सङ्क्रमित आकाश, सङ्क्रमित मन अनि संदिग्ध माहोल

(कोभिड-१९ : अनुभूति)

■ प्रकाश के.सी., लण्डन

बाहिर आकाश खुल्ला छ, जुर्मुराएर पारिलो घाम उदाङ्गिएको छ, निलो रंगको तिख्खरपन लण्डनको विशाल आकाशभरि यस्तरी फैलिएको छ कि प्रकृतिको व्यापकतामा मानव–जीवन जस्तो नगण्य होस् ! हर्दम समानान्तर सेतो धर्को तानेझैँ गरी अकाशको चौतर्फी उड्ने हवाइजहाजहरू पूर्ण रुपमा बन्द छन् । तनक्क तन्किएर लम्पसारिएका सडक सुनसान छन् । मानवनिर्मित चहलपहलहरू एकाएक ठप्प भएका छन् । समय– जस्तो अब यहाँबाट अल्छी मान्दै घिस्रिँदै चल्नेछ । यो शान्त अनि सुनसान पलमा म बाहिर गार्डेनमा म्याट ओछ्यार लम्पसार पर्छु र आकाशको विशालतामा हेर्दै जीवनमा भोगिएका समयहरूलाई सम्झेर केलाउन थाल्छु ।

हङकङमा बिताइएका दर्जन वर्षमा कमाइएका अनुभवहरूमा कहिल्यै यसरी खुल्ला रुपमा आकाशलाई हेरिएन, यसरी आकाशको निख्खर निलोपनसँग जीवनका अनुभवहरू साट्दै अल्छीलाग्दो दिन कटाइएन । अग्ला–अग्ला घरहरूले घेरिएर साँघुरिएको आकाश जहिले पनि आक्रामक लाग्नेगरी अग्ला भवनहरूको टुप्पाबाट जमीनमा निहार्ने गर्दथ्यो, त्यस्तैगरी पहाडैपहाडको चौघेराबाट फुत्किएर जमिनलाई धस्न खोज्ने नेपाली आकाश आफ्नै भए पनि सानो लाग्थ्यो, निरीह लाग्थ्यो, अनि त्यही निरीहताले अक्सर उक्त आकाश विरक्ति जगाउने खालको थियो । कोरोना भाइरसको करामत नै आज संसारका लगभग सबैजसो देशमा मानिसहरूलाई तिनको निरीहताको औकात दिलाउन सक्षम आकाश सानो या ठूलो जस्तै आकारमा भएपनि एकातिर आततायी लाग्ने खालका अनि अर्कोतिर शान्तिदायी छन् । कहिले कोरोनालगायतका भाइरसलाई एक ठाउँबाट अर्को ठाउँ लान सक्षम आकाश त्रास फैलाउने खालले माथि फैलिएको लाग्छ भने कहिले त्यही आकाश अन्तिममा त्यही भयावह स्थितिको समाधान लिई सन्त्रास अन्त्य गरेर सुरक्षाको भर दिन सक्ने खालको लाग्दछ ।

समाचारमा उल्लेख भएअनुसार, विश्वभरिमा दुई करोड पचास लाखभन्दा ज्यादा मानिसहरूलाई आजको दिनसम्म बेरोजगार बनाउन सक्षम कोरोना भाइरसलाई बेलायत, अमेरिका, अनि युरोपभरि विश्वयुद्धको बेलाको जस्तो अवस्था ल्याउन सक्षम मानिएको छ । २.७ खर्बभन्दा ज्यादा अमेरिकी डलरको आर्थिक घाटा विश्वअर्थतन्त्रले व्यहोरिसकेको छ । विश्वका अति व्यस्त विमानस्थलहरूमध्ये एक मानिएको हिथ्रो अहिले सुनसान छ । लाखौंँ लाख यात्रुलाई आवतजावत गराउने ट्रेनहरू ‘मौन’ छन् । मुख्य सडकका हजारौँ पसल बन्द छन् । सिनेमा, क्लब अनि पवहरू पूर्ण बन्द छन् । ती क्षेत्रमा काम गर्नेहरू सबै घरमा थन्किएर बसेका छन् । करोडौँ करोडको कारोबार ठप्प छ र यी सबमा राहत दिनको लागि विभिन्न मुलुकमा जस्तै बेलायतमा सरकार विश्वयुद्धताकाको कार्यक्रमलगायत राहतका प्याकेजहरू लिएर आएको छ ।

