‘टु प्लस वान’ राखेर अस्तित्व कमजोर गर्ने कि ‘प्लस थ्री’मा जाने ?

प्लस थ्री !

■ सोमविक्रम सिंह



इतिहासको कालखण्डको केही विवादित समयबाहेक शाहवंशीय समयकालीनदेखि हालसम्म चीन नेपालको हित चाहन्छ, नेपालमा शान्ति चाहन्छ, विकासका लागि सहयोग गर्न चाहन्छ । चीन कोरोना भाइरससँगको युद्ध जित्न चाहन्छ र यो बाइलोजिकल वेपनरूपी कोरोना भाइरस नेपाल पसे वाइलोजिकल वार जित्नका लागि जुनसुकै तवरमा पनि सहयोग गरी यसको पीडाबाट नेपाललाई मुक्त गर्न चाहन्छ । चीन नेपालको स्थायित्व होस् भन्ने हेतु सदैव नेपालले भारतको सहयोग लिएर अघि बढोस् भन्ने विचार राख्छ ।

चीनको बुझाइ छ– नेपाल र भारतको संस्कृति तथा रीतिरिवाज करिब मिल्छ, तसर्थ नेपालको भरपर्दाे साथी भारत हुन सक्छ । हामी चीनको यस कुरालाई हार्दिक नमन गर्दै आभार व्यक्त गर्न चाहन्छौँ । हामी यो कुरा बुझ्छौँ, तर हाम्रो पहाड र हिमाली कैयौँ जिल्ला चीनको सीमासँग टाँसिएर रहेको छ, तसर्थ जस्तो हाम्रो भारतसँग सम्बन्ध छ, चीनसँग पनि त्यस्तै सम्बन्ध हुनपर्दछ भन्ने नेपालीको मान्यता छ । श्री ५ बडामहाराजाधिराज तथा राष्ट्रिय एकीकरणका निर्माताको दिव्यदर्शनझैँ दुई ढुङ्गाबीचको तरुल, नेपाल शान्तिपूर्ण रहन चाहन्छ, दुवै देशसँग नरम सम्बन्ध राखेर ।

हामी चीन र भारतजस्तो विशाल देश नभए तापनि संसारका धेरै देशभन्दा ठूला छौँ र नेपाल कसैको गुलामको रूपमा रहेन । हामीले विशाल तथा विकसित दुवै देश र नेपाललाई पनि फाइदा हुन सक्ने गरी चीन र भारतबीचको शान्तिप्रिय पुलको भूमिका खेल्न सक्नुपर्दछ भन्ने मान्यता राख्दछौँ । तसर्थ अहिलेको चलनअनुरूपझैँ प्लस टुको सूत्र राखेर होइन हामी प्लस थ्रीको सामरिक सूत्रमा बाँधिन चाहन्छौँ । विदेश नीतिमा हामी अब चुक्न हुन्न, विदेश नीति आफ्नो राष्ट्र र राष्ट्रियतालाई कमजोर हुने गरेर होइन तथा हाम्रो विदेश नीतिले छिमेकी देशलाई पनि नकारात्मक प्रभाव पर्न नहुने गरी नीति निर्माण हुनुपर्दछ । हामी दुई देशभन्दा सबै कुरामा कमजोर देखिए तापनि नेपाल स्वतन्त्र, शान्तिप्रिय, प्रतापी तथा बहादुरीमा संसारमा प्रसिद्व छौँ । तसर्थ अब हामीले प्लस टुको सूत्रलाई त्यागेर प्लस थ्रीको सूत्र अपनाउनुपर्छ र हामी चीन तथा भारतकै हैसियतमा बस्न सक्नुपर्छ ।

