कोरोना भाइरसले गरायो परिवारको मिलन

कोरोना भाइरसले गरायो परिवारको मिलन


■ प्रमिला पाण्डे

प्यारी सासुआमा ! मलाई आज तपाईं जन्मदिने आमाजत्तिकै प्रिय लागिरहनुभएको छ । साँच्चै तपाईं देखेर म आफै छक्क पर्छु । हाम्रो विवाह भएको एक वर्ष नबित्दै ‘तिम्रो आमाको कचकच सुनेर बस्न सक्दिनँ, कि मलाई छोड कि आमा छोड’ भनेर तपाईंका छोरालाई घुर्काउँथे । म रुँदा उसले तपाईंलाई एक वचन पनि नसोधी मलाई काठमाडौं लिएर आए । जतिबेला तपाईं घरको बरण्डामा बसेर पिलपिल आँशु झार्दै ‘नजाउ’ भन्ने भाव देखाउँदै हुनुहुन्थ्यो । तपाईंको त्यो वेदना हामीले देखेर पनि नदेखेझैँ गरिदियौँ । बरु हामीले अलि परको छिमेकीलाई ‘बस्नु है, हामी हिँड्यौँ’ भन्यौँ तर तपाईंलाई वास्तै गरेनौँ ।

तपाईंको मनमा थियो होला कि छोराको बिहे गर्दिन पाए त सजिलो हुन्थ्यो ! तर बिहेपछि त्यो छोरो पनि पत्नीको कुरा सुनेर जन्म दिने आमालाई छोडी शहर गयो । आमा ! हामी शहर गएपछि मैले त कहिल्यै पनि तपार्ईंलाई सम्झिन चाहिनँ । खै ! तपाईंको छोराले चाहिँ कत्तिको सम्झना गर्नुभयो त्यो थाहा भएन । साँच्चै भन्नुपर्दा मैले त एकपटक पनि सम्झिनँ तपाईंलाई ।

हामी दशैमा नवमीका दिन घर आउँथ्यौ अनि टीकाको दिन नै माइत जानुपर्थ्यो मलाई । खै कसरी टार्नुहुन्थ्यो दशैँखर्च आफन्त, चेलीबेटी भान्जाभान्जीलाई !? र पनि तपाईंको अनुहार सधैं उज्यालो देखिन्थ्यो । माइतबाट फर्केको बेलुकी नै फेरि शहर फर्किने हतार हुन्थ्यो । ‘छोराछोरीलाई मनपर्ने अचार, नातिनीलाई मह र ध्यू है’ भन्दै झोलामा हालिदिनु हुन्थ्यो । यति मात्र कहाँ हो र ? घरमा कुटेको चामल पनि लैजाओ भन्दै सकिनसकी चामल भरिएको बोरा बाहिर निकाल्नुहुन्थ्यो । तपाईंको यो ममतामयी व्यवहारलाई मैले कहिल्यै मतलव राखिनँ । तपाईंको छोरा बरु केही शब्द भन्नुहुन्थ्यो, तर म केही पनि बोल्दिन‘थेँ ।

यति मात्र होइन, तपाईंले हामीलाई दिने समान मिलाउँदा ‘भोलि जाओ न त, आज सबैजना भेट गर्न खोज्दैछन्’ भनी स्नेह दर्शाउनुहुन्थ्यो । तपाईंलाई जवाफ फर्काउँदै मैले भन्थेँ– ‘होइन, हामीलाई हतार छ, भोलि अफिस नपुगी हुँदैन ।’ तपाईंले ‘म एक महिनापछि आउँछु’ भन्नुहुन्थ्यो । आमा ! तपाईंले कति आँशु झार्नुभयो तर त्यो देखाउनु भएन । तपाईंको कति आँशु झऱ्यो, मैले हेर्न पनि चाहिनँ । शहर पुगेपछि ‘पुगेँ है’ भन्न पनि कहिल्यै जानिनँ, तपाईंलाई सम्झिएर कहिल्यै फोन गरिनँ । यतिसम्म कि हाम्रो फोनमा तपाईंको फोन आयो भने छोरीलाई उठाउन लगाउँथे । र, अफिसमा फोन आयो भने म बिजी छु भनेर राख्थेँ । तपाईंलाई गाउँमा एक्लै रुवाएर हामी शहरमा खुशी नै बसेका थियौँ । तर एक्कासी चीनको वुहानबाट आएको कोरोना भाइरसको आतंकको कारण हामी अत्तालियौँ ।