मोर्गेज, क्रेडिट, काउन्सिल आदि विविध क्षेत्रमा सरकारी वा गैरसरकारी सहयोग एक ठाउँमा छ भने कामबाट घरमा बस्न भनिएकाहरूलाई सरकारले तलबको असी प्रतिशत तलब दिने भनेको छ तापनि एक भयावह डर आमजनताको मनबाट हटेको भने छैन । अति आवश्यक सामानहरूको खरिददारीमा प्रतिबन्ध छैन । मानिसहरूले दुई मिटरको राखेर हिँड्ने अनि उभिने गरेको भने दुःखदायी लाग्छ । बिरामीजस्तो लाग्ने खालको मान्छेहरू देख्दा दया होइन, भय लाग्न थालेको छ । छिमेकीसँग उभिन सकिएको छैन, एकले अर्कोलाई शंकाको दृष्टिले हेर्न थालिएको छ । जेठानले आफ्नो बारीभरि साग टन्न भएको तर कसैलाई बोलाएर दिन नसकिएकोमा खेद प्रकट गरेका छन् भने, मेरो भान्जाको छोरी ज्वाइँ आफ्नो बच्चाहित फ्यामिली क्वारेन्टाइनमा बस्दा आमरुपमा खाइने खाद्यान्नको अभावमा छट्पटिएका पनि छन् ।

मौसमजन्य भाइरसको रुपमा हेरिएको कोरोनालाई आकाशमा तिख्खरिएर झल्मलाउने सूर्यको तापले मत्थर पार्दछ । त्यसैले विन्टरबाट बेलायत समरमा प्रवेश गरेपछि कोरोना मत्थर हुँदै भाग्छ भन्ने आम विश्वास अहिले अष्ट्रेलिया, मध्यपूर्व आदि देशहरूमा फैलिन थालेको अवस्थाले गर्दा घरासायी भएको छ । खुल्ला आकाश, पारिलो घाम, जमीनबाट सर्वत्र मौलाउँदै गएको विविभ फूलहरू, ओइलाएका लाग्ने रुखहरूमा छाउँदै गएको हरियालीले, जसले बेलायती मनभरि उमङ्ग ल्याउने गर्दथ्यो, अहिले साधारणतया आशा पनि जगाउन सकेको छैन । ती हरियाली, ती कोमल किसिमले मौलाउँदो फूलहरू अनि तिख्खरिएर आकाशमा झिल्मिलाएको सूर्यले गिज्याउन थालेको जस्तो लाग्ने मानसिकतामा आम बेलायती नागरिकहरू आफ्नो सानो परिसरमा सक्दो फैलिने क्रममा छन् ।

अनलाइनमा कतै पढिएको थियो कि गोर्खालीहरूलाई कोरोना भाइरसले छुँदैन । आफैमा हास्यास्पद लाग्ने यो समाचार नेपालीले नेपालीहरूका लागि नै लेखेका थिए सायद । भर्खरै बेलायतमा एक वृद्ध गुर्खाले आफ्नो ज्यान गुमाएका छन् भने अर्को नेपाली महिला भाइरसको शिकार भएर अस्पतालमा छिन् । त्यस्तै, उता पोर्चुगलमा, कतारमा अनि अमेरिकामा केही नेपालीहरू भाइरसबाट सङ्क्रमित भइसकेका छन् । नेपालमा आधिकारिक रुपमा भाइरसका सङ्क्रमितहरू देखाइएको छैन तर सरकारले अति नै प्रोयाक्टिभ एक्शन देखाएर नेपाललाई बन्द गराएको छ । त्यो नेपालजस्तो स्वास्थ्य सुविधा व्यवस्थामा कमजोर भएको देशमा अति नै जरुरी हो तर जनतालाई बन्द गराएर सेल्फ कन्टेण्ड गराउने सरकारले कुनै राहतका प्याकेजहरू दिन सकेको छैन, जसको विकल्पमा आम शहरिया, मजदुर नेपालीहरू बन्दलाई तोडेर सडकमा नझर्लान् र संक्रमणलाई नफैलाउनलान् भन्ने सकिँदैन । नेपालमा जानकारहरूले यसबीच पक्कै सोच्दैछन् होला, पक्कै नै ।

