कोरोना भाइरस आतङ्क : के गर्न सक्छ स्थानीय निकाय ?

■ सनत आचार्य



गत डिसेम्बरको अन्तिम साता चीनको वुहानबाट फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमण आज विश्वका २ सय ४ भन्दा बढि देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनलगायत कतिपय देशमा यसलाई लिएर ‘राष्ट्रिय सङ्कट’ घोषणा गरिएको छ । विश्वका शक्ति–राष्ट्रहरू समेत यो कोरोना भाइरसको संक्रमण रोक्न अरोरात्र खटिएका छन् । विश्व इतिहासमै पहिलो पटक यतिबेला विश्व ठप्प छ ।

मानिसहरू हिँडडुल गर्नमा प्रतिबन्ध लगाइएको छ । जल, थल र वायुसेवा सञ्चालन पूर्ण रूपले बन्द छन् । मानिसहरूको चहलपहल हुने सिनेमा घर, गिर्जाघर, रेष्टुरेण्ट, होटल, पुजाआजा, पारिवारिक र सामाजिक जमघट आदिमा बन्देज लगाइएको छ । कर्मचारीलगायत कामदारलाई घरमा सुरक्षित बस्न भनिएको छ । संसारभरका अत्यावश्यक सामग्री उत्पादन गर्नेबाहेक अन्य उद्योग कल–कारखानाहरू सरकारद्वारा बन्द गरिएको छ । कामदारहरूलाई अनिश्चिनकालीन बिदा दिइएको छ ।

आजको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण संसारभर १० लाख भन्दा बढि मानिस प्रभावित छन् । ५३ हजार भन्दा बढिको मृत्यु भइसकेको छ । अझै ७ लाख ५० हजार मानिसको अवस्था मध्यम स्तरमा छ भने संैतिस हजार भन्दा बढि मानिसहरू मृत्युसँग पौँठेजोरी खेलिरहेका छन् ।

सङ्क्रमणको दृष्टिकोणले अमेरिका सबै भन्दा बढि प्रभावित छ भने मृत्युमा इटाली । अमेरिकामा २ लाख ४५ हजार भन्दा बढि मानिस सङ्क्रमित छन् । इटालीमा मृत्यु हुनेको संख्या चौध हजार भन्दा बढि रहेको छ । कोरोना संक्रमणको उद्गम चीन अहिले पाँचौ स्थानमा छ । हालसम्म चीनमा ८१ हजार बढि मानिस सङ्क्रमित रहेको, ३३ सयले ज्यान गुमाएको र ७६ हजार ५ सय ७१ जना निको भएका छन् ।

भारतमा गत मार्च पहिलो साता देखिएको कोरोना भाइरसको प्रभाव सोही महिनाको अन्तिम साता ह्वात्तै बढ्यो । अन्य दिनको तुलनामा बितेको दुई दिन (२–३ अप्रिल)भित्र मृत्यु हुनेको संख्या पनि आकासिँदो छ । भारतमा हालसम्म २ हजार ५ सय भन्दा बढि मानिसहरूमा देखापरिसकेको छ भने १ सय ९१ जना निको भएका छन् । भारतमा हालसम्म ७२ जनाको मृत्यु भैसकेको छ ।

नेपालमा भने हालसम्म ६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएकोमा एक जना निको भएर गई सकेको अवस्था छ भने पाँच जना उपचाररत छन् । हालसम्म करिव एक हजार दुई सय बढिको कोरोना परीक्षण भइसकेको छ । दैनिक करिव सयभन्दा बढि मानिसको परीक्षण हुने गरेको छ । कोरोना संक्रमणको परिक्षण विगतमा राष्ट्रिय प्रयोगशाला टेकुमा मात्र गर्ने गरिएकोमा हाल यसको परिक्षण बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान र पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान गरी तीन स्थानमा गर्ने गरिएको छ । निकट भविष्यमा यसको दायर बढाउन केन्द्रीय सरकारले ढिला गर्न हुँदैन । किनकि जति बढि परिक्षण भयो उती धेरै केसहरू पहिचान हुन सक्ने देखिन्छ ।

स्थानीय निकायको भूमिका :

