मध्य प्रदेशमा सिन्धियासँगै १९ कंग्रेस सांसदद्वारा राजीनामा

मध्य प्रदेशमा सिन्धियासँगै १९ कंग्रेस सांसदद्वारा राजीनामा


भारतको मध्यप्रदेशमा भारतीय कंग्रेसको तर्फबाट लामो समय नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धियाले मंगलबार राजीनामा दिएका छन् । सिन्धयाको राजीनामासँगै मध्यप्रदेश राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका थप ६ जना मन्त्रीले पनि राजीनामा गरेका छन् ।

सिन्धियाले अब अघि बढ्ने समय भएको भन्दै राजीनामाको घोषणा गरेका छन् । उनीनिकट मानिने सांसदले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणासँगै उनको राजीनामा आएको हो ।

‘शुरुदेखि नै मेरो चाहना मध्य प्रदेशका साथै समग्र भारतका जनताको सेवा गर्नु रहेको छ । मेरो विचारमा कंग्रेसमा बसेर यो सम्भव छैन, त्यसैले मैले राजीनामा दिएको छु,’ उनको राजीनामामा उल्लेख छ ।

सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेशका २० मन्त्रीले मुख्यमन्त्री कमलनाथलाई राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका कंग्रेस स्रोतले बताएको छ ।

यसअघि सोमबार दिगविजय सिंहसहितका कंग्रेस नेताहरूले भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्य प्रदेशको सरकारलाई ढाल्ने षडयन्त्र गरेको आरोप लगाएका थिए । मध्य प्रदेशमा कंग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढेको थियो ।

कंग्रेसबाट राजीनामा दिनुअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी थिए । उनीहरूबीच भेटमा के कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन । अब मध्य प्रदेशको कमलनाथ सरकार संकटमा फसेको छ । यसैबीच मुख्यमन्त्री कमलनाथको घरमा कंग्रेसको आपतकालीन बैठक अहिले बसेको छ ।
AFP