जुन किसिमले दलालीको दलदलमा नेपाल फस्दै गइरहेको छ त्यसले देशलाई गृहयुद्वमा फसाउन सक्ने चिन्ता बढ्दै गएको छ । कठपुतलीहरू विदेशीको लहलहैमा क्षणिक रूपले सत्ताको चास्नी चाख्दै बस्दा देश ठूलो भुमरीमा परी दलदलमा जाकिन सक्छ भन्ने आकलन गरे हुन्छ । डा. शशांक योगी आदित्यनाथलाई भेटेर आउनु, नानीदेखि लागेको बानी भनेझैँ उपचारको बहानामा जोडघटाउ गर्न रामचन्द्र पौडेल भारत भ्रमण गर्न गई सुटुक्क राजनाथसँग भलाकुसारी गर्नुले राजनीतिमा भुइँचालो गएको छ । पशुपतिशमशेर भारत बसाइमा केही फाइदा गर्न सकिन्छ भनी जाल हाल्न त गए, तर राजासँग भलाकुसारी गर्न पाएनन् भन्ने हल्लाले उनलाई केही सहज देखिन्न ।

राजा ज्ञानेन्द्र सरकार अकस्मात् स्वर्ण मन्दिर दर्शनमा सवारी हुनुले केही सङ्केत गर्छ । राजा ज्ञानेन्द्रको अकस्मात् भ्रमणमा मोदी र ट्रम्पसँग भेट भयो भन्ने हल्ला फिँजिनुमा युट्युबरको समाचार भाइरल बनाएर पैसा कमाउने दाउ मात्रै देखियो । तर, कतै राजाको ट्रम्पको दूतसँग भेट भएको कानेखुसी गरिरहेका छन् । जे होस्, एमसीसीको बिर्को खुल्न नसकेको अवस्थामा त्यहाँ कस्तो किसिमको होली वाइन छ चाख्न पाइएको छैन । एमसीसीले जोडदार नेपालको राजनीति तताइरहेको अवस्थामा ट्रम्पको भ्रमण छिमेकी मुलुक भारतमा हुनुले नेपालको राजनीति उम्लिन लागेको पानीको अवस्थामा छ ।

अकास्मात् गणतन्त्रको पक्षधर पशुपतिशमशेर र गणतन्त्रको संविधानलाई उत्कृष्ट देख्ने कमल थापाको पार्टीको मिलन भयो । तर, यो मिलनले खासै राजनीतिको बजार तताएन सिर्फ केही नेतालाई खुसी पार्नेबाहेक । पशुपतिशमशेरको उमेरले गर्दा र कमल थापाको बारम्बारको धोकाले गर्दा जनताले अब राप्रपालाई त्यति पत्याउने माहोल देखिँदैन । डेढ वर्षपछि यो पार्टी कमल थापाले आफ्नै पोल्टामा राख्ने पक्का छ । उनी कमजोर भएको कारणले अत्तालिएर मात्रै पार्टी एकीकरण भएको हो । तसर्थ यो पार्टी मिलन त्यति उत्साहजनक देखिँदैन र नेपालीको हितमा पनि छैन खालि पार्टी व्यवस्थापन हुनुबाहेक ।

व्यवस्था परिवर्तन हुने जुन किसिमको माहोल बन्दै छ, त्यसले गर्दा अनेकथरीको बहस चल्न शुरु भइसकेको छ । केपी कमजोर बनाउने खेल कम्युनिस्ट पार्टीभित्रै चलिरहेको छ । वामदेव गौतम, माधव नेपाल, झलनाथ र प्रचण्ड एउटै गुटमा समावेश भइसकेका छन् भने पार्टी फुट्छ कि भन्ने हल्ला शुरु भइसकेको छ । यस्तै देउवाको कारणले गर्दा काङ्ग्रेसमा ठूलो बाधा देख्नेले अब काङ्ग्रेस फुट्ने आकलन गर्दै छन्, देउवालाई भारतको होइन पश्चिमा देख्नेको पनि कमी छैन । यता सेनाको कु, केपीको संसद् विघटनको चाल, प्रचण्डले सरकार हत्याउने चाल, सम्मानित न्यायालयले गणतान्त्रिक विघटन भई पुरानो व्यवस्था फेरिने अनेक दाउपेच, विदेशीको चलखेल आदिले अब केही हुने हो कि जनताको चासो बढिरहेको छ ।

