नर्भिकमा ‘कोभिड-१९ का बिरामी भेटिएको’ भ्रम फैलाइएपछि…

नर्भिकमा ‘कोभिड-१९ का बिरामी भेटिएको’ भ्रम फैलाइएपछि…


शनिबार (८ चैत) विहानैदेखि फेसबुुकलगायतका विभिन्न सामाजिक सञ्जालमा ‘नर्भिकमा ८ जना कोभिड–१९ का बिरामी भेटिए’ भन्दै भ्रामक सन्देश फैलाइएको सन्दर्भप्रति नर्भिक इन्टरनेशनल हस्पिटलले दुःखदाश्चर्य प्रकट गरेको छ ।

यस्तो संवेदनशील विषयमा अकल्पनीय तवरले शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित तथा झुट्टा समाचार प्रकाशित भएको भन्दै अस्पतालले सोको खण्डन गरेको छ ।

नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले एक विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सवै निकाय एकजुट भइ समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक कुराको दुश्प्रचारप्रति हामी घोर निन्दा र खेद प्रकट गर्दछौँ ।’

कार्यकारी निर्देशक सिंहले हालसम्म नर्भिकमा कोभिड–१९ का कुनैपनि बिरामी पत्ता नलागेको जानकारी दिँदै यसमा निश्चिन्त र प्रष्ट रहन सबैलाई अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा फैलाइएका समाचारमा कुनै पनि सत्यता नभएको दाबी गर्दै नर्भिकले भ्रामक समाचार फैलाउने प्रचारक जोसुकै भएपनि कडा सामाजिक कारवाहीको भागिदार हुनुपर्ने माग गरेको छ ।