प्रधानमन्त्रीज्यू ! आफ्नै भान्साको बिरालो चिन्नुहोस् !

प्रधानमन्त्रीलाई जनताको तर्फबाट खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू ! यतिबेला तपाईं स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ, छिट्टै स्वस्थ हुनुहोस् भन्ने हार्दिक कामना छ ।



प्रधानमन्त्रीज्यू, यो देशका जनताले तपाईंलाई उत्तम विकल्प ठानेर नै निर्वाचनमा तपाईंको चाहनाअनुसारको मत दिएर सरकारको नेतृत्व गर्ने भूमिकामा निर्वाचित गरिदिएका थिए । तपाईंका हरेक बोलीप्र्रति जनता विश्वस्त थिए । तर, तपाईंले आज तमाम नेपाली जनताको त्यो विश्वासमा कुठाराघात गर्नुभएको छ । यसो भन्नुपर्दा मन गह्रौँ हुन्छ, तर भन्नैपर्ने भएपछि खुल्ला पत्र लेख्न बाध्य भइयो ।

आज हेर्नुहोस् त यो संकटको घडीमा पनि तपाईंको ‘सहयोगी–समूह’ले तपाईंकै कसरी खिल्ली उडाइरहेको छ ?! प्रधानमन्त्रीज्यू, तपाईंका आफ्ना–आसेपासेद्वारा कात्रोमा कमिसन मागियो, मलामीले छर्ने बुर्की अथवा पिशाचपिण्डमा पनि लाभ खोजियो । लावा भुट्नेसँग भाग मागियो । मुखाग्नीको तेल निचोरियो । दाउरा र चिता चलाउने घाटेसँग आशा गरियो । आँशुको धारा बगाएर मृतक आफन्तको लास घुमिरहेकासँग सौदाबाजी गरियो ।

अतिरञ्जना नठान्नुहोस् प्रधानमन्त्रीज्यू ! चिताको खरानी र बचेखुचेका दाउराका ठुटाको समेत हिस्सेदार बन्ने दाउमा छन् तपाईंका विश्वासपात्र । मृत सञ्जिवनीको आयातमा आम्दानी मागियो । किरियाखर्चमा समेत आम्दानी माग्ने पक्का ठानिएको छ । प्रधानमन्त्रीज्यू, तपाईंको नियतप्रति अझैसम्म जनता केही हदसम्म विश्वस्त नै होलान्, तर तपाईंले विश्वास गरेका तपाईंका पखेटा भनिएकाहरूको नियत कुहिएको छ, गन्हाएको छ ।

यति मात्र कहाँ हो र ? तपाईंका पखेटा फतक्क गलेर तपाईंको उडान जमिनमा पछारियोस् भनेर ढुकिबस्नेहरूको रजगज देखिँदै छ । घरका जहान–परिवार कहिले बितिसक्लान् र चुलोको भर्सेलीमा आगो ताप्दै दूध सुर्क्याउँला भनेर मनमनै धारे हात लगाउँदै ढुकिरहेको बिरालोलाई तपाईंले पालेर राख्नुभएको छ । तर, तपाईंको द्वारपाल भएर आठै प्रहर ननिदाउने ‘वाचडग’माथि प्रहार भएको छ ।

प्रधानमन्त्रीज्यू, चुनावका समय तपाईंलाई भोट दिने तपाईंका कार्यकर्ता मात्र थिएनन् । तपाईंको पार्टीलाई मात्रै जनताले विश्वास गरेर जनताले मत दिएका थिएनन् । आजको दुई तिहाई सरकारको जग भनेको नितान्त तपाईंको तात्कालिक राष्ट्रवादी धारणालाई सम्मान गरेर केपी ओलीकै मुख हेरेर ठूलो संख्यामा मत प्राप्त भएको थियो भन्नेमा भ्रम नरहोस् । तपाईंको पारिवारिक विरासत रहला भनेर जनता कहिल्यै सशंकित छैनन् । बरु तपाईंको नाम भजाएर भविष्यमा राजनीतिक विरासत लिन उद्यत् तत्वसँग समयमै सचेत रहनुहोला ।

