कि ?’, सरिनाले व्यङ्ग्य चलाइन् । र, भनिन् ‘फर्कौं अब ।’

दृष्यानन्द लिइसकेपछि धेरै समय त्यहाँ बिताइरहनु पर्ने थिएन, उनीहरू ओरालो झर्न थाले ।

वर्जितको वाक्यप्रवाह थामिएन । उनले भने, ‘सरिना, म अबुझ । तर, नबुझेको अभिनय गर्न सक्छु । जस्तो कि हामीबीच मित्रता छ, यति मात्र बुझ्दा आनन्दको अनुभूति हुन्छ । सत्य के हो भने यो दिगो हुँदैन । एक न एक दिन जुनसुकै रूप र सारमा भए न हाम्रो सम्बन्धले टुट्नैपर्छ । यो मृत्युपहिले नै टुट्छ कि मृत्युसम्म पुगेर टुट्छ त्यो बेग्लै हो, तर सम्बन्धले एक दिन टुट्नैपर्छ । यो प्राकृतिक नियम हो । यो सत्यलाई आत्मसात् गर्ने हो भने मन सधैं भारी हुन्छ । त्यसैले सत्य बिर्सिंदा नै म बढी आनन्द महसुस गर्छु ।’

वर्जितका कुराले सरिनालाई गम्भीर तुल्यायो । तर उनको गाम्भीर्य वर्जितको कुराको सारसँग होइन, कुरामा प्रयोग भएको व्यहोरासँग सम्बन्धित थियो ।

उनले भनिन्, ‘वर्जित हामी मित्र मात्र होइनौँ, त्योभन्दा बढी नै केही हौँ, होइन र ?’

तर सरिनाको प्रश्नले वर्जितलाई छोएन । उनले प्रतिप्रश्न गरे, ‘मित्रताभन्दा बढी के हुनसक्छ र सरिना ?’

प्रश्नकै भाकामा जवाफ दिँदै सरिनाले आफ्नो भावनाको थैली खोलिन्, ‘मैले तिमीलाई माया गर्छु भन्न चाहेँ भने ?’

‘त्यस्तो कुरा भन्न नचाहेकै राम्रो जस्तो लाग्छ’, वर्जितले जवाफ फर्काए ।

‘तिमीमा समर्पित हुने इच्छाले बाध्य तुल्याएकोले मायाको कुरा गर्न चाहेकी हुँ’, सरिनाले कारण खोलिन् ।

‘माया’ ! विष्मय र आश्चर्यभाव झल्कियो वर्जितको अनुहारमा ।

‘हो, मायाको इच्छा प्रकट गर्दै छु ।’

‘केका लागि माया ? किन माया ?

‘मायामा पनि किन भन्ने प्रश्न लगाइरहनुपर्छ र ?’

‘किन पर्दैन ? पर्छ नि,’ वर्जित अलिक कठोर देखिए ।

नम्रतापूर्वक सरिनाले जिज्ञाशा राखिन्, ‘कसरी ?’

वर्जित अझ कठोर बन्दै गए । उसले भन्यो, ‘केका लागि माया ? किन माया ? तिमीलाई शारीरिक सुख चाहियो कि सम्पत्ति या सुरक्षा ?’

नीलो गुलाफको फूल आफ्नो झोलामा राख्दै सरिनाले फेरि पनि प्रश्न राखिन्, ‘के सम्पत्ति, सुरक्षा या कुनै झिनो आनन्दका लागि मात्र माया गरिन्छ ? मलाई तिमीले भनेजस्तो कुनै पनि कुराको आवश्यकता छैन, तर म तिमीलाई माया गर्छु ।’

‘फेरि पनि म भन्दै छु– किन ?’, अलिक झोक्किएझैँ गरेर सोधे वर्जितले ।

‘किनकि मलाई तिमी मनपर्छ ।’

‘म भनेको को ? मेरो ज्ञान, बुद्धि, शरीर, अनुहार, उचाइ, कपाल जाँघ, हाँसो, बोली या के ?’

