कोभिड–१९ : सङ्क्रमण ११० मुलुकमा, एक लाख ११ हजार ६४४ व्यक्ति सङ्क्रमित

कोभिड–१९ : सङ्क्रमण ११० मुलुकमा, एक लाख ११ हजार ६४४ व्यक्ति सङ्क्रमित


विश्वव्यापी स्वास्थ्य चुनौतीको चिन्ता बनेको कोभिड–१९ को सङ्क्रमण संसारका ११० देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले सोमबार (२६ फागुन) जनाएको छ ।

यो रोगका कारण सोमबारसम्म तीन हजार ८८४ जनाको मृत्यु भइसकेको छ भने एक लाख ११ हजार ६४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ६२ हजार ६८३ जना निको भएर घर फर्किएका छन् ।

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ४५ हजार ७७ रहेको छ तीमध्ये पनि ३९ हजार ९७ अर्थात् ८७ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको छ भने पाँच हजार ९८० जना गम्भीर अवस्थामा रहेका छन् ।

विश्वका विभिन्न तथ्याङ्कबारे जानकारी राख्ने वेभसाइट वल्डोमिटरका अनुसार कोरोना भाइरसको सङ्क्रमणपछि उपचार गराएर घर फर्किनेको सङ्ख्या ९४ प्रतिशत रहेको छ ।

भारतमा सङ्क्रमित सङ्ख्या ४३ पुग्यो, इरानमा थप ४३ जनाको मृत्यु

घातक कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या भारतमा ४३ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार देशभरी सोमबारसम्म ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको एएनआईले जनाएको छ ।

उनीहरुमध्ये केरलाका तीन जनालाई पूर्ण उपचारपछि अस्पतालबाट फिर्ता गरिएको पनि सरकारी अधिकारीहरुले बताएका छन् ।

त्यसैगरी इरानमा सोमबार थप ४३ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । योसँगै इरानमा कोरोना भाइरसका करण मृत्यु हुनेको सङ्ख्या २३७ पुगेको अधिकारीले बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानौश जहानपरले देशभरी थप ५९५ जना सङ्क्रमित भेटिएको पनि जानकारी दिनुभयो । योसँगै कूल सङ्क्रमतिको सङ्ख्या सात हजार १६१ पुगेको उहाँले बताउनुभयो ।

उता जर्मनीमा भने सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । रोबर्ट कोच इन्स्टिच्यूटले सोमबारसम्ममा एक हजार ११२ जना सङ्क्रमित भएको जनाएको छ । यसैबीच माल्दिभ्समा कोरोनाका कारण चुनावी कार्यक्रम स्थगित गरिएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३१९ पुगेको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

आसन्न स्थानीय निकाय र महिला विकास समितिको निर्वाचनका लागि भइरहेको कार्यक्रमहरु स्थगित गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार माल्दिभ्समा अहिलेसम्म दुई जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

जापानमा भने मृत्यु हुनेहरूको सङ्ख्या सोमबारसम्म १६ पुगेको छ । सङ्क्रमितको सङ्ख्या ५०५ पुगेको छ । स्थानीय समयअनुसार सोमबार बेलुका ८ः३० बजेसम्ममा थप १० जना बिरामी भेटिएका छन् । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले टोकियोमा ७६ र ओशाकामा ५५ जना बिरामी रहेको जनाएका छन् ।

त्यसैगरी बेल्जियममा सङ्क्रमितको सङ्ख्या २३९ पुगेको छ भने हङ्कङमा ११५, प्लेस्टाइनमा २५, मलेसियामा ११७, कुवेतमा ६५ र इन्डोननेसियामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । कोरियामा रहेका आठ जना अमेरिकी सैनिकलाई पनि कोरोनाको सङ्क्रमण भएको छ ।