बाँस्कोटाको घरमा बम प्रहार गर्ने आतंककारी हुन् : प्रचण्ड

बाँस्कोटाको घरमा बम प्रहार गर्ने आतंककारी हुन् : प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम प्रहार गर्नेलाई आतंककारीको संज्ञा दिएका छन् । उनले पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा बुधबार बिहान गरिएको प्रेसर कुकर बम प्रहार घटनाको निन्दा गर्दै सो घटनामा संलग्न समूहलाई आतंककारी करार गरेका हुन् ।

अध्यक्ष दाहालले एक विज्ञप्ति जारी गर्दै मध्यपुर नगरपालिका– १ लोकन्थली भक्तपुरस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुऱ्याएको उल्लेख गरेका छन् । ‘म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भर्त्सना गर्दछु, घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ विज्ञप्तिमा उल्लेख छ ।