यस्तो बेलामा तपाईंले समाचार सुनेर हामीलाई फोन गर्नुहुन्थ्यो । तपाईं भन्नुहुन्थ्यो– ‘बाहिर निस्कँदा मास्क र चस्मा लाएर निस्कनु, नातिनीलाई स्कुलमा जे पायो त्यही खान नदिनु, के जातिको भाइरस आएछ रे !’ यसरी तपाईंले हामीलाई हरेक दिन फोन गरेर सम्झाउनुहुन्थ्यो । त्यस्तो बेलामा पनि मैले तपाईंलाई भन्थेँ– आफ्नो बच्चा कसरी हुर्काउनुपर्छ भन्ने कुरा हामीलाई पनि थाहा छ ।

हो सासुआमा, आज म तपाईंको नजिकै बसेर यो पत्र लेखिरहेकी छु । कतैकेही लुकाएकी छैन । कसैले यो लेख पढेर सुनाइदिनुभयो भने तपाईंसँग रुनेछु आमा ! कोरोना भाइरस चीन हुँदै विश्वका विभिन्न देशमा फैलियो । मर्नेको सङ्ख्या दैनिक १५ सय भन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले आफनो तथ्याङ्कमा देखाउँछ । अमेरिका, इटाली जापान र भारत हुँदै यो भाइरस अहिले नेपाल आइसक्यो । यस्तै चिन्ता लिँदै बसेको थिएँ, यस्तैमा तपाईंको फोन आयो, तर झर्को लागेको भाव दर्शाउँदै मैले ‘दिनदिनै के कुरा गर्ने ?’ भनेँ, तर तपाईंले नरम भएर भन्नुभयो, ‘तिमीहरू केही दिन विदा मागेर गाउँ आउ ।’ तपाईंको आग्रहमा मेरो जवाफ हुन्थ्यो– जागिरबाट आउन मिल्दैन । बरु तपाईंको छोरा गाउँ जानुहुन्छ भने भनिदिउँला भन्दै फोन काटिदिन्थे ।

तपाईंको पटक–पटक फोन आउँथ्यो, कोरोना भाइरसको कारण कान्छी नन्दको मास्टर्सको र ठूलो भान्जाको एसईईको परीक्षा रोकियो । आमा ! तपाईंले फोनमा नातिनीलाई भए पनि पठाइदेउ भन्दा मैले मामाघर जान्छे भनेर चुप लगाइदिएँ । भोलिपल्ट भाइ आयो । भाइको कलेज अनिश्चितकालसम्म बन्द भएपछि छोरीलाई मामाघर पठाउने आँट गरिनँ । पछि अवस्था कस्तो हुने हो भनेर धेरै सोचेँ । हामी घर जानुपर्छ भन्दै छोरी रुन लागिन्, मैले आमाले बोलाउनुभएको छ भनेँ, तर उनले पत्याइनन् । मैले सम्झाउँदै भनेँ, अफिस विदा भएपछि बाबा, छोरी र म घर जाने । छोरीले झनै जिद्दी गर्दै ‘जानुभएन भने सुयोज दादा बोलाएर म जान्छु’ भनिन् । मैले टाउको मात्र हल्लाएँ तर मनले जान नपरेहुन्थ्यो भन्ने भैरहेको थियो ।

यता अफिसमा विदाको तैयारी भएको रहेछ । बोर्डले पत्र दिएछ घरमै बसेर काम गर्नु भनेर एक सहकर्मीले मलाई सुनाइन् । यता घरमा श्रीमान् पनि चाँडै आइपुगे । मैले किन चाँडै आइपुग्नुभयो भनेँ, उहाँले कोरोनाको कारण घरबाटै काम गर्नु भनेर अफिस विदा दिएको सुनाउनुभयो । मैले निकै बेरपछि आमाले बोलाएको कुरा सुनाएँ । उहाँले भन्नुहभयो, ‘शहर आउने बेलामा आमालाई जान्छौँ है नभनिकन हिँडियो अहिले घर जाने कुरा कसरी गर्नु ?’ विवाह भएको पाँच वर्ष बितिसकेको रहेछ, मैले पहिलोपटक तपाईंलाई ‘आमा’ भनेर सम्बोधन गरेँ, घर आउने बारेमा मैले फोन गरेँ । तपाईंलाई ‘आमा’ भन्दा तपाईंको छोराको आँखा निकै रसायो । त्यतिबेला मैले बुझेँ हजुरको छोराको पीडा । एकातिर जन्म दिने आमा अर्कातिर श्रीमती । एउटा छोरामान्छेलाई घर मिलाउन कत्तिको गाह्रो हुन्छ र श्रीमतीको खुशीको लागि आफ्ना परिवारप्रतिको मायालाई कत्तिको दबाएर राख्दा रहेछन् भन्ने मलाई महसुस भयो । म त्यतिबेला वास्तविक संसारमा प्रवेश गरेँ ।

