खस्कँदो प्रर्दशनबारे प्रदेश क्रिकेट संघले कप्तान र प्रशिक्षकसँग लिखित जानकारी लिने

खस्कँदो प्रर्दशनबारे प्रदेश क्रिकेट संघले कप्तान र प्रशिक्षकसँग लिखित जानकारी लिने


■ हेमशंकर सिंह, राजविराज

प्रदेश क्रिकेट संघ प्रदेश नं. २ को तेश्रो बैठक शनिबार (२४ फागुन) महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ । बैठकले नेपाल क्रिकेट संघले जारी गरेको क्यालेण्डरअनुसार जिल्ला तथा प्रदेशमा गतिविधि सञ्चालन गर्ने र प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालनको जिम्मेवारी सिरहा जिल्ला क्रिकेट संघलाई दिने निर्णय गरेको छ ।

हालै प्रदेश नं. २ का सिनियर टोलीको प्रदर्शनप्रति गम्भीर ध्यानार्कषण गर्दै खस्कँदो प्रदर्शनको बारेमा कप्तान तथा प्रशिक्षकसँग लिखित जानकारी छनौट समितिमार्फत लिने तथा अगामी दिनमा टोलीको प्रदर्शनलाई गम्भीरताका साथ हेरिने समेत निर्णय बैठकले गरेको छ । प्रदेशका खेलाडीहरुको जीवन बीमा गर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रदेश नं २ मा रहेका अम्पाएर तथा स्कोररहरुको भेला बोलाई एउटा समिति निर्माण गर्ने निर्ण गर्दै बैठकले प्रदेश २ का लागि प्रशिक्षक तथा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा गरी ६ जिल्लामा क्रिकेट प्रशिक्षक नरहेकोले नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषदसंग प्रशिक्षक माग गर्ने निर्णय गरेको छ ।

बैठकपश्चात पदाधिकारीहरुले महोत्तरीको बर्दिवासमा महिला क्रिकेट टोलीको प्रशिक्षणको अवलोकन समेत गरेको संघले जनाएको छ ।