कुनै पनि संकटमा आमनागरिकले सरकारसँग बढि सहयोगको अपेक्षा गर्दछन् । त्यसमा पनि स्थानीय निकायसँग यो महासङ्कटमा भरोसा गर्नु स्वभाविक पनि हो । यो उनीहरूको अधिकारको विषय हो । त्यस्तै, सरकार (संघीय, प्रदेश र स्थानीय) जनताप्रति बढि उत्तरदायी हुनु पर्दछ । जनउत्तरदायी सरकारले मात्र आम नागरिकलाई लोकतन्त्रको प्रत्याभूत गराउन सक्दछ । स्थानीय निकाय आफैमा स्वायत्त निकाय हो । यो संकटमा स्थानीय निकायले नागरिकका लागि अभिभावकको भूमिका खेल्न आवश्यक छ । वर्तमान संकटमा थोरै मात्र स्थानीय निकायले योजनाबद्ध रुपले काम गरेको देखिन्छ भने अधिकांश स्थानीय निकाय निष्कृय छन् । उनीहरू सामान्य औपचारिकतामा मात्र सीमित रहेको पाइन्छ । कतिपय जनप्रतिनिधिहरू यो संकटको बेलामा आफ्नो कार्यक्षेत्रमा नरहेको पनि पाइएको छ ।

के गर्न सक्दछन् स्थानीय निकाय ?

क) संक्रमण विरुद्ध प्रचारप्रसार : विश्वका अत्यन्त प्रभावशाली देशहरू अहिले कोरोना भाइरसविरुद्ध खोप तथा औषधीको अनुसन्धानमा व्यस्त छन् । आजका मितिसम्म यसको ठोस औषधी पत्ता लागिसकेको छैन । यस्तो अवस्थामा कोरोनाबाट बच्न सावधानीाहेक अन्य कुनै उपाय देखिँदैन । अधिकांश मानिसहरूमा कोरोना भाइरससम्बन्धी अहिले एक तहसम्मको सचेतना जागृत भइसकेको देखिन्छ । स्थानीय निकायले रेडियो टेलिभिजनलगायतका माध्यमद्वारा प्रचारप्रसार गरी यससम्बन्धी जनचेतना जगाउन आवश्यक छ । त्यस्तै, स्थानीय स्तरमा उपलब्ध जनशक्तिको प्रयोग गरी कोरोनाविरुद्ध ‘डोर टु डोर’ अभियान पनि संचालन गर्न सकिन्छ ।

ख) दैनिक ज्यालदारी, मजदुरी गरी जीवन निर्वाह गरिरहेकाहरूलाई भोजनको व्यवस्था : लामो समयको लक डाउनका कारण अहिले दैनिक मजदुरी, ज्यालादारी काम गरी गुजारा गरिरहेका मानिसहरू हातमुखको जोहो गर्न धौ–धौ परिरहेको अवस्था छ । स्थानीय निकायले आफ्ना कर्मचारीहरूमार्फत विनापूर्वाग्रह यस्ता व्यक्तिहरूको लागत राखी उनीहरूलाई भोजनको प्रबन्ध गर्नु पर्दछ । उनीहरूको भोजन र बाँच्न पाउने अधिकारलाई स्थानीय निकायले सम्वोधन गर्नु पर्दछ । दाल–चामल बाँड्नु भन्दा खानाको प्रबन्ध गरिएमा खर्च र सोचको सदुपयोग हुने देखिन्छ । यसका लागि अभिलेख तयार गरी वडा–वडामा खानाको प्रबन्ध गरिनु पर्दछ । त्यस्तै सीमा नाकामा अलपत्र परेका वा सीमानजिक क्वारेन्टाइनमा बसेका नेपालीहरूका लागि पनि भोजनको व्यवस्था सम्बन्धित स्थानीय निकायले गर्नु जरुरी छ ।