समय बित्दै थियो, फेरि तपाईंको फोन आयो– ‘दुलही, भोलिबाट देश नै बन्द हुने हल्ला छ । तिमीहरू कहिले चढ्ने भयौ त गाडी ?’ मैले भोलिको टिकट पायौँ भने बिहानै हिँड्छौँ भने । आमा खुशी हुनुभयो, साथै ‘म दिदी–बहिनी नन्द–आमाजु सबैलाई बोलाउँछु, भेट्न मन गरिरहेछन्’ भन्नुभयो । हामी घर आउँछौँ भनेपछि हजुरको खुशीले हँसिलो बनेको मुहार मेरो आँखाअघि आइरह्यो । श्रीमानले तुरुन्त टिकट काउन्टरमा फोन गर्नुभयो, टिकट पनि पाइयो बिहान ५ बजेको । हामी सामान प्याक गर्न लाग्यौँ ।

भोलिपल्ट बिहान भिमफेदीको बाटो हुँदै घर पुग्यौँ । हामी पुगेपछि आमाको अनुहारमा झनै चमक देखेँ । त्यतिबेला मलाई यति धेरै आत्मग्लानी भयो कि मैले तपार्ईंलाई यत्रो वर्ष बुझ्न सकिनँ । घरमा सबै परिवार जम्मा भएका थियौँ । नन्द–आमाजु घर जाने तैयारीमा हुनुहुँदोरहेछ, आमाले सबैलाई मास्क र सेनिटाइजर एक–एकवटा हाल्नुभएको रहेछ । हामी छक्क पऱ्यौँ । घर–व्यवहार सबै भ्याएर हाम्रो स्वास्थ्यको ख्याल राख्न पनि भ्याउनु भएको ! कान्छी नन्दले ठट्यौली पाराले ‘दाइ–भाउजुको कोसेली खै ?’ भनेपछि मेरो मुख रातो भयो । ‘हामी बिहान ५ बजे हिँडेका, केही किन्न पाएनौँ’ भन्ने जवाफ श्रीमानले दिनुभयो । त्यसमा थपेर आमाले कुरा मिलाइदिनुभयो– ‘दाजु–भाउजु आए, यो नै ठुलो कुरा हो । म छौन्जेल केही कुराको अभाव हुन दिन्नँ तिमिहरूलाई ।’ यति भनेपछि आमाको आवाज दबियो । सायद उहाँले ससुरा बालाई सम्झिनुभयो होला ।

सबै विदा भएपछि घरमा आमा, श्रीमान् म र छोरी मात्र भयौँ । उमेरले ६ दशक काटिसक्नुभएकी आमाको फुर्तिलो शरिर देखेर म त छक्क पर्थें । यस्तो बेलामा पोसिलो खानुपर्छ भन्दै गेडागुडी निकाली दिनुहुन्थ्यो । ‘सरकारले घरबाहिर ननिस्कनु भनेको छ, भोलिको दिन कस्तो हुने हो ? फेरि लकडाउन लम्बाउने कुरा छ रे…’ आमाले सुनाउनुहुन्थ्यो । म साँच्चै नै वास्तविक संसारमा प्रवेश गरेँ । सासुआमाको मायालाई मैले बुझ्न निकै ढिलो गरेकी रहिछु । तर आमाको मन न हो… आफ्नो सन्तानको गल्तीलाई क्षमा गरिदिने । आखिर त्यस्तै भयो ।

आज हामी सबै परिवारजन साथमा छौँ । आफ्नो आमाको काख पाएपछि मेरो श्रीमान् त झनै फुर्तिलो देखिनुभयो । कति माया आमाको ! तर मेरो कारणले त्यो माया लुकाउनुभएको मैले महसुस गरेँ । आखिर एक छोरीको आमा म पनि भएकी छु नि, पछि मेरो सन्तानले पनि त यस्तै गर्लान् नि ! तर म यसो हुन दिन्नँ, किनकि म आज आमासँग छु । मेरी छोरीले राम्रो संस्कार पाउँछे । म धन्य रहेछु ।

माथि प्रस्तुत घटना वास्तविक घटनामा आधारित छ । हामीकहाँ विपद आउँछ, विपद आएर कति घर–परिवारमा मिलन गराएको छ । एकअर्कामा आत्मियता बढाएको छ । त्यो कुरालाई नकार्न मिल्दैन । विश्वमा माहामारीको रूपमा फैलिएको कोरोनाले पनि यही सन्देश दिएको छ । विपदलाई सधैं विनासको रूपमा नहेरौँ, मिलन र खुशीको रूपमा पनि हेरौँ ।