दुई सडक दुर्घटनामा तीनको मृत्यु

दुई सडक दुर्घटनामा तीनको मृत्यु


दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा बोलेरोको ठक्करबाट बुधबार एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ ।

चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना.३च २२६१ नम्बरको बोलेरोले पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका–५ को जनक माविनजिकै आज बिहान २ः४५ बजे ठक्कर दिँदा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।

ठक्कर दिने बोलेरो र त्यसका चालक धादिङको बेनीघाट गाउँपालिकाका चन्द्रबहादुर चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग.१त ४८०८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टरचालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । सडकबाट १५० मिटर तल ट्र्याक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस