स्वास्थ्यमन्त्री ढकाल भन्छन्– अब सरकारले क्वारेन्टाइनमा राख्दैन, आफैँ बस्नुपर्छ

स्वास्थ्यमन्त्री ढकाल भन्छन्– अब सरकारले क्वारेन्टाइनमा राख्दैन, आफैँ बस्नुपर्छ


स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकहरूलाई ज्वरो आएमा परीक्षण गर्ने व्यवस्था मिलाइएको र कोरोना भाइरस संक्रमण शंका लागेमा राज्यले नै उपचारको व्यवस्था मिलाउने भए पनि क्यारेन्टाइनमा बस्नुपरे सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने बताएका छन् ।

मन्त्री ढकालले अब सरकारले कसैलाई क्वारेन्टाइनमा नराख्ने र बस्नुपरे विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्डअनुसार आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने बताएका छन् । मन्त्री ढकालले मंगलबार आफ्नै कार्यकक्षमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षणपत्र बुझ्दै सो कुरा बताएका हुन् । उनले भने, ‘चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजस्तो अब सरकारले कसैलाई क्वारेन्टाइनमा राख्दैन । क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आए विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आफैँ क्वारेन्टाइनमा बस्नुपर्छ ।’

यसका लागि मन्त्रालयले पनि प्रोटोकल तयार गरिसकेको मन्त्री ढकालले बताए । उनले भने, ‘के गर्ने के नगर्ने भन्ने प्रोटोकल हामीले तयार पारिसकेका छौँ । घरमा बस्दा एक–अर्का सदस्यसँग कति दूरीमा बस्नेलगायतका कुरा प्रोटोकलमा उल्लेख छ ।’