बुहारी बनाउने प्रलोभन दिई किशोरीको बलात्कार

बुहारी बनाउने प्रलोभन दिई किशोरीको बलात्कार


■ आरके श्रीवास्तव, रौतहट

दाइजो नलिने बाचा गरेर बुहारी बनाउन बोलाई ४० वर्षीय अब्दुला अन्सारीले एक किशोरीलाई बलात्कार गरेको रहस्य खुलेको छ । आफ्नो छोराको फोटो देखाएर बुहारी बनाउने भन्दै बोलाएर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बारा कलैया उपमहानगरपालिका–९ रामपुरका अन्सारीलाई प्रहरीले पक्राउ परेको छ ।

आरोपी अन्सारीलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरेको हो । अन्सारीमाथि जिल्ला प्रहरी कार्यालय बारामा जबर्जस्ती करणी मुद्दा बिहीबार (२० चैत) दर्ता भएको प्रहरीले जनाएको छ ।

अन्सारीले पहिले आफ्नो छोराको फोटो देखाएका र पछि बिहेको कुरो छिन्न छोरोसँग पनि भेट्नुपर्ने बहाना बनाउँदै बोलाएर केही दिनअघि रौतहटकी एक किशोरीलाई कलैया बोलाएका थिए । साथै आएकी किशोरीकी हजुरआमालाई अन्यत्र राखेर उनले कोशोरीलाई कलैयास्थित एउटा होटेलमा लगेर ज्यानमार्ने धम्की दिँदै करणी गरेको पीडित किशारीले बताएकी छन् ।

बलात्कृत भई कलैयाबाट घर फर्केकी पीडित किशोरीसहित परिवारका सदस्यहरुले प्रहरीलाई खबर गरेपछि रौतहटको गुजरास्थित आफन्तको घरमा आएको समय अन्सारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।

यतिबेला अभियुक्त अन्सारी नियन्त्रणमा रहेको र पीडितलाई जाहेरीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको डिएसपी महतोले जानकारी दिए ।

उता जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्राले पीडितको उजुरी दर्ता भइसकेको र स्वास्थ्य परीक्षण पनि जिल्ला अस्पताल कलैयामा भइसकेको बताए ।

केहीदिन अघि रौतहटका अन्सारीले पीडित किशोरीका परिजनसँग बिना दाइजो आफ्नो छोराको बिहे गर्ने आश्वासन दिएर गएका थिए । त्यसको १२ दिनपछि फेरि छोराको फोटोसहित आएका अन्सारीले किशोरीलाई बुहारी स्विकार गर्दै बुहारीको मुख हेरेको बहाना बनाएर किशोरीलाई ६ सय ६० रुपैयाँ समेत दिएका थिए ।

अन्सारीले छोरा र घर–परिवारलाई देखाउँछु भनि किशोरीलाई कलैया बोलाएर करणी गरेको दाबी गर्दै पीडितकी हजुरआमाले अन्सारीलाई कडा कारवाही हुनुपर्ने माग गरेकी छिन् ।