ग) स्थानीय स्तरमा भएको स्वास्थ्यकर्मीहरूको तथ्याङ्क सङ्कलन र परिचालन : यो महासंकटमा आ–आफ्नो तहबाट आवश्यक सहयोग गर्नु सबैको धर्म हो । स्थानीय निकायले प्रत्येक वडाहरूमा रहेका स्वास्थ्यकर्मीहरूको तथ्याङ्क संकलन गरी उनीहरूलाई कोरोनासम्बन्धी तालिम सञ्चालन गरी व्यापक रुपमा परिचालन गर्नु आवश्यक छ । खासगरी स्वास्थ्यकर्मीहरूले वडामा कोरोनाका लक्षण देखापरेकाहरूलाई परामर्श, जनचेतना र रगत परीक्षणका लागि सिफारिस गर्ने कार्य गर्नु पर्दछ । स्थानीय निकायले स्वास्थ्यकर्मीहरूको लागि आवश्यक किट र पिपिई उपलब्ध गराई उनीहरूलाई सुरक्षित महसुस गराउनमा सहयोग गर्नु पर्दछ । कर्तव्यबाट विमुख हुनेहरूलाई हदैसम्मको कारवाही गर्नु पर्दछ ।

घ) वैदेशिक रोजगारमा जाने र फर्किएकाहरूको तथ्याङ्क संकलन र अभिलेखीकरण : हालसम्म नेपालमा देखापरेका संक्रमित सबै देशबाहिरबाट आएका व्यक्तिहरू छन् । अहिलेको कोरोना भाइरसको संक्रमणले रोजगारीको सिलसिला वा कुनै कारणले विदेश गएकाहरूको अभिलेख राख्न अति आवश्यक रहेको पुष्टि गरेको छ । भारतलगायत अन्य कुनै पनि देशमा जानेहरूका लागि स्थानीय निकायको सिफारिस आवश्यक बनाइनु पर्छ । सिफारिस भए–नभएको अध्यागमन र नाकामा चेकजाँच गरिनु पर्दछ । विदेशबाट फर्किएलगत्तै स्थानीय निकायमा अभिलेख पंजीकृत गर्ने र स्थानीय निकायले यस्ता अभिलेखहरू व्यवस्थित रुपमा राख्नु पर्दछ । अहिले यही अभिलेख नहुँदा कहाँबाट को–को आए भन्ने कुरा अन्योलमा छ । सरकार प्रहरीमार्फत उनीहरूको पहिचान गर्न खोजिरहेको छ । तर, यो काम प्रहरीको नभई स्थानीय निकायको हो भन्ने हेक्का राख्न आवश्यक छ ।

ङ) क्वारेन्टाइन वार्डको निर्माण : कोरोना सरुवा रोग हो । यो मानिससँगको व्यक्तिगत हिमचिमका कारण सर्ने गर्दछ । यो सरुवा रोग भएकोले एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्नाले र अहिले विदेशबाट आएकाहरूमा देखिएकोले स्थानीय निकायले विदेशवाट आएको पहिचान गरी उनीहरूलाई तोकिएको समयसम्म अनिवार्य रूपले क्वारेन्टाइनमा राख्ने र संक्रमणको लक्षण देखिएकालाई अस्पताल सिफारिस गर्ने व्यवस्था मिलाउनु पर्दछ । क्वारेन्टाइनमा बसेकाहरूलाई मनोवैज्ञानिक परामर्श पनि दिइनु पर्दछ जसले गर्दा उनीहरूको मानसिक स्वास्थ्य सबल हुनेछ ।

क्वारेन्टाइनमा रहँदा आवास, भोजन, स्वास्थ्यसेवा लगायतका आधारभूत आवश्यकता पूरा गरिनु पर्दछ । क्वारेन्टाइनका लागि सम्बन्धित वार्डमा रहेको विद्यालयलाई सरसफाई गरी व्यस्थित गरिनु पर्दछ । एउटा कोठामा एक जना भन्दा बढिलाई राख्नु हुँदैन ।

संसारभर र नेपालमा पनि यस प्रकारको महासंकट अब फेरि आउला भन्न सकिन्न । यो संकट एकपटकका लागि मात्र हो भनी कोरोना भाइरसविरुद्ध लड्न स्थानीय निकाय र जनप्रतिनिधीहरूको समर्पण, सक्रियता सहयोग अहिले टडकारो महशुस गरिएको छ । यसतर्फ बेलैमा ध्यान दिए भविष्यमा नेपालमा हुन सक्ने मानवीय क्षति कम गर्न सकिन्छ । आज बाँचे भोलि केही त गर्न सकिएला कि ???

प्रतिक्रिया