मनकामनाले जित्यो मेयर कप फुटसल उपाधि

मनकामनाले जित्यो मेयर कप फुटसल उपाधि


मनकामना स्कुलले प्रथम अन्तरविद्यालय सेभेन ए साइड मेयर कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

आरुबारी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मनकामनाले सांग्रिला पब्लिक स्कुललाई सडन डेथमा पराजित गऱ्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । उपाधिसंगै मनकामनाले २५ हजार नगद पुरस्कार हात पाऱ्यो भने सांग्रिला पब्लिक स्कुलले १५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।

माकलबारीस्थित मनकामना फुटसलमा भएको प्रतियोगितामा सांग्रिलाका राहुल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सांग्रिलाकै साम्गेल लामा सर्वाधिक गोलकर्ता, मनकामनाका कौशल लोहनी उत्कृष्ट गोलरक्षक, मनकामनाका अंकित केसी उत्कृष्ट डिफेन्डर र मनकामनाका सुमन लामा उत्कृष्ट प्रशिक्षक बने । सांग्रिलाले अनुशासित टिमको उपाधि हात पाऱ्यो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे, आयोजक क्लबका अध्यक्ष फुर्साङ लामा तामाङ, मुक्तिनाथ विकास बैंक जोरपाटी शाखाकी प्रबन्धक निरु लामालगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा विभिन्न १२ विद्यालयका १५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।