नेपाल र नेपालीको बलियो, स्थायी र राष्ट्रवादी शक्तिको रूपमा रहिरहेको राजसंस्थाको प्रमुख सदस्य राजा ज्ञानेन्द्रको रहस्यमय भारत भ्रमण हुँदा धर्मविरोधी प्रचण्ड पनि नेपालको प्रख्यात धार्मिक स्थल जनकपुर गई मालपुवा पकाउनाले राजनीतिले नयाँ मोड लिने केही सङ्केत देखिन थालेको छ । प्रचण्ड राजनीतिक चतुर खेलाडीमध्ये एक हुन्, सबैको नजर अब प्रचण्डमा गएर अड्किएको छ । तर, उनी आफ्नो स्थायित्व, परिवारको संरक्षण, राजनीतिक भविष्य सुरक्षार्थ र आफ्नो सेफ ल्यान्डिङका लागि जुनसुकै तल्लोस्तरमा पनि ओर्लिन सक्ने व्यक्ति हुन् । उत्तर र दक्षिणका लागि पनि शङ्कास्पद व्यक्तित्व उनले भर्खरै अमेरिकालाई पनि नराम्ररी चक्मा दिइसकेका छन् । उनले आफु बच्न फेरि केही नयाँ हतकण्डा अपनाउने हुन् कि भन्ने विश्लेषण हुँदै छ । त्यत्रो धार्मिक रथयात्रा गरेका विभिन्न धर्मगुरूलाई वाचा गरेका, राजालाई बारम्बार राजसंस्था पुनस्र्थापित गर्छु भनी विश्वास दिलाएका, धर्म र राजसंस्था नै राष्ट्रको ढुकढुकी देख्नेले एउटा सानो गीतालाई छुँदैमा डाँकुबाट वाल्मीकि जोकोही पनि भइहाल्ने एउटा दिवा सपना मात्रै हो कि ?

अर्को, पशुपतिशमशेरले पनि राजसंस्थाको नाम लिएको कसैले सुन्नुभएको छ ? झन् यसपालि राजालाई दिल्लीमा भेट्न नपाएर राजाको भेउ बुझ्न नपाएर रन्थनाएका व्यक्तिले किन राजाको नाम लेलान् ? अर्का डाक्टर साबले त बल्लबल्ल वकालत गर्ने प्रयास गरे त्यही पनि राजतन्त्रात्मक व्यवस्थालाई संसद्अन्तर्गत ल्याउने भनेर विवादित बनाइछाडे । अहिले पार्टी एकीकरण गर्दा एउटा बुँदा देखियो राजाको बारेमा, त्यही पनि सबैले मान्ने राजा भन्ने शब्द जोडिहाले । राजसंस्था मान्ने व्यक्ति, संस्था र सङ्गठनहरू पनि छरपस्ट, कोलाहल अवस्थामा तथा जे पायो त्यही नारा र मुद्दाका साथ हिँडिरहेका छन् । ती भिडहरू अनियन्त्रित र आलोकाँचो नेतृत्वमा छन् । सबैले मान्ने राजसंस्थामा यदि प्रचण्डले बाध्यताले माने तापनि उनले मान्ने राजा त च्याँखेदाउमा राखेर मात्रै आउँछ । तर, पल्ला भारी प्रचण्डको नै देखिन्छ ।

उता राजाले ट्रम्पको खास मान्छेलाई भेटेको हल्ला चल्नु, यता महराको घुमाउरो पाराले विदेशी दाउपेचमा आफ्नो छवि ध्वस्त भएको भन्नु, प्रचण्डद्वारा एमसीसीका केही अप्ठ्यारो बुँदा फेरबदल भएर पास हुने सङ्केत हुनु र पश्चिमाका पट्ठु होडहोडेले बुढानीलकण्ठबाट जनताको भावना तथा मर्मलाई लत्याएर एमसीसी जसरी पनि पास गर्नुपर्छ भन्ने उर्दी जारी गर्नाले राष्ट्रवादी र देशभक्त नेपाली फेरि चेपुवामा पर्ने आभास पाइन्छ । यता चिनियाँ राजदूतले एमसीसी पास भए नेपाली जनताले दुःख पाउँछन् भन्नेको तात्पर्य नेपाली जनताले बुझेका छैनन् होला र ? पैसा आएपछि सुखी र खुसी हुनुपर्नेमा दुःख पाइन्छ भन्नुको अर्थ नेपाली जनताले अब बुझिसके ।