‘मलाई तिम्रो ‘हेयर स्टाइल’ मनपर्छ, तिम्रो बुद्धि र ज्ञानको त म त सधैं प्रशंसक नै हुँ ।’

‘वाहियात !’ लामो सुस्केरा छोड्दै वर्जितले भने, ‘मेरोभन्दा हेयर स्टाइल’ राम्रो भएका अनगिन्ती मानिस छन् यहाँ । र, मभन्दा ज्ञानी र बुद्धिमान पनि धेरै छन् यो शहरमा ।’

‘कोही छैनन् र तिमीजस्तै कोही हुन पनि सक्दैनन्,’ विश्वासका साथ सरिनाले भनिन् ।

‘हो, यही भ्रमका बीचमा तिमी मलाई मायाको प्रस्ताव राख्दैछ्यौ । यहाँ धर्तीमा अनगिन्ती बुद्धिमान र ज्ञानी मानिस छन्, मेरोभन्दा हेयर स्टाइल या यस्तै केही न केही राम्रो देखिने कैयन छन् । समयाक्रममा तिमी मभन्दा बुद्धिमान अरू कसैलाई देख्छ्यौ, या तिमी मेरोभन्दा राम्रो हेयर स्टाइल भएको अरू कोही भेट्छ्यौ । त्यसपछि तिमीले उसैलाई मायाको प्रस्ताव राख्नुपर्ने हुन्छ र यो क्रम शारीरिक या मानसिक सक्रियता रहिन्जेल जारी रहनेछ । यसर्थ तिमी मलाई नै माया गर्छ्यौ भन्ने विश्वास गर्न मिल्दैन । माया–प्रेम भनेको निःस्वार्थ समर्पण हो, जहाँ कुनै स्वार्थ र सर्त हुँदैन । राम्रोसँग बुझ सरिना, मानिसहरू तीन कुरा या प्रवृत्तिबाट प्रेरित भएर धारणा बनाउँछन्– स्वार्थ, व्यापार र प्रेम । स्वार्थ ‘लिनु’सँग मात्र सम्बन्ध राख्छ, व्यापारको विशेषता केही लिनु र दिनु हो । त्यस्तै प्रेमचाहिँ ‘दिनु’सँग मात्र सम्बन्धित छ । प्रेममा दिनु मात्र हुन्छ । तर तिम्रा सोच लिनु–दिनु अर्थात् व्यापारिक प्रवृत्तिबाट अभिप्रेरित छैनन् भन्न म सक्दिनँ । तिमीले दाबी गरेजस्तै तिमीमा पवित्र माया गर्ने सामर्थ्य छ भने तिम्रो सच्चा मायाको खाँचो मेरो गाडी सफा गर्ने केटालाई छ । किनभने ऊ ‘सेक्स’ किन्न सक्दैन, आर्थिक समस्याका कारण ऊ कसैलाई प्रेमिका या पत्नी बनाउन पनि सक्दैन । ममा यो सबै गर्न सक्ने सामर्थ्य छ । हरेक प्रकारका ‘आनन्द’हरू मेरा निम्ति बजारमा उपलब्ध छन्, मलाई माया गर्छु भन्ने केटी साथीहरूको कुनै कमी छैन । बच्चाको चाहना भयो भने म कुनै पनि बेला कसैको बच्चा ‘एडप्ट’ गरेर ‘पिता’ बन्न सक्छु । वृद्धावस्थामा मेरो हेरविचार गर्नका लागि मैले एउटा कम्पनीसँग पाँच करोड डलरमा सम्झौता गरिसकेको छु । त्यसैले सरिना तिम्रो मायाको प्रस्ताव राखिनुपर्ने व्यक्ति म होइन । म हरेक दृष्टिकोणले आफूलाई योग्य र सक्षम ठान्छु’, वर्जितले आफ्नो कुरा टुङ्ग्याए ।

‘हो, तिमी धेरै कुराहरू बजारमा पाउन सक्छौ, ठीक छ । तर मैले गर्नेजस्तो पवित्र र निःस्वार्थ माया कहाँ पाउन सक्छौ ?’

‘तिमीले गर्ने माया पवित्र र निःस्वार्थ छ भने म बारम्बार भन्दैछु– कुनै असहाय र अनाथलाई किन गर्दिनौ ? अझै पनि यहाँ पृथ्वीमा कतिपय मानिस एक्लै असक्षम छन्, अधुरा छन्, गरिब छन्, शारीरिक रूपमा सबल र सुन्दर भएर पनि उनीहरू आफैलाई अपूरा ठान्छन्, कति मानिस विकलाङ्ग छन्, तिनलाई कसैको पवित्र र निःस्वार्थ मायाको आवश्यकता छ । उनीहरूसमक्ष प्रस्ताव नगरेर मलाई तिमीले आफ्नो मायाका लागि किन योग्य देखिरहेकी छ्यौ ? तिम्रो माया साँच्चै पवित्र र निःस्वार्थ छ भने तिमी जाऊ, धर्तीमा सबैतिर भाग्योदय भइरहेको यस्तो समयमा पनि अभाग्यको चपेटामा परेका कुनै एउटालाई अपनाऊ’– वर्जितले कुनै पनि अवस्थामा कसैलाई अपनाउन नसक्ने निष्कर्ष सुनायो । उसका कुराले सरिनालाई खिन्न तुल्यायो ।

उनले चिउँडोमा हात राख्दै गम्भीर भावमा प्रश्न राखिन्, ‘के सम्पत्तिले सबै कुरा प्राप्त गर्न सकिन्छ ?’

