सुनील थापाद्वारा राप्रपाको एकीकरण समारोह बहिस्कार

सुनील थापाद्वारा राप्रपाको एकीकरण समारोह बहिस्कार


राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनीलबहादुर थापाले बुधबार राष्ट्रिय सभामा आयोजित राप्रपा एकीकरण समारोह बहिस्कार गरेका छन् ।

पशुपतिशमशशेर राणाको नेतृत्वले गणतन्त्र र संघीयताविरुद्ध राजतन्त्रलाई स्वीकार गरेको हुनाले आफू एकीकरणमा सहभागी हुन नसकेको थापाको तर्क छ । थापाले राजतन्त्रको पक्षमा उभिँदै आएको कमल थापा नेतृत्वको पार्टीसँग एकता गर्ने पशुपतिशमशेरको निर्णयमाथि आपत्ति जनाउँदै हिजो मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि बहिस्कार गरेका थिए ।

सूर्यबहादुर थापाको नेतृत्वमा रहेको राप्रपाले गणतन्त्र र संघीयताको पक्ष लिँदै आएकोले उनले आफू आफ्ना पिताको राजनीतिक लाइनमै अडिग रहने बताउँदै आएका छन् । सूर्यबहादुरको निधनपछि पनि राप्रपाले गणतन्त्र र संघीयतासहितको संविधानलाई स्वीकार गर्दै आएको थियो । उनले आफ्ना पिता तथा पार्टीका संस्थापक नेता सूर्यबहादुर थापाले लिएको राजनीतिक अडानबाट राप्रपाको नेतृत्व विचलित भएको आरोप लगाएका छन् ।