यता हिन्दूको सनातनी व्यवस्थाअनुसार मैले मेरा बुबामुमाको पहिलो वर्षी वा श्राद्ध गर्नको लागि नेपाल जान सकिनँ, म के, मेरा दिदीबहिनीहरू त्यही नेपालको एक ठाउँबाट अर्को ठाउँ जान नसक्ने हालतमा छन् । यता भर्खरै मेरी श्रीमतीको एक आफन्त नेपालमा बितेका छन्, जसको लागि तिनका छोराछोरीहरू यहाँबाट नेपाल जान सक्ने अवस्था छैन । यो कोरोना भाइरसले सबै खाले व्यक्तिहरूलाई एक ‘साइज’मा ल्याएको छ । धनीले पैसाको भरमा आफूलाई कोरोनाभाइरस मुक्त बनाउन सकेका छैनन्, धर्मले त्यसको निचोड दिलाएको छैन । गर्नैपर्ने काजक्रियाहरूको अभावमा धार्मिक मूल्य र मान्यताले कुन हदसम्मको विरोधाभास देला भन्ने कल्पना गर्न नसक्ने गरी अहिले संसारलाई एक लेभल फिल्डको रुपमा स्थापित गरेको छ । अचनाकै इन्टरनेटको माध्यमका भलाकुसारीहरूको प्रयोगमा व्यापकता थपिएको छ । अहिले प्यारो लाग्दै गएको भिडियो च्याटिङमा भर्खरै मैले मेरा कलेज साथीहरूसँग गफ गर्न पाएँ । विश्वको चौतर्फी छरिएका हामीहरू, जस्तो एकै आँगनमा बस्यौं, जमानाका कुराहरू गर्दैगर्दा हामी अनायास ठिटा भयौं, जीवन्त भयौँ । मलाई सो भलाकुसारीले स्फूर्ति जस्तो दिलाएको छ, जसको फलस्वरुप एकपछि अर्को गर्दै म आफन्तहरूलाई अनलाइनमा खोज्दै बोल्न जो खोज्दैछु ।

साधारणतया दुई–तीन महिनाको अवधि दिइएको भाइरसको संक्रमण इटालीमा रोकिने छाँट देखाएको छैन, यता जर्मनी, स्पेन, फ्रान्स, बेलायत, अमेरिकामा संक्रमणको क्रम बढ्दो गतिमा छ, जसको तथ्यांकले भने मनमा अझै नैराश्यता थपेको छ । टीभी तथा समाचारहरू कोरोना भाइरसमय भएको छ, जसले शरीर मात्र होइन, मन पनि सङ्क्रमित पार्दै लगेको छ । बाहिर झलमल्ल घाम टल्किएको छ, आकाश निख्खर निलिएको छ, अगाडिको स्यानो जँगलमा केही बथान चराहरू चिर्बिराउँछन्, आक्कलझुक्कल मोटरगाडीहरू सडकमा कहिलेकाहिँ हुँइकिन्छन् र साथ मन त्यसैगरी हुँइकिन चाहन्छ, त्यसैगरी फैलिन चाहन्छ तर अत्यास लाग्ने गरी कोरोनाभाइरसको जडले पारेको वर्तमान निश्चलताले भने बेस्सरी दुखाउँछ, भित्र कतै ।



प्रतिक्रिया