नेप्सेमा ८६ अंकको पहिरो गएपछि नकारात्मक सर्किट

नेप्सेमा ८६ अंकको पहिरो गएपछि नकारात्मक सर्किट


धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्जले सर्किट लगाएको छ ।

सेयरबजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि मंगलबार खुलेको बजारमा कारोबारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो । स्टकले कारोबार आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको छ । नेप्सेका अनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । आज १ बजेर १३ मिनेटमा नेप्सेले सर्किट लगाएको हो ।

पहिलोपटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो । त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । पुन १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ ।

नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १७.३५ ले घटेर २९०.३६ मा पुगेको छ । सर्किट लाग्नुअघि कुल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता सेयर रु. एक अर्ब सात करोड ६६ लाख ९६ हजार तीन सयबराबरको कारोबार भएको थियो ।

नकारात्मक सर्किट लागेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै रु. आठ करोड ५८ लाख ९९ हजार ४१३ बराबरको कारोबार भएको छ । यस्तै, एनआइसी एसिया बैंकको रु. आठ करोड २० लाख ५५ हजार ११४ र एनएमबी बैंकको रु. ६ करोड ७९ लाख ६४ हजार ४८९ बराबरको कारोबार भएको छ ।
रासस