द्वापरयुगमा हस्तिनापुरको उत्तराधिकारी छनौट गर्दा योग्यता र क्षमता हेरेर गरिँदासम्म कहिल्यै प्रश्नचिह्न खडा भएन, तर विरासतीय उत्तराधिकारीको जब उदय भयो तब मात्र महाभारत सिर्जना भएको सर्वविदित नै छ । प्रधानमन्त्रीज्यू, तपाईं हस्तिनापुर राज्य अनन्त कालसम्मका लागि थामिरहने शर्तमा राजकुमार देवब्रतले जस्तो भीष्म प्रतिज्ञा गर्दै हुनुहुन्छ भने याद राख्नुहोस्– एकदिन तपाईंमा यस्तो संकट नआओस् जसरी भीष्म पितामहले कुचेष्टा नराखे तापनि कुरुक्षेत्रको श्मसानतुल्य रणभूमिमा मृत्युु कुर्दै सर–शैयामा सुत्नु परेको थियो । त्यतिबेला त त्रिकालदर्शी भगवान श्रीकृष्ण थिए, परिस्थितिलाई श्रीकृष्ण भलिभाँती चिरफार गर्न सक्ने योगयता राख्दथे । तर त्यस्ता पात्र आजका दिनसम्म यस धराधाममा सशरीर पुनः जन्मिसकेका छैनन् ।

प्रधानमन्त्रीज्यू ! तपाईंको घायल शरीरलाई घेरेर मृत्युको कामना गर्दै भाग स्याहार्ने दाउमा बसेका बिराले प्रवृत्तिको संयन्त्रमाथिको विश्वास जति छिटो तोड्नुहुन्छ त्यति नै छिटो तपाईंका सामाजिक घाउहरू पुरिँदै जाने छन् । वंशको राजनीति गर्ने कुचेष्टा तपाईंमा छैन तर तपाईंलाई भजाएर अंशको राजनीति गर्नेहरूले गर्दा नै तपाईंको बदनाम दिन दूगुणा रात चौगुणाका दरले बढ्दैछ । आज तिनै गिद्धेचेष्टा राख्नेहरूकै कारण देशका जनता एकै चिहान हुनुपर्ने दिन मुख–मुख आइसक्यो । कालले लल्कारेको यमराजले जिब्रो लपलपाएको देखेर पनि तिनै यमराजसँग आहार जुटाइदिएवापतको निग्रह माग्नेहरू आज तपाईंमाथि हाबी भैरहेका छन् ।

प्रधानमन्त्रीज्यू तपाईंलाई थाहा छ ? यदि कसैलाई सदाका लागि खुइल्याइदिनुछ भने मन्त्री बनाइदिनु पर्छ । स्मरण रहोस्, आज त्यो अवस्था कसरी आयो र त्यहाँ कसरी त्यस्तो माहौल बन्यो– त्यसको पनि ख्याल राख्नु जरुरी छ । किनकि त्यहाँ सतपात्रको खडेरी छ । यदि कोही पात्र सही छन् भने पनि निमुखा भएर बाँचेका छन् । यो देशको विडम्बना नै भन्नुपर्ला, चार–पाँच दशकको पर्खाइमा प्राप्त भएको स्थाई र दुई तिहाइको सरकार त्यसमाथि सरकारले पाएको ‘आगेपिछे’ कोही नभएको सन्यासीतुल्य साधु प्रधानमन्त्री र उनको दीर्घ बिमारीको मौका छोपेर इतिहासलाई निमिट्यान्न पार्न उद्यत् दुष्तत्वहरूलाई निर्ममतापूर्वक छटाइँ गर्न सक्नुभएन भने देश र जनताप्रति कुभलो नचिताउँदा नचिताउँदै पनि इतिहासको कालो छायाले तपाईंलाई पछ्याइरहनेछ ।

