कालोबजारी भए ११३७ मा फोन गर्न आपूर्तीमन्त्रीको आग्रह

कालोबजारी भए ११३७ मा फोन गर्न आपूर्तीमन्त्रीको आग्रह


उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आपूर्ति तथा अन्य कुनै समस्या आए ११३७ नम्बरमा फोन गर्न आग्रह गरेका छन् । पैसा नलाग्ने सो नम्बरमा फोन गरेर आफ्ना समस्या तथा गुनासो राख्न सकिनेछ ।

कालोबजारी भए, परल मूल्यभन्दा बढी मूल्यमा कुनै सामान बिक्री वितरण गरेको पाइए सो नम्बरमा गुनासो गर्न सकिने मन्त्री भट्टको भनाइ छ । केही दिनभित्रैमा साल्ट ट्रेडिङलगायतका स्थानमा पनि हटलाइन सेवाको शुरुआत गरिने जानकारी उनले दिएका छन् ।

बजारमा केही व्यापारीले अनावश्यक रूपमा नकारात्मक हौवा फैलाएको भन्दै उनले कुनै पनि प्रकारका उपभोग्य सामग्रीको बजारमा अभाव नभएको मन्त्री भट्टले दाबी गरे ।

हाल साल्ट ट्रेडिङसँग आगामी दशैँसम्म पुग्ने गरी नुन स्टकमा छ । तर नुन सकिए जसरी प्रचार भयो, यसलाई चिर्न जरुरी भयो भन्छन् मन्त्री भट्ट । उनका अनुसार साविकको खाद्य संस्थानसँग कूल २० हजार मेट्रिक टन धान स्टक छ । उक्त परिमाणको धानबाट मात्रै १४ हजार मेट्रिक टन चामल उत्पादन हुन सक्छ । सरकारी मिलले मात्रै दैनिक एक हजार क्विन्टल बढी चामल उत्पादन गर्ने क्षमता राख्दछ ।

बजार अनुगमनलाई अब एकीकृत योजना र कार्यदलमार्फत अगाडि बढाउने सरकारको योजना रहेको मन्त्री भट्टको भनाई छ । मुलुकका ३७ वटै नाकाबाट प्रवेश गर्ने यात्रुको स्वास्थ्य परीक्षण क्वारेन्टाइन निर्माण तथा तथ्याङ्क सङ्कलन गर्नेसम्मको काम भइरहेको उनले जानकारी दिए ।