चीन नेपालको राजनीतिक अवस्थादेखि चिढिइसकेको अवस्था छ । त्यहीमाथि एमसीसी र इन्डो–प्यासिफिक दुवैमा भारतको संलग्नता छैन । भारत पनि एमसीसी र इन्डो–प्यासिफिकमा नेपाल फसेको हेर्न चाहन्छ कि भन्ने बुझिन्छ । अमेरिका र पश्चिमा एमसीसीको नाममा नेपाल फसे चीनसँग सीधै नेपालको राजनीतिक द्वन्द्वमा फस्न सक्छ । तत्पश्चात् सहजै रूपले भारत बेफिक्री रूपमा पाकिस्तानसँगको पीओके मामलामा अगाडि बढ्न सक्नेछ । भारतको चीनसँग इकोनोमिकल्ली र विश्वबजारका निम्ति राम्रै सम्बन्ध भए पनि पोलिटिकल्ली द्वन्द्व नै छ । पाकिस्तानको निम्ति चीन भरोसामन्द साथी हो तसर्थ चीनको ध्यान तिब्बत मामिलामा आकर्षित गर्ने उपाय खोज्नु भारतको विवशता हुन सक्छ । तसर्थ नेपाल एमसीसी र इन्डो–व्यासिफिकमा फसे भारतलाई राजनीतिक जित हुन जान्छ ?

विदेशी आएर चीनको आन्तरिक सुरक्षा र स्थायित्वको चुनौतीका रूपमा विभिन्न बहानामा नेपालको भूमि प्रयोग गरी तिनका विभिन्न प्लान र स्ट्राटेजीप्रति सजग देखिन्छ । बेलाबेलामा चीनले कूटनीतिक आक्रोशको केही शश्द व्यक्त गरिरहेको देखिन्छ । चीनले नेपाल नरेशको कुनै स्ट्राटेजी र प्लान नदेख्नु र प्रचण्ड त्यति भरोसायोग्य नदेख्नुले चीनलाई नेपालको राजनीतिक माहोल चुनौतीको रूपमा देखा परिरहेको छ । यदि विभिन्न बहानामा कुनै पनि व्यक्ति प्रयोग भई कुनै पनि शक्ति स्थापित तथा पुनस्र्थापित गर्न, व्यवस्था परिवर्तन गर्न र विदेशीको खेलमैदान बनाउन कोसिस गरिन्छ भने कुनै पनि देशभक्त र राष्ट्रभक्तलाई सह्य हुनेछैन । चीन विश्वकै शक्तिशाली राष्ट्र भएर अगाडि बढिरहेको बखत हामीले चीनसँग विकास, स्थायित्व र शान्तिका निम्ति सहयोग लिनुपर्नेमा चीनलाई चिढ्याउने प्रयासले के नेपाल शान्तिपूर्ण रूपले अगाडि बढ्न सक्ला र ? यदि चीन नेपालसँग रिसाए के ड्रयागनको मुखबाट निस्कने ज्वालामा फसेर नेपाल नजल्ला र ? त्रिपक्षीय राजनीतिलाई लत्याउँदा दूरगामी असर पुऱ्याउँछ र भविष्यमा कतै देश गृहयुद्धको भुमरीमा त जाकिँदैन ? गहन प्रश्न यही छ ।

(लेखक राष्ट्रिय सरोकार मञ्च नेपालका अध्यक्ष हुन् ।)

प्रतिक्रिया