उठ्नुहोस्, आँखा नछोप्नुहोस्, कान खोल्नुहोस् प्रधानमन्त्रीज्यू ! तपाईंको देशमा आमाबाबु गुमाएका नाबालकको आँशु र चित्कारमा समेत निर्ममतापूर्वक रुपैयाँ–पैसाको मोलमोलाइ भैरहेको छ । सन्तान गुमाएका आमाबाबुहरूलाई निर्दयी बनेर भकुरिएको छ । श्रीमान् र श्रीमती गुमाएकाहरूलाई तिनका उजाडिएको सिउँदोको समेत मोल मागिएको छ । कमिसन र बिचौलियाको सञ्जाल कस्तो छ भनेर जान्नका लागि केही माथापच्चि गरिरहनु पर्दैन । एउटा पद श्रृजना गर्नुहोस् र दुई–चार जनाको नोमिनेशन गराउनुहोस्, अनि बजारमा र तालुकदारहरूको घर–घरमा नियाल्नुहोस्– के–कस्ता बार्गेनिङ हुन्छन् !

अझै नाम चलेका होटल रेष्टुरेन्टका लविमा याद गर्नुहोस् कस्ता चलखेल हुने रहेछन् । अझै पदीय तालुकदारका आफन्त र उनका विश्वासपात्रका टेलिफोन मोवाइल कल डिटेलको विश्लेषण गर्नुहोस् थाहा पाउनुहुनेछ को–को संलग्न हुने रहेछन् । अझै अर्बभन्दा माथिका लेनादेनामा त तिनै भर्सेली ताक्नेहरू स्वयं उपस्थित भएको देख्नुभयो भने निशंकोच हेरिरहनुहोला । प्रधानमन्त्रीज्यू, तपाईं अलिकति मात्र जान्ने चाहना राखेर नवधनाढ्यहरूको सम्पत्ति छानबीन गर्नुहोस्, उनको जरा हाँगाविगा पक्षदेखि प्रतिपक्षसम्म फैलिएको पाउनुहुनेछ । हो त्यसैको वटवृक्षरूपी चौतारो हो आजको निजी अस्पताल, स्कुल, कलेज, सहकारी, बैंक, एनजीओ आदि ।

प्रधानमन्त्रीज्यू ! यस महामारीको निहत्था लडाइँमा सामेल हुन बाध्य भएका सिपाहीहरूको दर्दनाक वेदनालाई सूक्ष्म विश्लेषण गर्नुहोस् त प्लास्टिकका कपडासम्म नपाएका लडाकुका हालत ! त्यागका नाममा हज्जारौँका हत्यारालाई पद सुम्पनोस् भन्ने जनताको आसय होइन । तपाईंका विश्वासपात्रको भूमिकामा रहेर विश्वासघात गर्नेहरुमाथि समयमै निगरानी राख्नुहोस् ता कि आजको उत्तम विकल्प तपाईं बाहेक अरु कोही हुन नसकोस् ।

प्रधानमन्त्रीज्यू एकपटक छातीमा हात राखेर, अत्मालाई साक्षी राखेर, जन्मदिने आमालाई सम्झेर, देश जनता र मातृभूमिको माटोलाई माया गरेर, विगतका तपाईंको निस्वार्थ योगदानलाई हृदयङ्गम गरेर आफैभित्रबाट निश्कर्ष माग्नुहोस् त जवाफ के आउने रहेछ । आफै थाहा पाउनुहुनेछ ।

गल्ती भए माफीको भागिदार छु ।

भवदीय– यस मातृभूमिका आक्रान्त तीन कोटी ‘रैती’को तर्फबाट ‘बबुरो’…

आरपी पाठक, काठमाडौं 

प्रतिक्रिया