विश्वासका साथ वर्जितले जवाफ फर्काए, ‘कुनै समय थियो, दौलतले सबै कुरा प्राप्त गर्न सक्दैनथ्यो या सकिँदैन भन्ने ठानिन्थ्यो । कति कुराहरू आज पनि पाइन्न, जस्तै बितेका कुराहरू फर्काउन सकिँदैन, सम्पत्तिले मृत्युको मृत्यु गराउन सक्दैन । तर, कम्तीमा म निश्चित रकममा आवश्यक समयका लागि ‘पत्नी’ खरिद गर्न सक्छु । प्रेमिका राख्न सक्छु’, उनी भन्दै गए, ‘शारीरिक आनन्दका सबै प्रकारहरू बजारमा उपलब्ध छन्, म खरिद गर्न सक्छु । कसैलाई छोरा या छोरी बनाउन सक्छु ।’

‘गरिब बाबु–आमालाई आफ्नै सन्तानले पनि वास्ता राख्दैनथे, जब यो समाज संयुक्त परिवारमा आस्था राख्दथ्यो । आजको समाज व्यक्ति–व्यक्तिको आत्मविश्वास, स्वाभिमान र निजीपनमा टिकेको छ । दशकौंअघि कुनै जमाना थियो– लैला–मजनु र रोमियो–जुलिएटको कथा रचिन्थ्यो । शारीरिक र मानसिक आनन्दका लागि मानिसहरू यसै–त्यसै तड्पिइरहेका हुन्थे । तर, आज मानसिक शान्तिका लागि अनेकौँ पार्लरहरू उपलब्ध छन् । अनेकौँ औषधिहरू बनेका छन् । शारीरिक आनन्द र भौतिक सुखका लागि खरिद गरेर प्राप्त गर्न नसकिने कुनै वस्तु नै छैन । अनि यहाँ कसैले कसैलाई माया गर्ने, याद गर्ने, तनावमा बस्ने, कसैका प्रति वफादार या समर्पित रहिरहने भन्ने आवश्यकता किन पऱ्यो ?’ सरिनाले अझै हार मानेकी थिइनन् ।

वर्जितले सुझाव दिँदै भने, ‘म फेरि पनि तिमीलाई भन्छु, तिमी तिम्रो पवित्र र निःस्वार्थ माया कुनै गरिब या अपाङ्गमध्येका कसैलाई देऊ । तिम्रोजस्तो मायाको वास्तवमा उनीहरूलाई निकै खाँचो हुन सक्दछ ।’

संवाद तनावमय बन्यो, संवादकै क्रममा उनीहरू घर पुगिसकेका थिए ।

वर्जितले सरिनालाई बस्नका लागि अनुरोध गर्न पनि भ्याएका थिएनन्, संवादको तापले सरिनाको हृदय बल्न थालिसकेको थियो ।

सरिनाले मुख मोडिन्, दायाँ खुट्टा भुइँमा बजारिन् र आक्रोशको फुङ्कार छोड्दै त्यहाँबाट हिँडिन् ।

वर्जित उभिइरहे, तर बोल्न छोडेनन् । सरिनाको बहिर्गमनपछि उनले आफैंसँग भने, ‘क्या गजब छ ! धर्तीमा अझै पनि हजारौँ वर्ष पुरानो सोचका मानिस बाँकी छन् । आखिर दुई दिन, एक दिन या एक साताका लागि उसले मसँग बिताउन चाहेकी भए म उसका लागि उपलब्ध पनि हुन सक्थेँ । तर, ऊ त मायाको प्रस्ताव पो राख्छे ।’

एकैछिन रोकिएर फेरि बोल्न थाले वर्जित, ‘आज मायाको प्रस्ताव, भोलि विवाह नै गरौँ भन्ली, पर्सि बच्चा जन्माउँ पनि भन्न सक्छे । यो सारा जङ्गली र पशुपक्षीको जस्तो जिन्दगी आजको आधुनिक जमानामा जिउने कुराको कल्पना म कसरी गर्न सक्छु ? वाहियात !’

उसले कोठामा राखिएको विशाल ऐनामा आफूलाई हेऱ्यो र बगैँचामा टहलिनका लागि बाहिर निस्कियो ।

(क्रमशः)