गीता छोएर कसम खाँदै कमल थापाले भने– पार्टी फुटाउने काम गर्दिनँ

गीता छोएर कसम खाँदै कमल थापाले भने– पार्टी फुटाउने काम गर्दिनँ


राष्ट्रिय सभा गृहमा बुधबार आयोजित राप्रपा र राप्रपा संयुक्तको एकीकरण समारोहमा राप्रपा अध्यक्ष कमल थापाले अब पार्टी नफुटाउने कसम खाएका छन् । उनले हिन्दूहरूको आस्थाको केन्द्र भगवान पशुपतिनाथलाई साक्षी राखेर ‘भागवत गीता’ पुस्तकसमेत छुँदै उक्त कसम खाएका हुन् ।

एकीकरण समारोहमा उपस्थित कार्यकर्ताले यसअघि पनि नेताहरूकै कारण पार्टी चारपटक फुटिसकेकोे भन्दै अब पार्टी नफुटाउन माग गरेका थिए । समारोहमा राप्रपा काठमाडौंका जिल्ला सचिव हरिप्रसाद अधिकारी पार्टी नफुटाउने कसम खान माग गर्दै गीताको पुस्तक नै बोकेर पुगेका थिए ।

पार्टी एकीकरण समारोहमा अध्यक्ष थापा र पशुपतिशमशेर जबराले एकीकरण पत्र आदानप्रदान गरेका थिए । त्यसपछि थापाले खल्तीबाट गीताको पुस्तक निकाल्दै भने, ‘पार्टीलाई माया गर्ने साथीहरूलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौँ, म कहिल्यै पनि पार्टी फुटाउने छैन । तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता ल्याएको छु । यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन ।’

उनले अब आफू कुनै पनि हालतमा पार्टी फुटाउने पक्षमा नरहेको भन्दै अन्य दुई अध्यक्ष पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी पनि पार्टी फुटाउने पक्षमा नरहेको बताए ।