राजपालाई विलय गराउन महेन्द्रको ‘अन्तिम’ बैठक

राजपालाई विलय गराउन महेन्द्रको ‘अन्तिम’ बैठक


अदृश्य शक्तिको डिजाइन र प्रचण्डको आकाङ्क्षाअनुरूप राष्ट्रिय जनता पार्टी (राजपा) लाई उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी पार्टीमा विलय गराउने योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ ।

हाल राजपा अध्यक्षमण्डलको अध्यक्ष रहेका महेन्द्र राय यादवले आफ्नै कार्यकालमा राजपाको अस्तित्व समाप्त गरी उपेन्द्र यादवको नेतृत्वलाई बलियो बनाइदिने विश्वास दिलाएको जानकारी प्राप्त भएको छ । महेन्द्र राय यादव आगामी चैत ५ गतेसम्म अध्यक्षमण्डलको अध्यक्ष रहनेछन् । त्यसपछि राजपाको नेतृत्व शरत्सिंह भण्डारीको हातमा जानेछ ।

प्रजातान्त्रिक पृष्ठभूमिका शरत्सिंह भण्डारी कम्युनिस्ट ‘पकड’को सङ्घीय समाजवादीमा राजपालाई विलय गराउनुअघि धेरै विचार गर्नुपर्छ भन्ने पक्षमा रहेको बताइन्छ । सङ्घीयका मुख्य चार नेतामध्ये अशोक राई र राजेन्द्र श्रेष्ठ ‘एमाले’मा नेतृत्वदायी भूमिका निर्वाह गरेर आएका व्यक्ति हुन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव माओवादी पृष्ठभूमिका मानिस हुन् । राजपाका नेताहरू महन्थ ठाकुर, शरत्सिंह भण्डारी, राजकिशोर यादव, राजेन्द्र महतो र अनिलकुमार झा प्रजातान्त्रिक पृष्ठभूमिका हुन् ।

महेन्द्र राय यादव मात्र एमाले पृष्ठभूमिका हुन् र राजपालाई सङ्घीयमा विलय गराउन सबैभन्दा धेरै कस्सिनेमा पनि उनै परेका छन् । महेन्द्रले ‘अन्तिम निर्णयका निम्ति’ भन्दै फागुन ३० गते राजपा अध्यक्षमण्डलको बैठक बोलाएका छन् । उनी सोही बैठकबाट राजपाको अस्तित्व मेटी सङ्घीयमा विसर्जन गराउने योजना बनाउँदै छन् ।

उपेन्द्र यादवको समूहमा राजपा सामेल भएपछि हालको राजपा पक्षलाई तीनमध्ये एउटा अध्यक्ष दिइने भएको छ । तीनजनाको अध्यक्षमण्डलमा क्रमशः महन्थ ठाकुर र बाबुराम भट्टराईपछिको वरीयतामा रहन मञ्जुर गरेका उपेन्द्र यादवले आफूलाई कार्यकारी भूमिका हुनुपर्ने अडान राखेका छन् भने राजेन्द्र महतोले चाहिँ चारजनाको अध्यक्षमण्डल बनाएर आफूलाई पनि अध्यक्षमण्डलमा सामेल गरिनुपर्ने धारणा राखेका छन् ।

तर, हाल अध्यक्षमण्डलको अध्यक्ष रहेका महेन्द्र यादवले चाहिँ कुनै पनि स्वाभिमानी माग राखेका छैनन् । उनलाई प्रचण्ड, उपेन्द्र यादव र अदृश्य शक्तिले उपलब्ध गराइदिएको स्रोत र साधनमै उनी रमाइरहेका छन् । कुनै अप्रत्यासित घटना भएन भने फागुन ३० कै बैठकबाट टुङ्गो नलागे पनि निकट भविष्यमै राजपाको विलय सङ्घीय समाजवादी पार्टीमा हुने निश्चित मानिएको छ ।

यसरी मधेसकेन्द्रित दलहरूलाई एक ठाउँमा ल्याएपछि उक्त दलसँग शुरुमा कार्यगत र त्यसपछि पार्टीगत एकता गर्ने दीर्घकालिक योजनामा प्रचण्ड रहेका छन् ।