लकडाउनको उल्लङ्घन गर्नेमाथि थप कडाइ

लकडाउनको उल्लङ्घन गर्नेमाथि थप कडाइ


■ शरद शर्मा, काठमाडौं

सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाईं बिना काम बाहिर हिँडिरहनुभएको छ ? यदि छ भने प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर आजदेखि आफैं क्वारेन्टाइनमा राख्ने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि थप कडाइ गरिएको छ । सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको बन्दाबन्दीमा मानिस घर बाहिर निस्कन थालेपछि थप कडाइ गरिएको हो । सरकारले आज कडाइ गरेपछि मानिस पनि छिटफुट रुपमा हिँडडुल र सवारी साधन पनि कम चलेका देखिन्छन् । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारी मात्र सडकमा गुडेको देखिन्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले आज (१४ चैत) लकडाउनको चौथो दिन अन्य दिनको भन्दा हिँडडुलमा कडाइ गरेको बताउनुभयो । ‘लकडाउनलाई उल्लङ्घन गर्न थालेपछि आजदेखि हामीले थप कडाइ गरेका हौँ’- उहाँले भन्नुभयो, ‘बिना काम बाहिर निस्कनेलाई नियन्त्रणमा लिइनेछ ।’

उहाँका अनुसार यसरी मानिस अनावश्यक रुपमा बाहिर निस्केकालाई नियन्त्रण गर्नका लागि परिसरले दुईवटा गाडीमा प्रहरीको विशेष टोली परिचालन गरेको छ । टोलीमा रहेका प्रहरीले आफूसँग भएको उपकरणमार्फत २–३ फिट टाढैबाट बाहिर हिँडिरहेका मानिसलाई नियन्त्रणमा लिनेछ ।

‘ती दुई गाडीमा रहेका प्रहरीको गस्ती सानासाना गल्लीमा पनि जान्छन् । अनावश्यक रुपमा हिँडिरहेकालाई हामीसँग भएको उपकरणले नियन्त्रणमा लिन्छौँ’ उहाँले भन्नुभयो, ‘यसरी नियन्त्रणमा लिएकालाई प्रहरीको क्वारेन्टाइनमा राखिनेछ ।’

उहाँका अनुसार अहिलेसम्म १७ जनालाई नियन्त्रणमा लिइएको छ । उहाँले कुनै धर्ना, जुलुस नभई महामारी रोक्नका लागि सरकारले चालेको कदमलाई सबैले सहयोग गरेर बाहिर ननिस्कनसमेत आग्रह गर्नुभयो ।

यसैगरी अन्य दिनको तुलनामा आज कम सवारी साधन चलेका छन् । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सरकारले गरेको लकडाउन उल्घङ्घन गर्ने १५८ सवारी साधानलाई नियन्त्रणमा लिएको जानकारी गराउनुभयो । विश्वव्यापी रूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी लकडाउनको घोषणा हो ।

सरकारले अत्याश्यक खाद्यपदार्थबाहेक अन्य सवारी साधन चल्न दिएको छैन भने मानिसलाई पनि बाहिर निस्कन भनेको छैन । अहिलेसम्म नेपालमा विदेशबाट आएका तीनजनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । लकडाउनमा अत्यावश्यकीय पसलबाहेक अरू सबै बन्द छन् । सरकारले दूध, पानी, खाद्यान्न, तरकारीलगायतका पसल खुल्ला राख्न आग्रह गरे पनि त्यस्ता अधिकांश पसल बन्द छन् ।

pict: rss