प्रधानमन्त्री ओली अझै एक–दुई दिन अस्पतालमै रहने

प्रधानमन्त्री ओली अझै एक–दुई दिन अस्पतालमै रहने


प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल बसाइ एक दिन लम्बिने भएको छ । तर, उहाँको अस्पताल बसाइ स्वास्थ्यमा थप जटिलता थपिएर नभई डिस्चार्ज गर्दा प्रधानमन्त्री निवासमा जनसम्पर्क बढी भएर संक्रमण फैलने त्रासले निर्धारित मितिभन्दा एक दिन लम्बिने भएको हो ।

राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गत बुधबार मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीलाई पर्सि बुधबार डिस्चार्ज गर्ने तयारी थियो । तर, डिस्चार्ज गरेर प्रधानमन्त्री निवास गएपछि उहाँको धेरै व्यक्तिसँग भेटघाट हुने भएकोले उहाँमा संक्रमण हुने अनुमानका आधारमा प्रधानमन्त्रीको अस्पताल बसाइ एक दिन लम्बिने बताइएको छ । मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिमा संक्रमणको सम्भावना बढी हुने भएकोले प्रधानमन्त्री ओलीको डिस्चार्ज बिहीबार मात्र हुने भएको छ ।

गत बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको स्वास्थ्यमा चिकित्सकको अनुमानअनुसार नै सुधार आएको छ । प्रधानमन्त्री ओली डिस्चार्ज भएर निवासमा दुई–चार दिन आराम गरेपछि नियमित काममा फर्किने छन् ।