‘ओम्नीटेक’सँगको सम्झौता खारेज गराउन दाहालले भेटे प्रधानमन्त्री !

‘ओम्नीटेक’सँगको सम्झौता खारेज गराउन दाहालले भेटे प्रधानमन्त्री !


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबार (१९ चैत) दिउँसो प्रधानमन्त्री निवासमा गरेको भेटको मूल तात्पर्य चीनबाट मेडिकल सामग्री झिकाउन सरकारले ‘ओम्नीटेक’ नामक कम्पनीसँग गरेको सम्झौता रद्द गराउनु रहेको बुझिएको छ ।

लकडाउनको साता दिनसम्म गतिविधिविहीन वा मौन रहेका दाहालले बुधबार अपरान्ह बालुवाटार गई प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका थिए ।

उक्त भेटका क्रममा कोरोना भाइरस संक्रमणले उब्जाएको पछिल्लो परिवेशसँग सम्बन्धित विभिन्न विषयमा कुराकानी गर्नुका अलावा ‘ओम्नीटेक’ कम्पनीलाई चीनबाट कोरोना भाइरस परीक्षणका लागि ‘किट’ लगायत सामग्री खरिद गरी नेपाल सरकारलाई बेच्न गरिएको सम्झौता रद्द गराउन दाहालले विशेष आग्रह गरेका थिए । सम्झौता रद्द नगरे सरकार बदनाम मात्र नभई अप्ठ्यारोमा पर्न सक्ने चेतावनी उनले दिएका दाहालनिकट सुत्रले जनाएको छ ।

दाहालले ओलीसँग भेट गरेको केही समयपछि नै सरकारले ओम्नीटेकसँगको सम्झौता रद्द भएको घोषणा गरेको थियो ।

यसैबीच प्रधानमन्त्री र अर्का अध्यक्ष दाहालबीच कोडिभ–१९ को सङ्क्रमण रोक्न सरकारले चालेका कदमबाट प्रभावित जनतालाई राहत दिने विषयमा छलफल भएको समाचार सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेका छन् । प्रधानमन्त्री निवासमा भएको उक्त छलफलमा गरिब, किसान, मजदूर र विपन्न वर्गलाई राहत दिने तथा उनीहरुको व्यवस्थापनका विषयमा गहन संवाद भएको अध्यक्ष दाहालको सचिवालयलाई उद्धृत गर्दै राससले जनाएको छ ।

बताइएअनुसार छलफलमा दुई अध्यक्षबीच कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा प्रयोग गरिने सामग्री खरिदको विषयलाई लिएर भइरहेका टिकाटिप्पणीका बारेमा कुराकानी हुनुका साथै नेपाल र भारत दुवै मुलुकले लकडाउन गरेपछि सीमा क्षेत्रमा फसेका नेपालीको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको थियो ।